आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।
‘केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्,’ उनले भने । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने पूर्वअध्यक्ष गौतमले बताए । यस्तै, हनुमानढोका दरबारको दसैँ घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँ घरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रही आएको छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएको छ । राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्य प्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकोमा गणतन्त्रको स्थापनापछि भने संस्कृति मन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।
आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा सङ्लग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीब्र हुने गर्दछ । फलस्वरूप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिंगे पिङ र रोटे पिङले दसैँको रौनकतालाई अझ बढाउने गर्दछ ।
सप्तमी अर्थात् फूलपातीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीलाई कालरात्रि भनिन्छ । कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्रि हुन् । उनको कपाल झाँक्रो फिँजाए जस्तो देखिन्छ । घाँटीमा बिजुली सरह चम्कीने माला छ । श्वास फेर्दा पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो देखिन्छ ।
माता कालरात्रिको स्वरूप डरलाग्दो जस्तो देखिन्छ तर यिनी भक्तलाई शुभ फल दिने गर्दछिन् । यसैले यी देवीको एक नाम ‘शङ्करी’ पनि रहेको छ । देवी कालरात्रि दुर्जनहरूको उछित्व गर्छिन् । यी देवीको स्मरण गर्नाले पनि दानव, दैत्य, राक्षस, भूतप्रेत भागेर जान्छन् भनिएको छ । देवीले कालरात्रिको रूप लिएर सबै असूर शक्तिमाथि विजय प्राप्त गरेको दिनका रूपमा यस दिनलाई लिइन्छ ।
माता कालरात्रिको आराधनाको समयमा भक्तलाई आफ्नो मनको भानु चक्र अर्थात् शिर मध्य स्थित गर्नुपर्छ । यो आराधनाको फलस्वरूप भानु चक्रको शक्ति जागृत भएर आउँछ । माता कालरात्रिको भक्तिले मनका हर प्रकारका भय नष्ट हुँदै जान्छन् भन्ने मान्यता छ । जीवनका हर समस्याको पलभरमा हल गर्ने शक्ति प्राप्त हुने तथा शत्रुको नाश गर्ने माता कालरात्रि आफ्ना भक्तलाई हर परिस्थितिमा विजय दिलाउँछिन् भन्ने विश्वास छ ।
सप्तमीको दिन माता कालरात्रिलाई गुडको वस्तुको भोग दिइन्छ । त्यसै गरि गरिबलाई दान पनि गरिन्छ । यसो गर्नाले दरिद्रता भाग्दछ । आजको दिन केरा, हलेदो, धान, अशोक, बेलपत्र, दारिम, धानको वाला, केराको बोट, जयन्ती र उखु लगायतका लहरापात अनि विभिन्न प्रकारको फूलपात मिश्रित फूलपाती भित्राइन्छ ।
यसदिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ । यस विशेष सातौँ दिन दुर्गाको सातौँ स्वरूप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रूपमा स्थापना गरिएको कलशको छेउमा नौवटा स–साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रूपमा स्थापित गरी नैवेद, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।
ॐ जयंती मंगला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तु ते ।।
जय त्वं देवि चामुण्डे जय भूतार्तिहारिणि ।
जय सर्वगते देवि कालरात्रि नमोस्तु ते ।।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं