सूचनाको शक्ति - The Power Of Information

        

भारतीय उद्योगपति रतन टाटाको निधन

भारतको प्रतिष्ठित व्यापारिक घराना टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन भएको छ । उनी २० वर्षदेखि टाटा ग्रुपको अध्यक्ष थिए । उनी सोमबारदेखि मुम्बईस्थित क्यान्डी अस्पतालमा उपचाररत थिए । उनको ८६ वर्षको उमेरमा निधन भएको हो ।

उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्ष (आइसीयू) मा भर्ना गरिएको थियो । उनी उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए । राति करिब २ बजे उनको शव अस्पतालबाट घर ल्याइएको थियो ।

टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले टाटा समूहको तर्फबाट एक विज्ञप्ति जारी गर्दै रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको पुष्टि गरेका छन् । उनको निधनले टाटा ग्रुपलाई अपूरणीय क्षति भएको विज्ञप्तिमा भनिएको छ । टाटा ग्रुप रतन टाटाका जिजुबाले करिब शताब्दी अगाडि स्थापना गरेका थिए ।

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले टाटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने बताएका छन् । टाटाको पार्थिव शरीरलाई बिहीबार बिहान १० बजेदेखि ४ बजेसम्म दक्षिण मुम्बईको नेशनल सेन्टर फर पर्फर्मिङ आर्ट्सको हलमा राखिने उनका आफन्तले बताएका छन् । यहाँ मानिसहरूले उनलाई अन्तिम श्रद्धाञ्जली दिन पाउने छन् ।

उनको निधनमा राष्ट्रपति, प्रधानमन्त्री लगायत देशका धेरै दिग्गजहरुले दुःख व्यक्त गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले ट्वीटरमा रतन टाटाको निधनले भारतले कर्पोरेट वृद्धिलाई राष्ट्र निर्माण र उत्कृष्टतालाई नैतिकतासँग जोड्ने प्रतीक गुमाएको लेखेकी छिन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले लेखेका छन्, ‘रतन टाटा एक दूरदर्शी व्यापारी नेता र एक असाधारण व्यक्ति थिए। उनले भारतको प्रतिष्ठित औद्योगिक घरानालाई स्थायी नेतृत्व दिएका थिए ।’ कांग्रेस नेता राहुल गान्धीले रतन टाटालाई श्रद्धाञ्जली अर्पण गर्दै ट्वीटरमा लेखेका छन्, ‘रतन टाटाको दर्शन थियो ।

उनले व्यापार र परोपकारको क्षेत्रमा आफ्नो छाप छोडेका छन् । रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । उनले ९ अक्टोबर २०२४ मा अन्तिम श्वास फेरे । भारत सरकारले रतन टाटालाई पद्मविभूषणबाट सम्मानित गरेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार ०७:३१

लोकप्रिय