सूचनाको शक्ति - The Power Of Information

        

बाढीपहिरोबाट २३९ जनाको मृत्यु, १० हजार विस्थापित

केही दिनअघिको बाढीपहिरोमा परेर हालसम्म २३९ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर अहिलेसम्म १९ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरोमा परेर १७७ जना घाइते भएका छन् ।

प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार १३१ जनाको उद्धार भएको छ । ९१० जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बेपत्ताको खोजी र सहायता परिचालनको काम चलिरहेको उनले बताए । बाढीपहिरोबाट सडक, पुल लगायतका संरचनाहरुमा करोडौंको क्षति पुगेको छ ।

अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी रहेको गृहमन्त्रालयले जनाएको छ । बीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । भौतिक पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैं अघि सन्चालनमा ल्याउन कठिन हुने जनाएको छ ।

यसैगरी राजधानी काठमाडौंलाई अन्य जिल्लाहरुसँग जोड्ने अर्को मुख्य राजमार्ग पृथ्वी राजमार्गमा पनि दर्जनौं ठाउँमा गएको पहिरोले क्षति पुगेको छ । बाढी पहिरोमा परी ४ हजार ६६७ घरहरु पूर्णरुपमा क्षति पुगेको छ । आंशिक क्षति पुगेका घरहरुको संख्या भने ५ हजार ३१० छ ।

१६ हजार २४३ परिवार बाढीपहिरोबाट प्रभावित भएका छन् भने १० हजार ८०७ जना विस्थापित भएका छन् । ११ वटा जलविद्युत आयोजना, ६ वटा सिंचाइ आयोजना, १० राजमार्ग ४४ वटा सस्पेन्सन ब्रिजमा क्षति पुगेको छ । ९६ वटा विद्यालय र ६६ वटा स्वास्थ्य संंस्थामा पनि बाढी पहिरोले क्षति पुगेको गृह मन्त्रालयको तथ्यांक छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार ११:२६

लोकप्रिय