२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday
पछिल्लो मनसुनी अवस्था

आगामी तीन दिन भारी वर्षाको सम्भावना छैन : मौसमविद्

कोशी नदीमा जल सतह उच्च रहँदा ‘हाई रेड अलर्ट’ जारी गरिएको छ ।
सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ असोज १३ गते आइतबार

पछिल्लो मनसुनजन्य विपद्का घटनामा १०० जनाको ज्यान गएको अधिकारीहरूले पुष्टि गरिरहँदा जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले आगामी तीन दिनमा भारी वर्षाको सम्भावना नरहेको बताएका छन् । मौसम विभागका अधिकारीहरूले राजधानी काठमाडौंसहित देशको पूर्वी भागका विभिन्न स्थानमा थोरै वर्षाको सम्भावना रहेको जनाएका छन् ।

शुक्रवार बिहानयताको अविरल वर्षापछि देशका विभिन्न ठाउँमा बाढी तथा पहिरो गएका विवरणहरू आएका छन् । गृह मन्त्रालयका प्रवक्ताले विपद्मा १०० जनाले ज्यान गुमाएका, १०१ जना घाइते भएका र ६७ जना बेपत्ता रहेका बताए । सरकारले अब आफ्नो ध्यान सडकसहितका महत्त्वपूर्ण पूर्वाधारहरूको सञ्चालनमा केन्द्रित रहने जनाएको छ ।

मौसम अधिकारीहरू के भन्छन् ?

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान शाखाका मौसमविद् गोविन्द झाले आंशिक र सामान्य बदली भए पनि बिस्तारै मौसम खुल्दै आएको बताए । उनले भने, ‘तर पनि एक दुई स्थानमा जस्तै कोशी प्रदेशको पहाडी भेगतिर छिटपुट वर्षा भइरहेको छ । खाँदबारी, लुक्लातिर पनि अलिअलि वर्षा भइरहेको छ । तर आगामी तीन दिनलाई एकदमै भारी वर्षाको सम्भावना छैन ।’

उनले मनसुन अझै बाहिरिइनसकेकाले एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने बताए । ‘त्यो पनि क्षणिक खालको छ, धेरै छैन ।’ अविरल वर्षाले ठूलो जनधनको क्षति भएको काठमाडौं उपत्यकामा आइतवार बिहानबाटै घाम लागेको छ । मौसमविद् झाले ‘बादल आउने जाने’ भइराखेको भए पनि काठमाडौको मौसममा सुधार भएको र दुई तीन दिनलाई खासै भारी वर्षाको सम्भावना नरहेको जनाए ।

यसअघि जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले निरन्तरको वर्षाले काठमाडौंमा अभिलेख राख्न सुरु भएयता अहिलेसम्मकै धेरै वर्षा मापन भएको बताएका थिए । जल तथा मौसम विज्ञान विभागसँग सन् १९७० देखि वर्षाको अभिलेख रहेको छ । यसभन्दा अघि काठमाडौं विमानस्थलमा सन् २००२ मा १७७ मिलिमिटर वर्षा २४ घण्टामा मापन गरिएकोमा शनिवार २३९.७ मिलिमिटर वर्षा मापन भएको छ ।

मौसमविद् झाले काठमाडौं उपत्यकाभित्र ९ ठाउँमा बर्षाको कीर्तिमान भङ्ग भएको बताए । पानीपोखरी, चापागाउँ, बुढानीलकण्ठ, खोकना, नैकाप लगायतका केन्द्रहरूमा पनि ‘रेकर्ड ब्रेक’ भएको भन्दै उनले विभागले त्यस सम्बन्धी थप विवरणहरू सार्वजनिक गर्ने जनाए । यद्यपी, मौसममा केही सुधार आएसँगै बाढी तथा पहिरो प्रभावित क्षेत्रहरूमा हेलिकोप्टरमार्फत् उद्धारहरू अघि बढाउने प्रयास भइरहेको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले भने, ‘हामीले काभ्रेमा उद्धारकार्यका लागि हेलिकोप्टर पठाउन लाग्दैछौँ । बेथानचोक र पनौतीमा केही घाइते हुनुहुन्छ भन्ने खबर आएको छ । दुवैतर्फ बाटो अवरुद्ध भएर यात्रीहरू रोकिनुभएको छ । केही खाद्य सामग्री पु¥याउने र वृद्ध, अशक्तहरू हुनुहुन्छ भन्ने उद्धार गर्ने हाम्रो प्रयास हुनेछ ।’ उनले उद्धारबाहेक राहत वितरण र संवेदनशील पूर्वाधारहरूलाई सञ्चालन गर्नेमा सरकारी संयन्त्रको जोड रहने बताए ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा पाँच ठाउँमा राजमार्ग पूर्णरूपमा अवरुद्ध रहेको छ भने कोशी प्रदेशमा छ ठाउँमा पूर्ण अवरोध छ । आइतवार बिहानसम्मको आँकडा अनुसार बाग्मती प्रदेशमा २५ ठाउँमा त्यस्तो पूर्ण अवरोध थियो । त्यसबाहेक गण्डकी प्रदेशमा तीन ठाउँमा, लुम्बिनीमा सात र कर्णालीमा एक ठाउँमा अवरोध छ । उनले सकेसम्म धेरै सडकहरू सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाए ।

कोशीमा ‘हाई रेड अलर्ट’

कोशी नदीमा जल सतह उच्च रहँदा अधिकारीहरूले ‘हाई रेड अलर्ट’ जारी गरेका छन् । नदीको तहलाई ज्यादै खतरनाक भनेका अधिकारीहरूले कोशीको ५६ वटै ढोकाहरू खुल्ला गरिएको जनाएका छन् । भारत सरकारको जल संसाधन विभागले नेपाल भारी वर्षाका कारण आइतरवार बिहान ५ बजे कोशी ब्यारेज वीर पुरबाट ६ लाख ६१ हजार क्यूसेकभन्दा बढी पानी प्रवाह भएको जनाएको छ ।

त्यो सन् १९६८ यताकै सर्वाधिक रहेको उल्लेख गरेको छ । उक्त विभागले आफू निरन्तर तटबन्धको सुरक्षाका लागि काम गरिरहेको भन्दै नदी किनारा र तटबन्धको नजिकको क्षेत्रमा बसेका मानिसहरूलाई सतर्क रहन भनेको छ । सप्तकोशी नदीमा पानीको बहाव उच्च हुँदै खतराको सङ्केत पार गरेपछि शनिवार अपराह्न ४ बजेदेखि कोशी ब्यारेजको पुलबाट आवतजावत बन्द गरिएको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उक्त क्षेत्रको निरिक्षण गरेका छन् । उनले कोशी नदीमा पानीको बहाव क्रमिक रूपमा बढेको र सम्भावित जोखिमलाई आकलन गर्दै जिल्ला सुरक्षा समिति सुनसरी र सप्तरीलाई अत्यावश्यक सेवा बाहेक कोशी ब्यारेज पुलहुँदै जाने यातायात हाललाई नचलाउने व्यवस्था मिलाउन निर्देशन दिइएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतबार