सूचनाको शक्ति - The Power Of Information

        

राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति

बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले भित्र्याउने बेलाको धानबालीमा क्षति पुर्याएको छ । यसअघि हावाहुरीले ढालेको धान काटेर भित्र्याउने योजनामा रहेका किसान गएरातिको वर्षाले क्षति पुर्याएपछि चिन्तित बनेका छन् ।

काटेर भित्र्याउने बेलाको बाली कहिले हावाहुरीले कहिले वर्षाले क्षति गराइरहेको राप्तीसोनारी–३ की बजारी थारुले बताइन् । ‘पानीले भिजेर धान खेतमा जमराझैँ उम्रेको छ, अझै पानी आयो भने वर्षभरि खाने अन्न नष्ट हुन्छ,’ उनले भनिन् ।

करिब ६ कट्ठा जमिनमा लगाएको महेन्द्र ६०६ जातको धान भिजेको बताउँदै थारुले अहिले घाम देखिन थालेकामा खुशी व्यक्त गरिन् । यसबाहेक गाउँका करिब ११ परिवारको धानबालीमा गएरातिको वर्षाले क्षति पुर्याएको उनले बताइन् ।

राप्तीसोनारीका किसान रणबहादुर थारुले आफ्नो सबै धानबालीमा वर्षाले क्षति पुगेको बताए । काटेर राखेको करिब १० कट्ठामा लगाएको बाली पानीले भिजाएको उल्लेख गर्दै उनले धान उम्रिने अवस्थामा पुगेको बताए ।

‘मौसम सफा भए बाली भित्र्याउन पकिन्थ्यो कि ? घाम नलागे सबै धान जमिनमै नष्ट हुन्छ । वर्षभरि खाने अन्न नष्ट भए के खाने ?’ उनले प्रश्न गरे । स्थानीय पत्रकार विमला चौधरीले करिब दुई घण्टा परेको वर्षाले किसानको धानबालीमा क्षति पुर्याएको उल्लेख गर्दै भिजेको धान सबै उम्रन थालेको उल्लेख गरिन् ।

राप्तीसोनारी–३ का वडाध्यक्ष मिनराज खड्काले वर्षाका कारण काटेर राखिएका र ढलेका धानमा केही क्षति पुगेको बताए । वडाध्यक्ष खड्काले वडा कार्यालयबाट क्षतिको विवरण संकलन गर्न लागिएको बताए । उनका अनुसार राप्तीसोनारी–३ र ४ का करिब ११ परिवारका किसानको धानबालीमा क्षति भएको प्रारम्भिक तथ्यांक प्राप्त भएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार १२:२७

लोकप्रिय