सूचनाको शक्ति - The Power Of Information

        

दरबन्दी नपाएपछि पठनपाठनमा समस्या

दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित पशुपति मावि हरिपौरीमा कक्षा ११ र १२ सञ्चालन भएको चार वर्षसम्म पनि दरबन्दी नपाएपछि पठनपाठनमा समस्या भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीका अनुसार हाल माविका लागि एक जना राहत र एक जना स्थायी शिक्षकमात्र रहेकाले पठनपाठनमा समस्या छ ।

‘हामीले व्यवस्थापन संकाय चलाएको चार वर्ष भयो, अहिलेसम्म शिक्षक अभाव छ । एक राहत र एक जनामात्र स्थायी हुनुहुन्छ, हामीले निजी स्रोतबाट शिक्षक ल्याएर पढाउनुपर्ने अवस्था छ,’ उनले भने । निजी स्रोतका शिक्षकलाई वार्षिक ११ लाख तलब दिनुपर्ने अवस्था रहेको अध्यक्ष अधिकारीले बताए । निजी शिक्षकलाई आंशिक रूपमा राखिएको छ ।

कक्षा ११ र १२ का विद्यार्थीबाट केही शुल्क लिने गरेको भन्दै त्यहीबाट नै तलब दिने गरिएको उनले बताए । निजी शिक्षकको तलबमा वार्षिक पाँच लाख घाटा भएको उनले गुनासो गरे । अभिभावकको सहयोग र विद्यालयको जग्गा भाडाबाट उठेको रकमबाट उक्त घाटा पूर्ति हुने गरेको छ ।

यस विषयमा पटकपटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराइएको तर सुनुवाइ नभएको उनको दुखेसो छ । गरिब, पिछडिएका वर्ग र द्वन्दपीडित लगायत आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क पढाइने यो विद्यालयबाट एसइई उत्तीर्ण गरी कक्षा ११ मा भर्ना हुने तथा वडा कार्यालयले सिफारिस गरेका विद्यार्थीलाई निःशुल्क गर्ने निर्णय गरेको हो ।

स्रोत : रासस
प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार ०७:१६

लोकप्रिय