मौसम अनुकूल भएसँगै काठमाडौँ र रामेछापको मन्थली विमानस्थलमा रोकिएका ६९० पर्यटक लुक्ला पुगेका छन् । मौसम प्रतिकूलताका कारण दुई दिनदेखि पर्यटक मन्थली र काठमाडौँमा रोकिएका थिए । नेपाल नागरिक उड्डययन प्राधिकरण लुक्लाका ‘एटिसी अफिसर’ विवश दाहालका अनुसार बुधबार मन्थलीमा रोकिएका ६०० र काठमाडौँमा रोकिएका ९० पर्यटक लुक्ला पुगेका हुन् ।
हेलिकप्टरमार्फत ७० उडान गर्दा ३५० र २२ उडान जहाजमार्फत ३४० पर्यटक लुक्ला ओर्लिएका उनले बताए । नेपाल नागरिक उड्डययन प्राधिकरणले खुम्बु क्षेत्र आएका विदेशी पर्यटकलाई रामेछापको मन्थली विमानस्थलबाट जहाजमार्फत लुक्ला उडानको व्यवस्था गरेको छ । गत आइतबार ९० उडानमार्फत आठ सय पर्यटक लुक्ला आएको प्राधिकरणको तथ्याङ्क छ ।
खुम्बुक्षेत्र भ्रमणमा आउने पर्यटकले लुक्लाबाटै पदयात्रा सुरु गर्छन् । लुक्लासम्म सडक नपुगेकाले सर्वसाधारण र पर्यटकका लागि हवाइसेवा प्रमुख माध्यम हो । लुक्ला विमानस्थल सन् १९७१ देखि सञ्चालनमा आएको हो । यो विमानस्थल समुन्द्र सतहदेखि दुई हजार ८०० मिटरको उचाइमा छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार यसको लम्बाइ ५२७ मिटर र चौडाइ २० मिटर छ, जुन अन्य विमानस्थलभन्दा छोटो हो । छोटो धावनमार्ग भएकाले त्यहाँ ‘ओभरसुट’ सम्भव हुँदैन ।
