कर्णालीको मुगु र कालिकोट जिल्लाका केही ठाउँमा दसैंमा मर्च्या पाठो भनिने खुर्सानी दलेको खसी बाजा बजाउने पेसामा रहेका स्थानीय बासिन्दालाई दिइन्छ । त्यससँग जोडिएका पक्षहरू अनौठो लाग्ने खालका छन् ।
मुगुको सोरु गाउँपालिकाको जवलधार, जरेपानी क्षेत्रमा दसैंको टीकाकै दिन र कालिकोटको शुभकालिका क्षेत्रमा टीकाको भोलीपल्ट बाजा बजाउनेहरूलाई मर्च्या पाठो दिने चलन वर्षौँदेखि चलिरहेको छ । स्थानीय बासिन्दाहरू एकै ठाउँमा भेला भएर मर्च्या पाठो हस्तान्तरण गरिने त्यहाँका बासिन्दाहरू बताउँछन् ।
करिब ४–५ किलो खुर्सानी पिँधेर बनाइएको लेदो खसीको शरीरमा दलिन्छ । मुगु सोरुका जुहारीलाल शाहीका अनुसार त्यो खसी पाउनेहरू मिलेर त्यसलाई मार्छन् । तर कुनै हतियार प्रयोग गर्न पाइँदैन । उनीहरूले टोकेरै उक्त खसी मार्छन् । उनका अनुसार खसी मार्ने प्रतिस्पर्धा हुँदा सयौँ मानिसहरू हेर्न उपस्थित हुन्छन् ।
करिब १०–१२ जना बाजा बजाउने सहभागी हुने यो अनौठो प्रतिस्पर्धा करिब एक–डेढ घण्टा जति चल्छ । खुर्सानी आँखामा परे पनि, त्यसले मुखमा पोले पनि प्रतिस्पर्धामा सहभागी सबैको ध्यान खसीमै हुने गरेको वर्षौँदेखि बाजा बजाउँदै आएका मुगुका रति दमाईले सुनाए ।
उनले भने, ‘बाजा बजाइरहेका बेला स्थानीय मानिसहरूले हाम्रो समूहको बीचमा एक्कासी खुर्सानी लेपेको खसी फाल्छन् । अनि हामीबीच प्रतिस्पर्धा चल्छ ।’ खुर्सानीको असरलाई कम गर्न बाजा बजाउनेका श्रीमतीहरूले उनीहरूलाई तेल घसिदिने चलन छ । उति वेला खुर्सानीले पोलेको खासै अनुभूति नभए पनि पछि भने निकै पोल्ने गरेको अनुभव उनीहरू सुनाउँछन् ।
पहिले पहिले गाउँका मुखियाले मात्र हरेक वर्ष मर्च्या पाठो दिने गर्थे । तर मुखिया हटेपछि जसले पनि मर्च्या पाठो दिने चलन सुरु भएको छ । एक वर्षमा एउटा गाउँमा एक घरले मात्रै मर्च्या पाठो दिन्छन् । एक भन्दा बढीले चाहेर पनि दिन पाउँदैनन् । त्यसको लागि अर्को वर्ष पालो पर्खिन्छन् ।
मर्च्या पाठो दिँदा धेरै खर्च लाग्ने भएकोले पनि धेरैजसोले दिने आँट पनि गर्दैनन् । पुर्खाले चलाएको चलनलाई आफूहरूले परम्पराको रूपमा निरन्तरता दिएको बताउने मुगुका जुहारीलाल शाही भन्छन्, ‘मर्च्या पाठो दिँदा कम्तीमा एक डेढ लाख रुपैयाँ खर्च लाग्छ । पैसा धेरै खर्च हुने भएकोले जो कोहीले मर्च्या पाठो दिने आँट गर्दैनन् ।’
खर्च बढ्दै गए पनि मर्च्या पाठोको प्रचलन पहिलेभन्दा अहिले चर्चित हुन थालेको स्थानीय बासिन्दाहरूको अनुभव छ । मुगुको सोरु क्षेत्रका बासिन्दाहरूले मर्च्या पाठो कसले दिने भनेर अष्टमीका दिनमै सल्लाह गरेर टुङ्ग्याउँछन् । अर्को दिनदेखि मर्च्या पाठो दिने घरले खसीलगायत अरू आवश्यक सरसामान जुटाउँछन् । दसैंको टिका जमरा लगाएर गाउँका बासिन्दाहरू दिउँसो २–३ बजेतिर मर्च्या पाठो दिनेको घर पुगेर रमाइलो सुरु गर्छन् ।
कालिकोटमा भने बासी टीका भनिने दसैंको टीकाको भोलीपल्ट मर्च्या पाठो दिने गरिन्छ । पूर्व वडाध्यक्ष समेत रहेका भर्ताका धनराज शाही भने, ‘टीकाको दिन रगत देखिनु हुँदैन भन्ने मान्यता अनुसार आफ्नो गाउँमा दसैंको भोलीपल्ट मात्र मर्च्या पाठो दिएर चाड मनाउने चलन छ ।’ खुर्सानीको लेदोमा चोपेर दिएको खसी टोकेर मार्दा धेरै कराउन दिइँदैन ।
कालिकोटको भर्तामा कालिकाको मन्दिरमा भेला भएर गाउँका बासिन्दाहरूले मर्च्या पाठोको परम्परालाई निरन्तरता दिने गरेका छन् । मर्च्या पाठो दिने व्यक्तिको घरमा बाजा बजाएर हर्ष बढाइँ गरिन्छ । मर्च्या पाठो दिने व्यक्तिले हेर्न आएकाहरूलाई सगुनको रूपमा हलुवा, खीर, पुरी खुवाउने र टीका लगाएर बिदा गर्ने चलन छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
प्रकाश पन्त । सुर्खेत