सूचनाको शक्ति - The Power Of Information

        

दसैँमा दुई लाख ३७ हजारले गरे हवाई यात्रा

बडादसैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् । विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार दसैँको फूलपातीदेखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात् असोज २४ गतेदेखि २८ गतेसम्म आन्तरिकतर्फ एक लाख ६० हजार ९१० र अन्तर्राष्ट्रियतर्फ ७८ हजार ५१२ जनाले हवाई यात्रा गरेका हुन् ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दसैँको सात दिन अर्थात् असोज २४ गते फुलपातीदेखि पूर्णिमाको अघिल्लो दिन (असोज ३० गते) सम्म आन्तरिकतर्फ दुई हजार १५९ र अन्तर्राष्ट्रियतर्फ ७८१ गरी कुल दुई हजार ९४० उडान भएका छन् । यो दुईतर्फी उडानको सङ्ख्या हो । दसैँको दुुई दिन अर्थात् असोज २४ गते फूलपाती र असोज २६ गते (महाअष्टमी र महानवमी) मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी ६३ हजार २४२ जनाले हवाई यात्रा गरेका थिए ।

असोज १३ गतेदेखि असोज २८ गतेसम्म कुल चार लाख २७ हजार ९४६ जनाले हवाई यात्रा गरेको विमानस्थलले जनाएको छ । यसमा आन्तरिकतर्फ दुई लाख २३ हजार ८४७ र अन्तर्राष्ट्रियतर्फ दुई लाख ४० हजार ९९ यात्रुले आवत जावत गरेका छन् । यसैगरी असोज १३ गतेदेखि असोज २८ गतेसम्म आन्तरिकतर्फ पाँच हजार १०८ र अन्तर्राष्ट्रियतर्फ एक हजार ७४४ गरी कुल ६ हजार ८५२ उडान सञ्चालन भएको विमानस्थलको तथ्याङ्कमा उल्लेख छ ।

यसअघि यही असोज १४ गते एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी ५५९ उडान भएका थिए । ती उडानमार्फत सोही दिन ३५ हजार ७०४ जनाले हवाई यात्रा गरेका थिए । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको चाप बढेको थियो । अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवनमा यात्रुको खचाखच भीडभाड थियो ।

अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ । यही असोज १३, १४, १५ र १६ गते हवाई उडान चाप बढेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० विमान कम्पनीले उडान गर्दै आएका छन् भने आन्तरिकतर्फ सात विमान कम्पनीले सेवा दिइरहेका छन् । दसैँको समयमा आन्तरिकमा सुगम विमानस्थलमा ठूला एअरलाइन्सका विमानले उडान भरे ।

निजी क्षेत्रको बुद्ध एअर, यती एअरलाइन्स तथा श्री एअरलाइन्सले बढी उडान भरेका थिए । यि कम्पनीसँग ठूला र मझौला विमान छन् । बुद्ध र यतीसँग एटीआर ७० विमान र श्री एअरलाइन्स ८० सिट क्षमताका ‘ड्यास एट’ विमान छन् । समिट एअर, तारा एअर र सीता एअरले लुक्ला लगायत दुर्गम गन्तव्यमा उडान भर्ने गरेका छन । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा मात्र दुई विमानले दुर्गम क्षेत्रमा उडान भर्दै आएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार ०८:३१

लोकप्रिय