सूचनाको शक्ति - The Power Of Information

        

निलम्बित इन्सपेक्टरलाई मुद्दा चलाउन सिफारिस, तानिँदै एसपी

विवादित इन्सपेक्टर बिनुकुमारी शाहीमाथि छानबिन गर्न बनाइएको समितिले छानबिन सकाएको छ । छानबिन सकाएको समितिले कारबाहीका लागि सिफारिस गरेको जनाइएको छ । ललितपुरस्थित भैंसेपाटी प्रहरी प्रभागमा इन्चार्ज रहेकी बिनुकुमारी हालै छानबिनमा तानिएकी थिइन् ।

त्यस अगाडि पनि कञ्चनपुरमा विवादित बनेकी उनीमाथि छानबिन गर्न डीएसपीको नेतृत्वमा समिति बनाइएको थियो । सोही क्रममा उनलाई गृहमन्त्रालयले पनि पदबाट निलम्बन गरेको थियो । उनीमाथि मिलेमतोमा भएको हनि ट्रयापिङ घटनामा सघाएको आरोप छ । सोही आरोपमा छानबिन गर्न गठन भएको समितिले प्रतिवेदन बुझाएको हो ।

डिएसपी नरहरी अधिकारी नेतृत्वको समितिले बुधबार ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनाललाई प्रतिवेदन बुझाएको जनाइएको छ । स्रोतका अनुसार समितिले निलम्बित इन्स्पेक्टर बिनुकुमारीलाई फौजदारी मुद्दा नै चलाउनुपर्ने सिफारिस गरेको छ । प्रहरीकै मिलेमतोमा बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा असुलिएको छानबिन समितिको औँल्याएको छ ।

प्रभागमा एक जग्गा व्यापारीलाई थुनामा राखी ३० लाख असुल गरी छाडिएको थियो । एक युवतीलाई उजुरी हाल्न लगाएर यसरी पूर्व योजना अनुसार नै पैसा असुलिएको छानबिन समितिको प्रतिवेदन छ । त्यसबापत प्रहरीले समेत लेनदेन गरेको पुष्टि भएको छ । साथै यो घटनामा एक एसपीको समेत शंकास्पद भूमिका देखिएको थियो । ती एसपीमाथि समेत छानबिन हुने सम्भावना रहेको ललितपुर प्रहरी स्रोत बताउँछ ।

यस अगाडि नै प्रहरीले हनि ट्रयापिङ गिरोहका नाइके ताज इस्लामसहित उनको समूहका युवतीहरु सुष्मा विक र भिमादेवी थापालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सो समूहले विगतमा पनि प्रहरीकै मिलेमतोमा धेरैलाई फसाइसकेको खुलेको छ । निलम्बित इन्स्पेक्टर शाहीमाथि समेत आपराधिक लाभ मुद्दा दायर हुने सम्भावना देखिएको छ । यद्यपी उनी कारबाहीबाट जोगिन शक्ति केन्द्रबाट दबाब दिइरहेकी छन् ।

को हुन् ‘विवादित’ इन्सपेक्टर बिनुकुमारी ?

शाही उनै विवादित इन्सपेक्टर हुन्, जो यसअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत हुँदा कारबाहीमा समेत परेकी थिइन् । विभिन्न घटनाहरुमा उनलाई विभागीय कारबाही भएको थियो । पछिल्लोपटक उनी कञ्चनपुरमा हुँदा थुनुवामाथि ज्यादती गरेको लगायतका घटनामा विवादित बनेकी थिइन् । त्यसपछि तत्कालीन एसपी कमल थापासहित उनीमाथि विभागीय अनुसन्धानसमेत भएको थियो ।

त्यस अगाडि कञ्चनपुरमै रिपोर्टिङका क्रममा पत्रकारहरुमाथि अप्रिय व्यवहार देखाएको भन्दै उनीसहित चार प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको थियो । गत वर्षको बैशाखमा महेन्द्रनगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडिओ खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सोही घटनामा बिनुकुमारीलाई कारबाही गरिएको थियो ।

उनै शाहीको केही समय अगाडि कञ्चनपुरबाट प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग संघीय अपराध अनुसन्धान शाखा नक्साल काठमाडौंमा सरुवा भएको थियो । तर त्यहाँबाट पनि उनलाई ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीमा खटाइएको थियो । सो प्रभागमा इन्सपेक्टरको दरबन्दी भने छैन । तर बजेट बिनाको सो प्रभागमा शाहीलाई कमाण्ड दिएर काजमा खटाइएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार १०:४०

लोकप्रिय