खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ जयरामघारका कान्छा कार्कीले नयाँ गाडी किनेर चलाउन थालेको महिना दिन पनि पुगेको थिएन । गत भदौ ३० गते रु ६५ लाखमा किनेको गाडी सोमबार दुर्घटनामा पर्यो । काठमाडौँबाट ३९ यात्रु बोकेर भोजपुरतर्फ जान लागेको गाडी मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्र झ्याडीस्थित भलखाडामा अचानक पल्टियो ।
घटनास्थलमा कोलाहल मच्चियो । गाडीभित्र रहेकाहरु कोही बचाऊ ! बचाऊ ! त कोही रुवाबासी गर्न थाले । दुर्घटनाका प्रत्यक्षदर्शीले घटनास्थल नजिक रहेको महेन्द्रझ्याडी प्रहरी चौकीलाई खबर गरे । घटनास्थल नजिक रहेका प्रहरी १० मिनेटको अन्तरालमा घटनास्थल पुगे । प्रहरी र स्थानीय नागरिकले उनीहरुको उद्धार गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्का तथा सशस्त्र प्रहरी बल, सिन्धुलीका प्रहरी नायब उपरीक्षक बलराम प्रसाईंको नेतृत्वमा गएका सुरक्षाकर्मीले उद्धारमा सघाएका थिए । घटनास्थलमै पुगेका सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको रोयल भोजपुरको बस पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भयो ।
साङ्ग्रिला विकास बैंकको एटिएम र गाडी टिकटका आधारमा हतुवागढी गाउँपालिका–१ भोजपुरका २६ वर्षीय मृतक बुद्धिमान तामाङको पहचान खुल्यो । अर्का मृतकको पहिचान भने खुल्न सकेको छैन । मृतक दुवैको शव सिन्धुलीमाडीस्थित सिन्धुली अस्पतालमा राखिएको छ । गाडी दुर्घटनामा परेका २३ घाइतेलाई सिन्धुली अस्पतालमा ल्याइएको थियो ।
घाइतेमध्ये गम्भीर घाइते भएका १० जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए । सामान्य घाइते १० जना उपचारपछि घर फर्किएका छन् । तीन यात्रु सिन्धुली अस्पतालमा उपचाररत छन् । अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र, कपिलाकोट लगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
गाडीमा सवार धेरैजसो यात्रु खोटाङका भएको बताइएको छ । गाडी मालिक ४६ वर्षीय कान्छा कार्की आफू निन्द्रामा रहेकाले गाडी दुर्घटना हुनुको कारण थाहा नभएको बताउँछन् । हात र कम्मरमा चोट रहेका कार्कीका १२ वर्षीय छोरा वसन्त, दुई छोरीहरु २० वर्षीया गीताञ्जली र २१ वर्षीया पुष्पाञ्जलीसँगै उनको अस्पतालमा उपचार भइरहेको छ ।
तीव्र गतिका कारण गाडी दुर्घटना भएको हुन सक्ने गाडीमा सवार भोजपुर नगरपालिका–६ भँगेरीका ४० वर्षीय प्रमेश दाहालले बताए । उनले भने, ‘काठमाडौंबाट हेटौँडा बजारसम्म आउँदा सडकमा गाडीको चाप थियो, विस्तारै आयौँ । हेटौँडा बजारमा खाना खाएर मदन भण्डारी राजमार्ग प्रवेश गरेपछि सडक खुला रहेछ, सवारीसाधन त्यत्ति चलेका थिएनन् । चालकले गाडीको गति बढाउनुभयो ।’
उदयपुरका ४० वर्षीय रमेश दनुवारले गाडी चलाएका थिए । उनलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रहरी उपरीक्षक काफ्लेले बताए । बस दुर्घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । गाडीमा सवार यात्रुका अनुसार सोमबार दिउँसो ३ बजे आसपासतिर सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडा (द्वारखोला पुल नजिक) मा पल्टेको गाडी काठमाडौंको चाबहिलबाट सोमबार बिहान ४ बजे हिँडेको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । खोटाङ