दसैँका बेला सजिलोका निम्ति एकैपटक मासु ल्याएर फ्रिजमा राख्ने र त्यसैलाई झिकेर पकाउने गरिन्छ । अथवा, भुटेर, तारेर, पक्कु–कबाब बनाएर फ्रिजमा राखेर खाने चलन छ । तर, फ्रिजमा चिसो बनाएर राखेको खानेकुरालाई बारम्बार बाहिर निकाल्दै, राख्दै गर्नु ठिक नहुने विज्ञ बताउँछन् ।
यसो गर्दा एक त मासुको पोषकतत्त्व घट्ने हुन्छ भने अर्कोतिर स्वास्थ्यमा समस्या निम्तन सक्ने नर्भिक इन्टरनेसनल अस्पतालका डाइटिसियन डा.प्रनिति सिंह बताउँछिन् । उनका अनुसार, मासुमा हुने भिटामिन बी १२, जिंक, फोलिक एसिड, आइरन लगायत पोषकतत्त्व सन्तुलित रूपमा खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ ।
तर, रातो मासुले मिर्गाैला, बाथ, उच्च रक्तचाप, युरिक एसिड, उच्च कोलेस्टेरोल भएका बिरामीलाई नराम्रो असर गर्न सक्छ । त्यसैले यस्ता बिरामीले सकेसम्म रातो मासु खानै हुँदैन । खानै परे थोरै मात्रामा कुखुराको मासु खान सकिन्छ । रातो मासु र चिल्लो दुवै रक्तचापका बिरामीका लागि हानिकारक हुन् । स्वस्थ व्यक्तिले पनि मासु खाँदा तरकारी बढी, सलादका रूपमा काँक्रो, गाँजर, मुला खाने गर्नुपर्छ ।
चाडबाडका बेला शारीरिक व्यायामलाई पनि ध्यान दिनुपर्छ । यस्तै, चाडबाडका बेला पेटमा बढी समस्या निम्तन्छ । चिल्लो बढी र अनियन्त्रित खानपानले ग्यास्ट्रिक बढ्ने, अपच, झाडापखाला तथा कब्जियत हुने, कोलेस्टेरोल बढ्ने र कलेजोमा बोसो जम्नेजस्ता समस्या उत्पन्न हुन्छ । चाडबाडका बेला सुगर, कोलेस्टेरोल, रक्तचाप, युरिक एसिडका समस्या लिएर अस्पतालमा पुग्ने बिरामीको संख्या धेरै हुन्छ ।
यसैले अस्पताल पुग्ने अवस्था निम्तनुभन्दा पहिल्यै सचेतता अपनाउनुपर्छ । चाडबाडका बेला मदिरा, बोसोयुक्त मासु र चिल्लो खाना बढी खानाले कलेजोको समस्या पनि निम्तन सक्छ । किनकि, यी सबै खानालाई पचाउने काम कलेजोको हो । एकैपटक धेरै खाँदा कलेजोले जोडतोडका साथ काम गर्नुपर्ने भएकाले बोसो जम्मा हुँदै जान्छ । बोसो रक्तनली र मुटुसम्म जम्मा हुनसक्छ – जसको परिणाम कलेजो ‘फेल’सम्म हुनसक्छ ।
राम्रो प्रोटिनको स्रोत भएकाले लिभर सिरोसिस भएका बिरामीलाई रातो मासु खाने सल्लाह दिइन्छ । तर, कलेजोको रोग कुन चरणमा छ, त्यसमा भर पर्छ कति खाने भनर । यस्तै, सुगरका बिरामीले चिनी र चिनीबाट बनेका परिकार, आलुको अचार, बोसो भएको मासु, मह, केक, हर्लिक्स, आइसक्रिम, तेलमा तारेका खाना खानु हुँदैन । धूमपान र मद्यपान त गर्नै हुँदैन । बरु, थोरै मात्रामा चामल, गहुँ, मकै, फाफर, कोदो, जौ, चिउरा, गेडागुडी, फलफूल खानुपर्छ ।
मासु तथा अन्डा नियन्त्रित रूपमा खान सकिन्छ । सुगरका बिरामीले हरिया सागसब्जी, सलाद, काँक्रो, मूला, कुरिलो, पालुंगो, कागतीजस्ता खानेकुरामा जोड दिनुपर्छ । मुटुका बिरामीले पनि रातो मासु खानु हुन्न । मासु पकाउँदा एक त चिल्लो बढी प्रयोग गरिन्छ भने अर्कोतिर छाला तथा बोसोले कोलेस्टेरोल बढ्ने भएकाले मुटुको समस्या पनि बढ्ने हुन्छ । मासुका साथ भात तथा चिउरा बढी खाने, मदिरा सेवन गर्दा मधुमेह, रक्तचाप तथा मुटुका बिरामीलाई असर गर्छ ।
त्यसैले मुटुका बिरामीले रातो मासु र धूमपान तथा मदिरा सेवन गर्नु हुँदैन । बरु, केही टुक्रा सेतो मासु र प्रशस्त मात्रामा हरियो सागसब्जी तथा फलफूल खानुपर्छ । जथाभावी खानपान, चिल्लो खाना, मद्यपान र धूमपानले मुटुको चाल अनियमित गर्ने भएकाले यस्ता चिजमा नियन्त्रण गर्नुपर्छ । चिकित्सकका अनुसार, मिर्गौलाका बिरामीले पनि सकेसम्म रातो मासु सेवन गर्नु हुन्न । डायलासिसमा नभएका बिरामीलाई तौलको हिसाबले कति प्रोटिन दिने भनेर तय गरिन्छ । कुन–कुन स्रोतबाट प्रोटिन दिने भनेर हिसाब गरिन्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं