सामान्यतया ९० वर्षको उमेरमा अधिकांशलाई हिँडडुल गर्न गाह्रो हुन्छ । तर, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका तारादत्त भट्ट ९० वर्षको उमेरमा पनि शारीरिक रुपमा सक्रिय छन् ।
यो उमेरमा उनले व्यावसायिक कृषि र पशुपालन गरेर वार्षिक २० लाख रूपैयाँसम्म आम्दानी गर्दै आएका छन् । उनले ४० रोपनी जग्गामा तरकारीखेती गरेका छन् । तरकारीबाटै वार्षिक १० लाख रूपैयाँ आम्दानी लिने गरेको उनले बताए ।
विगत ३० वर्षदेखि भट्टले खसीबाख्रा र भैँसीपालन गर्दै आएका छन् । हाल उनको गोठमा ५० वटा खसीबाख्रा छन् । तीन वटा उन्नत जातका भैँसी छन् । घरका भित्ताभरी माहुरीका आधुनिक तथा परम्परागत घार छन् । आँगनको कुनामा खरायोका खोर छन् ।
कृषि पेसामै सक्रिय भएकाले आफू निरोगी भएको उनी बताउँछन् । ‘सानैदेखि हजुरबुबा र बुबासँग खेतीपाती गर्न सिकेँ । जिन्दगीमा जेजे गरे पनि कृषिलाई छाड्न सकिनँ,’ उनी भन्छन्, ‘यही काम गर्दागर्दै मर्न परोस् अरु मलाई केही चाहिएन ।’
खेती र पशुपालनबाटै आर्थिकरुपमा सम्पन्न उनले गाउँघरका छिमेकीलाई संकट पर्दा सरसापटी दिने गर्छन् । उनको जाँगर देख्ने जो कोहीले प्रेरणा लिने गरेको स्थानीय दुर्गा भट्टले बताइन् । उनले व्यावसायिक कृषि तथा पशुपालन सुरु गरेदेखि हालसम्म सरकारी अनुदान लिएका छैनन् ।
तर माहुरीका लागि भने केही अनुदान पाए सहज हुने र हौसला मिल्ने आशामा छन् । भट्टको अनुभवमा पछिल्लो समयमा हावापानीमा देखिएको परिवर्तनले धेरै असर गरेको छ । बजारमा पाइने नयाँ बीउ, मल, विषादीले पनि असर गरेको उनको अनुभव छ ।
पहिले–पहिले पाँच किलोसम्मको काउली उत्पादन हुने उनको बारीमा आजभोलि त्यत्रो काउली फल्दैन । पहिलेको परिमाणमा भैँसीले दिने दूध नै घटेको उनी बताउँछन् । ‘कतै पछिल्लो समयमा आएका यी विकासे घाँसले दूधको उत्पादन घटाएको त होइन ?’ उनले भने ।
देशमै व्यावसायिक कृषि गर्न सके केही हदसम्म रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ । आफ्नै देशमा पसिना बगाउन सके सोहीअनुसार फल प्राप्त गर्न सकिने उनको सुझाव छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । डडेल्धुरा