सूचनाको शक्ति - The Power Of Information

        

दसैंमा स्वस्थ मासु खाँदै हुनुहुन्छ ? अपनाउनुस् यी विधि

दसैं–तिहार प्रत्येक नेपालीका घरआँगनमा भित्रिइसकेको छ । हुनेखानेले सक्दो खर्च गर्छन् भने नहुनेहरु पनि दसैं–तिहारका लागि ऋणै गरेर भए पनि पर्व मनाउँछन् । दसैंमा खानपान बढी हुने गर्छ । घरपरिवारका सबै जम्मा हुने र रमाइलो गर्ने हुँदा खानपानलाई बढी महत्त्व दिइन्छ ।

खुसी साट्ने नाममा अस्वस्थकर खानेकुराबाट भने बच्नुपर्छ । दसैंका बेला नाफा कमाउनेहरु कर्के नजर उपभोक्ता ठग्ने पनि हुन सक्छ । यसर्थ, स्वस्थ खानेकुरा किन्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । दसैंमा परिवार, छरछिमेक मिलेर सिंगै खसीबोका किन्ने प्रचलन पनि छ ।

खसीबोका नकिन्नेले भने बजारमा पाइने मासु खरिद गरी दसैं मनाउँछन् । बजारमा पाइने मासु किन्दा स्वस्थ भए नभएको छुट्याउन विशेष होसियारी अपनाउनुपर्छ । नेपालमा मनाइने चाडमध्ये बडादसैं ठूलो पर्व हो । आफूभन्दा ठूला मान्यजनको हातबाट रातो टीका र आशीर्वाद लिने र मिठाई खाने पर्वका रूपमा दसैंलाई चिनिन्छ ।

यो पर्वमा ऋण लिएरै पनि नयाँ लुगा लगाउने र मासु काट्ने प्रतिस्पर्धा हुने गर्छ । यही कारणले उखानै छ–दसैं आउँछ, गरिब निमुखालाई ऋण बोकाएर जान्छ । मासु पौस्टिक खाना हो, जसमा १० देखि २५ प्रतिशत प्रोटिन हुन्छ । यसमा जिंक, भिटामिन बी र पोटासियम पाइन्छ । यिनलाई मानिसको शरीरका लागि आवश्यक पोषक तत्त्व मानिन्छ ।

सन्तुलित आहारमा मासुको प्रयोग अत्यावश्यक मानिन्छ । दसैंमा अधिक मासु सेवनको असरले विभिन्न रूपका दीर्घकालीन रोग निम्त्याउने अमेरिका र युरोपका विभिन्न विश्वविद्यालय अन्वेषक र मासु विज्ञहरू बताउँछन् । दैनिक रूपमा धेरै रातो मासु खाँदा मानिसको मुटुमा असर पर्ने र उच्च रक्तचाप र क्यान्सर हुने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

दसैंमा अस्वस्थ मासु खाँदा ब्याक्टेरियाको संक्रमण हुने, कीराको लार्भा शरीरमा प्रवेश गर्ने र मासुबाट विभिन्न रोग सर्ने गरेको पाइन्छ । यी कारणले विभिन्न चाडपर्व मनाएर अस्पताल भर्ना हुनेको संख्या पनि बढ्ने गर्छ । दसैंमा खसी–बोका किन्दा केही आधारभूत कुरामा ध्यान दियौं भने मासुबाट सर्ने रोगबाट बच्न सकिन्छ । जस्तैः धेरै पातलो, आवश्यकताभन्दा बढी रसिला आँखा भएको किन्नुहुँदैन । यस्ता लक्षण सामान्यतया बिरामी हुँदा देखा पर्छन् ।

सरकारले हाल खसी–बोकालाई रातो र हरियो रङ दिएर परीक्षण गर्ने गरेको छ । हरियो सिङ भएका खसी–बोका स्वस्थ हुन्छन् भने रातो अस्वस्थ हुन्छन् । खसी–बोका काट्नेदेखि लिएर मासु पकाएर खाने र भण्डारण गर्ने प्रक्रियामा ध्यान दिन सकिए मासुजन्य रोगबाट बच्न सकिन्छ ।

कसरी छान्ने स्वस्थकर मासु ?

  • मासु हल्का गुलाबी रङको हुनुहुँदैन ।
  • यदि मासु हरियो र प्याज रङको छ भने यो मानव उपभोगका लागि हानिकारक हुनसक्छ ।
  • मासुमा कुनै अमिलो, बिग्रिएको, अप्रिय गन्ध हुनुहुँदैन ।
  • मासुलाई फ्रिजमा छुट्टै छोपेर सफा र चलिरहेको फ्रिजमा राख्नुपर्छ ।
  • मासु काट्दा र समात्दा विशेष ध्यान दिनुपर्छ ।
  • बासी र खुला मासु खानुहुँदैन ।
  • कुनै पनि हालतमा काँचो मासु नखानुहोस् ।
  • सेकुवा, ह्याकुला छोइला आदि भुटेको मासु सकेसम्म नखानु जाती हुन्छ ।
  • राम्ररी धोएर र राम्ररी पकाएको मासु मात्र खाने ।
  • विभिन्न प्रकारका मसला र तेलको प्रयोग कम गर्नुपर्छ ।
  • सकेसम्म फ्याट कम भएको मासुको प्रयोगमा जोड दिनुस् ।
  • मासुलाई अन्य पकाएको परिकारसँगै फ्रिजमा राख्नु हुँदैन । ताजा मासुलाई २ देखि ४ डिग्री सेल्सियसमा ४८ घन्टासम्म फ्रिजमा भण्डारण गर्न सकिन्छ ।
  • फ्रिजमा राख्दा सधैं मासु छोप्नुहोस् र यसलाई माथि कहिल्यै नराख्नुहोस् । माथिल्लो भागमा राख्दा मासुमा भएका किटाणु तरल पदार्थ, हावाको माध्यमबाट तल्लो सतहमा पर्न सक्छन् ।
  • खानेकुरा पकाएको भाँडा, तरकारी, शाकाहारीका लागि तयार तथा छुट्टाइएका परिकारहरू, फलफूल र तरकारीको जोखिम हुन्छ ।
  • काँचो मासु र पकाएको मासु एकै ठाउँमा राख्नुहुँदैन ।
  • घरमा मासु पकाउँदा सरसफाइमा ध्यान दिनुहोस् । मासु खाँदा सकेसम्म हरियो सागसब्जी खाने बानी गर्नुपर्छ । मासु खाएपछि तुरून्तै आइसक्रिम, दही, क्रिम डिस नखाने ।
  • दैनिक व्यायाम गर्नुपर्छ । सुरक्षित उपाय अपनाएर भण्डारण गरिएको छ वा छैन भनी निरीक्षण गरेपछि मात्रै खाने ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार ०७:३७

लोकप्रिय