भारत र नेपालले तटबन्ध नगरेका कारण जिल्लाको सुस्ता गाउँपालिका–५ नरायणीपारि सुस्तागाउँ डुुबानमा पर्दै आएको छ । नेपाल र भारत दुवै देशले ध्यान नदिँदा सुस्ताबासीले बर्खामा बाढीको चपेटा खेप्नु परेको हो । सुुस्तालाई नेपालबाट टुक्र्याउने भारतको नीतिगत योजना रहेकाले नेपालीलाई दुःख दिनकै लागि आफ्नो क्षेत्रमा तटबन्ध नबनाएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनरायण उपाध्यायले दाबी गरे ।
उनका अनुसार सुस्तालाई भारतले तीनतिरबाट घेरेको छ । भारतले आफ्नो क्षेत्रका नदीमा तटबन्ध नगर्दा बर्सेनि सुस्ता गाउँ डुबान पर्ने गरेको अध्यक्ष उपाध्यायले बताए । अविरल वर्षा हुुँदा नरायणी नदीको पानी पसेपछि सुस्ता डुबानमा परेको हो । भारतले तटबन्ध गर्यो भने सुस्तामा बाढी नआउने अध्यक्ष उपाध्यायको भनाइ छ । सुस्ताको भूमिको विषयलाई लिएर बारम्बार भारतीय सुरक्षाकर्मीसँग विवाद हुने गरेको छ ।
बाढी तथा डुबानका कारण मानवीय र पशुचौपाया क्षति नभए पनि चामल, गँहु, दाललगायत खाद्य सामग्री क्षति भएको स्थानीय अजाद खानले बताए । त्यस्तै बाढी तथा डुबानका कारण ४० प्रतिशत धानबाली नष्ट भएको मुनसी हरिजनले बताए । उनका अनुसार जबसम्म भारतले आफ्नोतर्फ तटबन्ध गर्दैन, तबसम्म सुस्तावासी बाढीबाट पीडित भइरहन्छन् । उनले भने, ‘नेपाल–भारत दुवैले आ–आफ्नोतर्फ तार र ढुङ्गाबाट तटबन्ध गर्न जरुरी छ ।’ सुस्ता गाउँमा बाढी पसेपछि २०० घर डुबानमा परेको थियो ।
नारायणीको बाढी सुरुमा थारू बस्तीमा पसेको सुुस्ता विओपीका सशस्त्र प्रहरी बल नेपालका निरीक्षक मानबहादुर खड्काले बताए । बाढीका कारण मानवीय र पशुचौपाया क्षति नभए पनि फुसको घर भत्किए बस्ने अवस्था नभएको सुस्ता गाउँपालिका–५ का वडाध्यक्ष प्रभुनाथ अहिरले बताए । उनका अनुसार सुस्तामा रहेका सशस्त्र र जनपथ प्रहरीको चौकीसमेत डुबानमा परेको थियो । सुस्ताका अधिकांश स्थान डुबानमा परेर त्यहाँका स्थानीयवासी आश्रयस्थलमा बास बसेका सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले जानकारी दिए ।
फुसको घर भत्किएर अहिले पनि बस्ने अवस्था नभएको उनी बताउँछन् । सुुस्ता गाउँपालिका–५ स्थित सुुस्तातर्फ नरायणीमा तारले तटबन्ध गर्नका लागि त्यहाँको स्थानीय तहसँग पहल भइरहेको पश्चिम नवलपरासीकी प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिकी अध्यक्ष स्किम श्रेष्ठले बताइन् । सरावल गाउँपालिका–५, ६ र ७ मा एक हजार २०० बिघामा लगाइएका धान बाली डुबानमा रहेका नवलपरासी कृषि ज्ञान केन्द्रका प्रमुख डा रवीन्द्रनाथ चौबेले बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । नवलपरासी