सूचनाको शक्ति - The Power Of Information

        

सीमा नाकामा लर्को

मुगलानबाट ‘दसैं’ लिएर फर्किए नेपाली, नेपालगन्ज नाकामा घुइँचो

असोज १ देखि २२ गतेसम्म २२ दिनको अवधिमा दुई लाख ३५ हजार ५५६ नेपाली जमुनाहा नाका हुँदै दसैँ मनाउन घर फर्किएका छन् ।

भारतको सिमला गएका सल्यान काल्चेका दिलबहादुर खत्री विहान ७ बजे नेपालगन्ज नाका जमुनहा आइपुगे । सीमा नाका रुपैडियामा बसेका एसएसवी र भारतीय प्रहरीको गाली छिचोल्दै नेपाली भूमि जमुनहा टेकेपछि मात्र उनले राहतको सास फेरे । ‘कमाएको पैसा घर आगनमै पुगेको बेला लुटिने आशंकामा डराईडराई आइपुगेँ,’ खत्रीले भने ।

दसैँ मनाउन भारतबाट फर्किने नेपालीको हिजोआज नेपालगन्ज नाकामा घुइँचो छ । विगतका बर्षभन्दा यसपाली नेपाल फर्किनेको संख्या बढेको प्रहरीले जनाएको छ । दसैँ मनाउन आउनेको संख्या बढेको प्रहरीले अनुमान लगाएको छ । भारतबाट फर्किने नेपालीहरु आफ्नो समूह बनाएर नेपाल फर्किरहेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

दसैं नजिकिदैं गएपछि नेपाल फर्किनेहरुको संख्या बढ्दै गएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले हिजोआज दैनिक २ हजार ५०० भन्दा धेरै नेपाली दसैं मनाउन फर्किने गरेको बताए । ‘दैनिक दिन आउने नेपालीको संख्या बढ्दै गएको छ, दसैँ नजिकिन थालेपछि दैनिक ५०० बढी थपिने गरेका छन्,’ उनले भने ।

‘भारतबाट रोजगारी गरेर घर फर्कने नेपालीको जमुनाह नाकामा प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको छ, अहिले भारत जानेभन्दा आउनेको भिडभाड बढी छ,’ बुढाथोकीले भने, ‘सोह्रश्राद्ध सुरु भएयता भारतमा काम गर्ने नेपाली घर फर्किनेको संख्या ह्वात्तै बढेको छ, बिहान ७ बजेदेखि ११ बजेसम्म जुमनाह नाकामा घर फर्किने नेपालीको भिडभाड हुने गरेको छ ।’

नेपाल र भारतीय प्रहरीबीच समन्वय काम गरेर फर्किने नेपालीहरु बीच बाटोमा लुटिने, पिटिने र दुख पाउन थालेपछि बाँके प्रहरीले विशेष निगरानी बढाएको छ । सीमा बजार रुपैडिया आएका नेपालीले कुनै किसिमका दुख नपाउन भन्ने उद्देश्यले भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोली विहानै रुपैडिया पुग्ने गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताए ।

उनले भने, ‘दिल्ली, लखनऊ, बहराइच लगायतका सहरबाट बस विहानै आइपुग्ने भएकोले प्रहरीको टोली ४ बजे रुपैडिया पुगिसक्छ ।’ नेपाल आउनेहरुको सजिलोका लागि नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर चेकजाँचलाई सरल बनाएको छ । काम गरेर दसैं मनाउन फर्किने नेपालीलाई ठगिनबाट जोगाउन जमुनाहा प्रहरीले जमुनाह नाकामा ट्राफिक प्रहरीसँगको समन्वयमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

‘यात्रुलाई कुनै समस्या नहोस् भनेर सवारी भाडा र सहायता कक्ष स्थापना गरिएको छ, यात्रुलाई सचेत गराउन साउण्ड स्पीकरमार्फत सूचना प्रवाह समेत गरिरहेका छौँ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके प्रमुख प्रहरी निरिक्षक पुस्करराज पन्तले जानकारी दिए । रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख बढी नेपाली दसैं पर्व मनाउन नेपालगन्जस्थित जमुनाहा नाकाबाट घर फर्किएका छन् ।

भारतमा रहेका नेपाली दशैं नजकिएसँगै घर फर्किने क्रम सुरु भएको थियो । यही असोज १ देखि २२ गतेसम्म २२ दिनको अवधिमा दुई लाख ३५ हजार ५५६ नेपाली जमुनाह नाका हुँदै दसैँ मनाउन घर फर्किएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । अहिले भारततर्फ जाने नेपालीको सङ्ख्या कम छ । पछिल्लो २२ दिनमा करिब दुई लाख ५० हजार नेपाल भित्रिँदा एक लाख ६५ हजार २८१ नेपाली जमुनाह नाकाबाट बाहिरिएका छन् ।

प्रहरीले चाडपर्वका बेला हुनसक्ने आपाराधिक गतिविधि नियन्त्रणका लागि चाडपर्व लक्षित सुरक्षा योजनासमेत बनाएर शान्ति सुरक्षाका लागि खटिएको छ । रिक्सा, ई–रिक्सा, बस, हायस र होटेल व्यवसायीबाट स्वदेश फर्किने नेपालीलाई ठगिन नदिन नेपाल प्रहरीले सचेतना अभियान पनि चलाएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज बुढाथोकीले बताए । उनले भने, ‘नाकामा भीड बढेपछि सुरक्षा बढाउनुका साथै यात्रुको सहजतामा ध्यान दिएका छौं ।’

आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, औषधिमूलो राम्रो नपाइने भएपछि कर्णाली र लुम्बिनी प्रदेशका नागरिकहरुको रोजगारीको प्रमुख गन्तव्य भारतका विभिन्न सहर जानेहरुको संख्या दिन प्रतिदिन बढ्दो छ । पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठान लगायतका जिल्लाबाट भारतमा रोजगारीका लागि पुग्ने गरेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार १५:०३

लोकप्रिय