नवरात्रको सातौं दिन बिहीबार दशैं घरमा हर्षोल्लासका साथ फुलपाती भित्र्याउने र बढाइँ गरिँदैछ । सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौंको हनुमानढोका दशैं घरमा भित्र्याउने र सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गर्ने पुरानो परम्परा छ ।
फूलपाती भित्र्याउने चलन मुख्यगरी राजामहाराजाको विजयी अभियानसँग सम्बन्धित रहेको बताइन्छ । खेतीपाती, वर्षा र हिलोमैलो सम्पन्न भएको, जनतासमेत सबै किसिमले फुर्सद भएका अवस्थामा राजामहाराजाले गर्ने विजयी यात्रासँग फूलपाती जोडिएको छ । फूलपाती परम्पराको उत्पत्ति प्राचीन समयदेखि मानिन्छ । गोपाल वंशदेखि नै फूलपाती भित्र्याउने प्रचलन रहेको पाइन्छ ।
नेपालको प्राचीन राज्य गोरखा दरबारमा पनि तत्कालीन राजा राम शाहले धादिङको सल्ल्यानटार विजय गरेपश्चात् त्यहाँबाट फूलपाती भित्र्याउने प्रचलन रहेको अभिलेखमा पाइन्छ । विसं १८२५ मा पृथ्वी नारायण शाहले काठमाडौंमा विजय गरेपछि काठमाडौंलाई राजधानी तोकियो । काठमाडौंबाट शासन सुरु भएपछि पृथ्वीनारायण शाहले गोरखाको भगवतीलाई हनुमान ढोकामा पनि स्थापना गरेका थिए ।
गोरखाबाट शाही पवित्रताका प्रतीक स्वरूप फूलपाती काठमाडौंको हनुमानढोका दरबारमा ल्याइने परम्परा सुरु गरिएको मानिन्छ । गोरखामा तयार गरिएका फूलपाती सप्तमीका दिनमा पैदल मार्गबाट काठमाडौं ल्याइने प्रचलन रहे तापनि दूरी, भौगोलिक कठिनाइ लगायत विभिन्न समस्याका कारण २०औं शताब्दीको मध्यतिरबाट काठमाडौं लैजान रोकियो । विभिन्न समस्याका कारण गोरखाबाट फूलपाती ल्याउन नसक्ने भएपछि नवपत्रिकाका बिरुवालाई काठमाडौंबाट करिब ३० किमी पश्चिममा रहेको धादिङको छत्रे देउरालीमा सारियो ।
विसं २०३७ मा गोरखा पृथ्वी राजमार्गसँग जोडिएर सडक सुविधा भएपछि इतिहास, परम्परा र संस्कृतिको जगेर्ना गर्न गोरखाका स्थानीय बासिन्दा तथा सरोकारवालाको पहलमा विसं २०४० को दशकबाट पुनः गोरखाबाट फूलपाती गाडीमार्फत हनुमानढोका ल्याउन थालियो ।
गोरखादेखि धादिङको जीवनपुरसम्म दशैं घरका पुजारीसहित हनुमान ढोका दरबार हेरचाह अड्डाबाट मगर जातिका छ र शार्दूल जंग गुल्म (गुर्जु पल्टन)बाट दुई मगर पुजारी सहभागी भई ल्याउने प्रचलन छ । जीवनपुरदेखि काठमाडौंको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका छजनाले ल्याउने परम्परा रहिआएको छ । शार्दूल जंग गुल्मबाट गुल्मपतिको ‘कमान्ड’मा बाजागाजासहित ‘इन्फिल्ड नाल’बाट सलामी दिई जमलबाट हनुमान ढोकासम्म ल्याउने गरिन्छ ।
उक्त फूलपाती भित्र्याउने कार्यमा निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जु पल्टन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको ब्यान्डबाजा, पञ्चेबाजा, नेपाल ‘क्याभ्लरी’बाट घोडा, स्थानीय निकायका पदाधिकारीको उपस्थितिमा सिंगारिएका कल्स्यौडी र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याई हनुमान ढोकास्थित नासाल चोकमा विधिपूर्वक दशैं घरमा फूलपाती भित्र्याइन्छ ।
सैनिक मञ्च टुँडिखेलमा हुने फूलपाती बढाइँ कार्यक्रममा मल्लकालीन अवस्थादेखि नै नेपाली सेनाको सहभागिता रहँदै आइरहेको छ । फूलपातीको दिनमा नेपाली सेनाका विभिन्न युनिटबाट फौजहरू खटी बाजागाजासहित नाचगानका साथसाथै सांस्कृतिक कार्यक्रम गरी बढाइँ दिई लावालस्करसहित उक्त पर्व धूमधामका साथ मनाउने गरेको पाइन्छ ।
राज्यकालीन अवस्थादेखि मगर पुजारी, बाजागाजासहित शार्दूल जंग गुल्म (गुर्जु पल्टन) तथा नेपाली सेनाका अन्य युनिट सबयुनिट प्रत्यक्ष रूपमा सहभागी भई ऐतिहासिक फूलपाती भित्र्याउने कार्यले राष्ट्रिय पर्व संवद्र्धन र प्रवद्र्धनमा ठूलो भूमिका देखिँदै आएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं