सूचनाको शक्ति - The Power Of Information

        

‘दशैं अगाडि बीपी राजमार्ग खुल्दैन’

भौतिक पूर्वाधार मन्त्रालयले बाढी पहिरोले क्षतिग्रस्त बनाएको वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने जनाएको छ । बीपी राजमार्गको स्थलगत अवलोकनपछि मन्त्रालय यस्तो निष्कर्षमा पुगेको हो ।

मन्त्रालय र सडक विभागको टोलीले नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गरेको भोलिपल्ट बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले बीपी राजमार्ग दशैं अगाडि खुल्ने अवस्था नभएको बताएको हो ।

‘दशैं अगाडि खुल्ने अवस्था छैन भन्ने निष्कर्षमा हामी पुग्यौं,’ सचिव केशवकुमार शर्माले भने । मन्त्रालयका अनुसार वीपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डमा मात्र १२ किलोमिटर सडक रोशी खोलाको बाढीले बगाएको छ ।

उक्त खण्डको लम्बाइ १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले बगाएको छ र त्यहाँ पहाड काटेर सडक बनाउन सक्ने अवस्था छैन । नदीमा पानीको बहाब कम भएपछि डाइभर्सन गरेर सडक सञ्चालन गर्ने प्रयास हुने मन्त्रालयले जनाएको छ ।

सचिव शर्माले अस्थायीरुपमा राजमार्ग सञ्चालन गर्न रोशी खोलाको वारिपारी गर्दै ट्र्याक खोल्न सकिने छ । तर, तीन चार ठाउँमा खोला पहाडसम्म जोडिएर बगेकाले पुल हाल्नुपर्ने पनि सकिने छ । ‘अस्थायी रुपमा यही दिनबाट सार्वजनिक गाडी चल्छ भन्ने अवस्था छैन’ उनले भने ।

सचिव शर्माका अनुसार बाढी तथा पहिरोले राजमार्ग क्षतिग्रस्त भएपछि पूर्वबाट आउने गाडीहरु वीपी राजमार्गमा सित्खासम्म आउने र पुल तरेर रामेछापको मन्थली र दोलखाको चरिकोट भएर काठमाडौं आउने विकल्प खोजिएको थियो । तर त्यो साह्रै घुमाउने हुने उनले बताए ।

मध्यपहाडी राजमार्गबाट दोलालघाट आउने र अरनिको राजमार्गबाट काठमाडौं आउने रुट तुलनात्मक रुपमा छोटो पर्ने देखिएको उनको भनाइ छ । पूर्व जाने गाडीहरुका लागि कान्तिराजपथ र दक्षिणकाली छैमले सडक विकल्प रहेको उनले बताए ।

भौतिक पूर्वाधार सचिव शर्माले भने, ‘यो बाटोबाट हेटौंडा र त्यहाँबाट भिमान जान सकिन्छ । सिन्धुली एक्लिएर अन्यत्र जाँदा भयो ।’ उनले कान्तिराजपथ र दक्षिणकाली छैमले सडक सञ्चालन गर्ने प्रयासका साथ काम भइरहेको बताए । उनका अनुसार काठमाडौंबाट नौबिसे हुँदै हेटौंडा जाने बाइरोडको बाटो पनि सञ्चालनमा छ । त्यस्तै थानकोट–चित्लाङ भएर पनि हेटौंडा जान सकिन्छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार ०८:४२

लोकप्रिय