विराटनगरबाट जनकपुरका लागि उड्दै गरेको बुद्ध एयरको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी ढोका खोल्दा उडान प्रभावित भएको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार काठमाडौंबाट जनकपुरका लागि उडेको विमान खराब मौसमका कारण विराटनगर पुगेको थियो ।
जनकपुरको मौसममा सुधार भएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको जहाज ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा जहाजको इमरजेन्सी ढोका छेवैमा बसेका यात्रु पंकजविक्रम शाहले इमर्जेन्सी ढोका खोलेका थिए । उक्त घटनापछि चालक दलले जहाज पार्किङ वे मै फर्काएका थिए । जहाजको प्राविधिक जाँच भइरहेको बताइएको छ ।
विगत केही सातायता यात्रुले हवाइजहाजका इमरजेन्सी डोर (आपतकालीन ढोका) खोलेको यो तेस्रो घटना हो । २ अक्टोबरका दिन विराटनगरबाट काठमाडौंको उडानमा र ७ अक्टोबरका दिन नेपालगन्जबाट काठमाडौंको उडानमा पनि यात्रुले इमर्जेन्सी ढोका खोलेका थिए । यसले उडान प्रक्रियालाई नै अवरुद्ध गरी उडान तालिकालाई थप प्रभावित बनाएको बुद्ध एयरले जनाएको छ ।
बिहीबार बिहान जनकपुर विमानस्थलको अनुकूल मौसम नहुँदा काठमाडौंबाट गएको जहाज विराटनगरमा अवतरण गरिएको थियो । आपतकालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृतरुपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन् । आपतकालीन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्याउँछ । बुद्ध एयरले यस्ता यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरेको छ ।
हवाई उडानमा खलल पुर्याउने जोसुकैलाई ‘गैरसैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार १ देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय हुने प्रावधान छ । विमान कम्पनीले उडान सुरक्षामा अनाहक खलल पुर्याउने यात्रुलाई उडानमा थप प्रतिबन्ध लगाउँछन् । जनकपुर विमानस्थल प्रमुख भीमदत्त पन्तले ती यात्रुको मनोविज्ञानबारे जाँचबुझ भइरहेको बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । विराटनगर