दसैंको बेलामा प्रायः नेपालीको घरमा मासुका विभिन्न परिकार पाक्छन् । दसैंमा बिहानदेखि बेलुकासम्म मासु खानुपर्छ भन्ने आममान्यता छ । त्यसैले दसैंका बेला धेरैजसोले घरमै खसी काट्ने गर्छन् । घरमा खसी नकाट्नेले पनि दसैंभरिलाई पुग्ने मासु ल्याएर राख्ने चलन छ । फुर्सदको समय भएकोले मासुका विभिन्न परिकार बनाएर धेरै दिनसम्म राखेर खाने चलन छ ।
दसैंमा अत्यधिक मात्रामा मासुजन्य परिकार खाने तर शारीरिक कसरत भने अरु बेलाको भन्दा कम हुने भएकाले स्वास्थ्य सम्बन्धी विभिन्न समस्या देखिने गरेका छन् । आवश्यकताभन्दा बढी मासु खाएमा स्वास्थ्यमा नकारात्मक असर पर्छ । अत्यधिक मात्रामा मासु खानाले स्वस्थ मानिस पनि बिरामी पर्छन् । तसर्थ सन्तुलन मिलाएर खानुपर्छ जसले स्वास्थ्यमा लाभ पुर्याओस् ।
मासुका परिकार बढी खाँदा बच्चा, वृद्ध र दीर्घ रोगीहरुको स्वास्थ्यमा नकारात्मक असर गर्छ । त्यति मात्र होइन, शारीरिक कसरत नगर्ने तर बसीबसी मासु मात्र खाने गर्दा स्वस्थ व्यक्तिलाई पनि अन्य दीर्घरोग बढ्ने सम्भावना हुन्छ । दसैंमा बालबालिकालाई झाडापखाला लाग्ने, बान्ता हुने, कब्जियत हुने र खान मन नलाग्ने जस्ता समस्या देखिन्छन् ।
त्यस्तै उच्च कोलेस्टेरोल, मधुमेह, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या पनि यो बेलामा बढी देखिन्छ । त्यसैले दसैं–तिहारमा मासु खाँदा सबै उमेर समूहका मानिसले उत्तिकै ध्यान पुर्याउन जरुरी छ । हुन त मासु आफैंमा खराब चिज होइन, तर जुन तरिकाले हामी खान्छौँ, त्यसले शरीरलाई बेफाइदा गर्छ ।
मासु शरीरका लागि चाहिने पौष्टिक आहार हो । त्यसैले यसको सन्तुलन मिलाएर खान सकियो भने धेरै फाइदा हुन्छ । मासुबाट शरीरमा चाहिने प्रोटिनका साथै आइरन पनि प्राप्त हुन्छ । मासुमा छाला र बोसोको मात्रा बढी हुन्छ । छाला र बोसोले स्वास्थ्यमा नकारात्मक असर गर्छ । मासुमा चिल्लोको मात्रा पनि बढी हुन्छ ।
त्यसमा पनि हामीले मरमसाला र चिल्लो हालेर पकाउने हुँदा यसले पनि स्वास्थ्यमा नकारात्मक असर गर्छ । मासुसँग अन्य भिटामिन ‘सी’ युक्त खानेकुरा जस्तैः फलफूल, सागसब्जी पनि खाँदा स्वास्थ्यलाई हितकर हुन्छ । किनकी मासुसँग फलफूल र सागसब्जी मिसाएर खाँदा मासुबाट प्राप्त हुने फलामतत्व र पोषणलाई सोस्न गर्न मद्दत पुग्छ ।
तसर्थ, दसैंको बेलामा मासु पकाउँदा भान्सामा सागसब्जी, विभिन्न वनस्पतीजन्य फाइवरयुक्त तरकारी अनिवार्य रुपमा बनाउनुपर्छ । त्यो बाहेक काँक्रो र मुलाको अचार, रायोको गेडा राखेर खाँदा झनै स्वास्थ्यवद्र्धक हुन्छ । सागसब्जी र अन्य फाइबरयुक्त तरकारीले शरीरभित्र भएका नचाहिने चिल्लो पदार्थलाई शरीर बाहिर निकाल्ने काम गर्छ ।
काँक्रो र मुलाको अचारमा रायोको गेडालाई तोरीको तेलमा पकाएर खानाले मासुको चिल्लोलाई पचाउन सघाउ पुग्छ । साथै फलफूल प्रशस्त मात्रामा खानुपर्छ । दसैंको बेलामा अम्बा पाइन्छ । अम्बामा अत्यधिक मात्रामा रेशा हुन्छ । चिल्लो पदार्थलाई शरीर बाहिर निकाल्ने हुँदा मासुका साथै अम्बा खानु उपयुक्त हुन्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं