सूचनाको शक्ति - The Power Of Information

        

बीपी राजमार्ग पुनर्निर्माणका लागि जाइकाको निर्णय कुर्दै डिभिजन सडक

गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गका विभिन्न सडकखण्डको पुनःनिर्माणका लागि सडक डिभिजन कार्यालय भक्तपुर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को निर्णयको पर्खाइमा बसेको छ । कार्यालयले केही दिनमै जाइकाको निर्णय आउने भएकाले निर्णय आएलगत्तै पुनःनिर्माणको काम थालिने जनाएको छ ।

बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त अवस्थामा रहेको छ । बाढीपहिरोले अवरुद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइए पनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गत असोज ३० गतेदेखि नै साँझ ६ देखि १० घण्टा (रातको समय) यातायात सञ्चालमामा रोक लगाएको छ ।

केन्द्रीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुने गरी सञ्चालनमा ल्याइएको थियो । उक्त राजमार्ग पुनःनिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुता युताकासँग शिष्टाचार भेट गरी सहयोगबारे छलफल गरेका थिए ।

‘जाइकाको ‘रेस्पोन्स’को पर्खाइमा छौँ, एक–दुई दिनमा निर्णय आएपछि निर्माण थालिनेछ,’ कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले भने, ‘पुनःनिर्माणका ढिला गर्ने पक्षमा छैनौँ, तत्कालै निर्माण थाल्ने गरी सरोकारवाला निकायसँग छलफल पनि सुरु भइसकेको छ ।’ योगेशका अनुसार प्रम ओलीसँग राजमार्ग पुनःनिर्माणबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक–दुई दिनमै थप छलफल गर्ने योजना तय गरिएको छ ।

बाढीपहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको उक्त राजमार्ग सडक विभाग, डिभिजन कार्यालय, राजमार्ग अन्तर्गतका स्थानीय तह, नेपाली सेनालगायत सुरक्षाकर्मी तथा स्थानीयको निरन्तरको पहलमा असोज २५ गतेबाट सञ्चालन गर्न सफल भइएको हो । पछिल्लो पटक राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ मंगलटारस्थित बोक्सीकुनामा ‘डाइभर्सन’ बनाएसँगै उक्त स्थानमा हाल एकतर्फी सञ्चालनमा ल्याइएको योगेशले बताए ।

उनका अनुसार बाढीपहिरोले राजमार्गको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ र रोशी–७ को सीमास्थल चौकीडाँडामा बगाएको करिब २०० मिटर सडक पनि अस्थायी रुपमा एकतर्फी खुलाइएको थियो । बाढीपहिरोले चौकीडाँडादेखि सिन्धुलीको सिमाथ्ल नेपालथोकसम्म क्षति पु¥याएपछि उक्त राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । ‘राजमार्गको सडक, पुल र कल्भर्ट बगेको स्थानमा हाललाई सडक सञ्चालनार्थ अस्थायी संरचना निर्माण गरिएको हो,’ योगेशले भने । उनका अनुसार धेरैजसो स्थानमा खोला फर्काएर तथा खोलाको बहावलाई सोझ्याएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै अस्थायी सडक बनाइएको छ ।

कार्यालयका अनुसार रोशी खोलाको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म २१ किलोमिटर सडकखण्डको १४ स्थानमा करिब आठ किलोमिटर सडक क्षतिग्रस्त गराएको थियो । राजमार्गको कुल १६० किमीमध्ये तेस्रो खण्ड अन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौँथो खण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको कार्यालयले जनाएको छ । जाइकाद्वारा निर्मित उक्त राजमार्ग सडक निर्माण गर्दा प्रति किमी ३५ करोड रूपैयाँ लागत थियो । उक्त रकम हालको हिसाबमा ५० करोड रूपैयाँभन्दा माथि पर्नेछ ।

क्षति पुगेको करिब दुई किमी सडक र अन्य स्थानमा भएको क्षतिको मूल्यांकन गर्दा दुई अर्ब रूपैयाँभन्दा माथिको क्षति गराएको प्रारम्भिक अनुमान गरिएको योगेशले बताए । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३–०५४ बाट बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी विसं २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तत्कालीन अवस्थामा जापान सरकारको २६ बिलियन जापानी येन र नेपाल सरकारको एक दशमलव एक बिलियन (जापानी येन) लागतका उक्त राजमार्ग निर्माण भएको हो ।

स्रोत : रासस
प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार १६:११