२०८३ वैशाख १ , मंगलबार 14, April 2026, Tuesday

सप्तकोसीमा पानीको बहाव ५६ वर्षयताकै बढी

सत्यपाटीसत्यपाटी । सुनसरी । २०८१ असोज १३ गते आइतबार
अविरल वर्षाका कारण कोशी ब्यारेजमा पानीको बहाव बढेर सतर्कतातह पार गरेपछि शनिबार कोशी ब्यारेजमा सुरक्षाकर्मी गस्ती गर्दै । तस्वीर : अजितकुमार झा । रासस

सप्तकोसी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ । आज (आइतबार) बिहान ३ बजे गरेको मापनअनुसार कोसी ब्यारेज भएर सप्तकोसीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार ५४० क्युसेक रहेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

यसअघि कोसी ब्यारेज भएर अहिलेसम्मकै बढी सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको बहाव प्रतिसेकेन्ड सात लाख ८८ हजार २०० क्युसेक मापन गरिएको थियो । शनिबार बेलुका १०ः२५ बजे सप्तकोसीको पानीको बहाव प्रतिसेकेण्ड ६ लाख २० हजार क्युसेक मापन गरिएको थियो ।

कोसी ब्यारेज कन्ट्रोल रुमले गएराति ११ बजे दिएको जानकारीअनुसार जलसतह खतरा तहभन्दा ११.२६ मिटरमाथि पुगिसकेको र अझ बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको जनाएको छ । पानीको बहाव बढ्दै गएपछि कोसी ब्यारेजको सबै ५६ ढोका खोलिएका छन् ।

सप्तकोसी नदी जलसतह खतरा तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तरीका बाढीबाट कटान हुनसक्ने क्षेत्र तथा डुबान हुने होचा भूभागमा नबस्न र उच्च सतर्कताका साथ सुरक्षित स्थानमा जान सप्तकोसी चतरा जलमापन केन्द्रले सूचना जारी गरेको छ ।

लगातार पानीको बहाव बढ्दै गएपछि कोसी ब्यारेज भएर मानिस र सवारीसाधनलाई अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि आवागमन बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । शनिबार बिहान ६ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले प्रतिसेकेन्ड तीन लाख ३६ हजार १० क्युसेक पानीको बहाव मापन गरेको थियो ।

नदीमा पानीको बहाव बढेर शनिबार साँझ ८ः०० बजे प्रतिसेकेन्ड चार लाख १८ हजार २८५ क्युसेक, शनिबार राति १२ः०० बजे प्रतिसेकेन्ड पाँच लाख सात हजार ६९० क्युसेक तथा आज बिहान २ः०० बजे प्रतिसेकेन्ड ६ लाख ३२ हजार २८५ क्युसेक पानीको बहाव मापन गरिएको थियो ।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतबार