सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ असोज १३ गते आइतवारको राशिफल

आज २०८१ असोज १३ गते आइतवार, २९ सेप्टेम्बर २०२४ । आश्विन कृष्णपक्ष, द्वादशी तिथि, १७ः५० बजेपछि त्रयोदशी । अश्लेषा नक्षत्र, प्रातः ६ः१५ बजेपछि मघा । चन्द्रराशि कर्कट ६ः१५ बजेपछि सिंह ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

परिस्थितिवश चिताएको काम रोकिन सक्छ । कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । धैर्य एवं लगनशीलताले उपलब्धि दिलाउनेछ । व्यवसायमा फाइदा हुनेछ । सन्तानको साथले उत्साह जगाउनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ । मनोरञ्जनका लागि समय र धन खर्च हुन सक्छ । साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्छ । बेसुरमा आश्वासन दिने बानीले पनि दुःख पाइनेछ । तत्काल योजना सार्वजनिक नगर्नुहोला । आफन्त रिसाउने तथा काम बिग्रने डरले सताउनेछ । दीर्घकालीन योजनामा निर्णय लिन हतार नगर्नुहोला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

काममा केही बाधा आउनेछन् । प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन् । नयाँ योजना थाल्न उपयुक्त साइत पर्खनुहोला । व्यवसायमा सामान्य लाभ हुनेछ तर सोचेको दाम नउठ्न सक्छ । आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन् । प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला । आलस्य त्यागेर मिहिनेत गर्दा काम बन्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयास गर्नुहोला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्यामा परिनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आइपर्ने समस्याले दौडधुप गराउन सक्छ । घरखर्च बढ्नुका साथै अर्थ अभावले पनि सताउने सम्भावना छ । आफ्नाबाट टाढिनुपर्ने स्थिति आउन सक्छ । पेसा–व्यवसायमा होसियारीसाथ लेनदेन गर्नुहोला । समय लागे पनि गरेको काममा आंशिक लाभ हुनेछ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ला । आकस्मिक यात्रा हुन सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मिहिनेतले सजिलै काम बन्नेछ र आम्दानीले उत्साह जगाउनेछ । श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ । विभिन्न स्रोत–साधन जुट्नेछन् । थन्किएका वस्तुको उपयोग हुनेछ । तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । पुरानो समस्याले रकम खर्च गराउन सक्छ । व्यापारमा आंशिक फाइदा उठाउन सकिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

ढिलासुस्तीले काम रोकिन सक्छ । दोहोर्याएर प्रयास गर्दा सामान्य फाइदा उठाउन सकिन्छ । तर दाम भने हातलागी नहुन सक्छ । सहयोगीबाट गोपनीयता बाहिरिन सक्छ । मिहिनेतले कामका चुनौती पन्छाउन सकिनेछ । तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ । तर आफ्नैले काममा बाधा पुर्याउलान् । स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

परिबन्धले समस्या निम्त्याउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । मिहिनेतको नतिजा चित्तबुझ्दो नआए पनि चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ । गोप्य रहस्य पत्ता लाग्नेछ भने मिहिनेत गर्दा नसोचेको धन लाभ हुन सक्छ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम सम्पादन हुनेछन् ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

स्वास्थ्यका लागि आहार–विहारमा अलि सजग रहनुपर्नेछ । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । लगानी गर्ने काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । अनावश्यक अडान लिने बानीले पनि समस्या निम्त्याउनेछ । शुभचिन्तकको सुझावलाई ध्यान दिनुहोला । सावधानीले केही समस्या टर्नेछन् ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । घुमफिर तथा मनोरञ्जनको समय छ । तर आफ्नो नाम उपयोग गरी अरूले फाइदा उठाउन सक्छन् । पारिवारिक असमझदारीले काम रोक्नुपर्ने अवस्था पनि आउन सक्छ, भरसक वादविवाद नगर्नुहोला । खर्च लागे पनि सोख र भोगविलासका वस्तु जुटाउने समय छ । प्रयत्न गर्दा देश–विदेशको भ्रमण गर्ने साइत जुर्न सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ । ईर्ष्यालु प्रवृत्ति भएकाहरूले सताउन सक्छन् । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । विवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । बाहिरी स्रोत जुट्नाले दिन उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष गर्नेहरूले हार खानेछन् । मिहिनेतले उपलब्धि दिलाउनेछ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतवार ०७:१८

लोकप्रिय