सूचनाको शक्ति - The Power Of Information

        

‘हनी ट्रयाप’ प्रकरण

‘हनी ट्रयाप’का योजनाकारसँग एसपी थापाको आधा घण्टा भेटघाट

‘हनी ट्रयाप’ प्रकरणमा नाम जोडिएपछि एसपी कमल थापालाई हेडक्वार्टर तानिएको छ ।

युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको आरोपमा अहिले चार जना ललितपुरमा प्रहरी हिरासतमा छन् । ९ असोजमा पक्राउ परेका प्रहरी प्रभाग भैंसेपाटीका सहायक हवल्दार महेन्द्र हमाल, सुनसरी इटहरीकी सुष्मा विक, ताज स्लाम र भीमादेवी थापामाथि आपराधिक लाभ र संगठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सहायक हवल्दार हमालमाथि युवतीको प्रयोग गरेर (हनी ट्र्याप) व्यवसायीबाट असुल गरिएको रकम दुई पटक आफैंले बैंकमा जम्मा गर्न लगाएको आरोप छ । हिरासतमै रहेकी सुष्मा विक हनी ट्र्यापमा व्यवसायीलाई फसाउन प्रयोग भएकी युवती र ताज स्लाम हनी ट्रयापको मुख्य योजनाकार रहेको प्रहरीको दाबी छ ।

उनकै योजनामा बलात्कारमा फसाइदिने भन्दै एक व्यवसायीबाट ३० लाख रुपैयाँ असुलिएको आरोप छ । यसरी असुल गरिएको रकम भीमादेवीको खातामा जम्मा गरिएको प्रहरीको भनाइ छ । यो घटनामा पक्राउ पुर्जी जारी भएका प्रहरी प्रभाग भैंसेपाटीकी तत्कालीन इन्सपेक्टर बिनुकुमारी शाही र इटहरीका दर्शन पोखरेल भने फरार छन् ।

हिरासतमा रहेकी सुष्मा सुनसरीकै एक होटलमा वेटरको रुपमा काम गर्दै आएकी थिइन् । त्यसै क्रममा होटलमा आउने जाने एक व्यवसायीसँग उनको चिनजान भएको थियो । त्यसपछि उनीहरु नजिकिँँदै गएका थिए । हिरासतमा रहेका ताज र फरार दर्शनले यस्तै प्रकृतिका घटनामा युवतीलाई बलात्कारको उजुरी दिन लगाएर मोटो रकम असुल्दै आएको पाइएको प्रहरी अधिकारीहरु बताउँछन् ।

ती व्यवसायीसँगको सम्बन्धबारे थाहा पाएपछि उनीहरुले सुष्मालाई प्रयोग गरेर रकम असुल गरेको प्रहरीको निष्कर्ष छ । त्यसका लागि उनीहरुले आफू अनकुल ठाउँको खोजी गरेका थिए । यसअघि पनि सुनसरीको एसपी भएका कमल थापासँग ताजको राम्रो सम्बन्ध रहेकाले उनी थापामार्फत नै भैंसेपाटी पुगेको समितिको निष्कर्ष छ ।

हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा रहेका एसपी थापा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुख भएका बेला इन्सपेक्टर बिनुकुमारी शाही पनि कञ्चनपुरमै कार्यरत थिइन् । सोही चिनजानमा एसपी थापाको सिफारिसमा उनीहरु भैंसेपाटी पुगेको प्रहरीको भनाइ छ । पक्राउ परेका चारै जनाले पनि यसअघि इन्सपेक्टर शाहीसँग चिनजान नभएको बताएका छन् ।

सुनसरीबाट ताज र दर्शन जहाजमा र सुष्मा र भीमा गाडी चढेर काठमाडौं आएर ७ असोजमा शान्ति सुरक्षामा असर पारेको भन्दै एक व्यवसायीविरुद्ध प्रहरी प्रभाग भैंसेपाटीमा निवेदन दिएका थिए । शान्ति सुरक्षाको निवेदन जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरीकोमा आउनुपर्नेमा सुरुमै प्रहरीमा दर्ता गराइएकाले सुरुबाटै घटना शंकास्पद बनेको अनुसन्धान अधिकारीहरु बताउँछन् ।

शान्ति सुरक्षाको निवेदन भनिए पनि आरोपित भनिएका व्यापारीसँग शान्ति सुरक्षाका विषयमा नभई बलात्कारको विषयमा छलफल गराइएको प्रहरी स्रोतको दाबी छ । बलात्कारकै कसुर भए पनि भैंसपाटीबाट मुद्दा चल्ने कार्यालय नभएकाले जिल्ला प्रहरी परिसर ललितपुर पठाउनुपर्ने थियो । घटना सुनसरीको भन्ने थाहा हुँदाहुँदै निवेदन लिएर कार्यक्षेत्र बेगर गएको, माथिल्लो निकायलाई कुनै रिपोर्ट नगरेको आरोप भैंसेपाटीकी तत्कालीन इन्सपेक्टर शाहीमाथि सुरुवाती क्रममा लागेको थियो ।

तर अनुसन्धानको क्रममा रकम जम्मा गर्न लगाउनेदेखि मोबाइल समेत गायब बनाउने भूमिकामा उनी संलग्न रहेको देखिएपछि अहिले पक्राउ पुर्जी जारी भएको छ । घटनाबारे छानबिन गर्न परिसर ललितपुरले डीएसपी नरहरि अधिकारीको नेतृत्वमा समिति गठन गरेको थियो । उक्त समितिले हनी ट्रयाप प्रकरणका मुख्य योजनाकार ताज स्लामको मोबाइल र १० लाख रुपैयाँको चेक इन्सपेक्टर शाहीले नै गायब पारेको निष्कर्ष निकालेको स्रोतले बतायो ।

व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रहरी कार्यालयभित्रै इन्सपेक्टर शाहीकै रोहबरमा ६० लाख रुपैयाँ माग भएको थियो । पछि ३० लाख रुपैयाँ दिने सहमति भएपछि कुरा मिलेको थियो । जसअनुसार १३ लाख र ७ लाख रुपैयाँ गरेर दुई पटकमा भीमाकुमारीको खातामा २० लाख रुपैयाँ रकम जम्मा भएको थियो । उक्त रकम जम्मा गर्ने बेलामा इन्सपेक्टर शाहीकै गाडी चालक हमाल समेत एभरेष्ट बैंक पुगेको एक अनुसन्धान अधिकृतले बताएका छन् ।

ती व्यापारीले १० लाखको भने चेक दिएका थिए । पीडित व्यापारी जिल्ला प्रहरी परिसर ललितपुरमा गएर घटनाबारे बताएपछि अनुसन्धान गर्दा इन्सपेक्टर शाहीको भूमिका समेत गम्भीर देखिएको हो । घटनाबारे बुझ्न जिल्ला प्रहरी परिसरले इन्सपेक्टर शाहीलाई बोलाएको थियो । त्यतिबेला भैंसेपाटीमै रहेका ताज स्लाम र सुष्मा विकलाई लिएर शाही साँझ ६ बजे जिल्ला प्रहरी परिसर ललितपुर पुगेकी थिइन् ।

ताजको मोबाइलमा भएका प्रमाणबाट थप रहस्य खुल्ने भएपछि उनै शाहीले उनको मोबाइल र भीमाको नाममा रहेको १० लाखको चेक गायब बनाएको समितिले औंल्याएको छ । ताजको मोबाइल इन्सपेक्टर शाहीले लिएर सुष्माको मोबाइलमा भएको फिंगर प्रिन्टसमेत परिवर्तन गरेर ताजको फिंगर प्रिन्ट सेट गरिएको खुलेको छ । ताजले समेत सुरुमा उक्त मोबाइल आफ्नो भएको बताएका थिए । तर अनुसन्धानका क्रममा उक्त मोबाइल ताजको नभई सुष्माको भएको खुलेको छ ।

इन्सपेक्टर शाहीले गायब बनाएको १० लाखको चेक र ताजको मोबाइल अहिलेसम्म फेला परेको छैन । छानबिन समितिले फौजदारी कसुरमै कारबाही हुनुपर्ने भन्दै प्रतिवेदन बुझाएपछि ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत लिइएको थियो । यद्यपि उनी अहिलेसम्म फरार छन् । ललितपुरका एसएसपी शेखर खनाल इन्सपेक्टर शाहीको खोजी भइरहेको बताउँछन् । ‘फेला पर्नासाथ नियन्त्रणमा लिएर कारबाही अघि बढाउँछौं,’ उनले भने ।

समितिसमक्ष बयान दिन इन्कार

इन्सपेक्टर शाहीलाई जिल्ला प्रहरी परिसरले १० असोजमा जिम्मेवारीबाट हटाइएको थियो । त्यसपछि समितिले इन्सपेक्टर शाहीको मोबाइल समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । डीएसपी अधिकारी नेतृत्वको समितिले उनलाई बोलाए पनि बयान दिन इन्कार गरेकी थिइन् । ‘बयानका लागि उपस्थित भइन् । तर यो समितिमाथि मलाई विश्वास छैन भन्दै इन्सपेक्टर शाहीले बयान दिइनन्,’ समिति स्रोतले भन्यो । त्यसपछि समितिले शाहीले बयान दिन इन्कार गरेको भन्दै टिप्पणी उठाएर प्रतिवेदन बुझाएको थियो ।

‘योजनाकारसँग एसपीको आधा घण्टा भेटघाट’

डीएसपी अधिकारी नेतृत्वको समितिले एसपी कमल थापामाथि अनुसन्धान गर्न सुझाव दिएको छ । ७ असोजमा हनी ट्रयाप प्रकरणका मुख्य योजनाकार ताज स्लाम र एसपी थापाबीच एक पटक फोनमा कुराकानी भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख दिन सहमत गराएको र २० लाख रुपैयाँ बुझेको दिन एसपी थापा र ताज स्लामबीच भेटघाट भएको सीसीटीभी फुटेज समेत समितिले फेला पारेको छ ।

उनीहरुबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको एक रेष्टुरेन्ष्टमा ७ असोजको साँझ साढे ६ बजे भेट भएको र करिब आधा घण्टा भेटघाट भएको फुटेज समेत समितिले प्राप्त गरेको थियो । ‘उनीहरुबीच के–के कुराकानी भए भन्ने विषय थाहा भएन । तर भैंसेपाटीमा उजुरी हाल्नुअघि फोन सम्पर्क हुनु र काम भइसकेपछि पनि रेष्टुरेन्टमा आधा घण्टासम्म कुराकानी हुन शंकास्पद देखिन्छ,’ समिति स्रोतले भन्यो । ताज स्लाम र एसपी थापाबीच यसअघि पनि सम्पर्क हुने गरेको र एसपीमार्फत नै सुनसरीको यो घटना भैंसेपाटीमा उजुरी दिएर रकम असुल्ने योजनाअनुसार काम भएको समितिको निष्कर्ष छ ।

हेडक्वार्टर तानिए एसपी थापा

यो प्रकरणमा नाम जोडिएपछि प्रहरी प्रधान कार्यालयले एसपी थापालाई फिर्ता बोलाएको छ । प्रहरी स्रोतका अनुुसार उनलाई दशैं बिदालगत्तै हेडक्वार्टर तानिएको हो । अहिले प्रहरी प्रधान कार्यालयकै उजुरी तथा छानबिन शाखाले एसपी थापामाथि छानबिन गरिरहेको छ । उजुरी छानबिन शाखाको प्रमुखमा अहिले एसएसपी गणेश चन्द छन् भने एसपी प्रकाश मल्ल छन् । ‘अहिले एसपी थापामाथि छानबिन भइरहेको छ । के कारबाही हुन्छ छानबिनपछि मात्रै टुंगो लाग्ला,’ उक्त शाखाका एक अधिकृतले भने ।

स्रोत : अनलाइन खबर
प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतवार १४:४९

लोकप्रिय