सूचनाको शक्ति - The Power Of Information

        

सवारी दुर्घटना न्यूनीकरण

बाँकेमा पाँच हजार ११९ सवारीसाधन कारबाहीमा, आर्थिक क्षति कति ?

सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतना अभिवृद्धि लगायत कार्यक्रम दुर्घटना न्यूनीकरणमा प्रभावकारी बन्दै गएका छन् ।

बाँकेमा चालु आर्थिक बर्षको दुई महिनामा पाँच हजार ११९ सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार साउन महिनामा दुई हजार ७४२ र भदौ महिनामा दुई हजार ३७७ वटा सवारी साधन कारबाहीमा परेका छन् ।

कारबाहीमा परेका ती सवारीसाधनबाट यस अवधिमा ४० लाख ३१ हजार राजस्व संकलन भएको छ । यस अवधिमा ३०५ जना व्यक्ति मादक पदार्थ सेवन (मापसे)को कारबाहीमा परेका छन् भने दुई जना चालक अनिवार्य राख्नुपर्ने लामो दुरीमा चल्ने चार वटा सवारी साधन कारबाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार तीव्र गतिकै कारण धेरै सवारी दुर्घटना हुने गरेकोले सवारी दुर्घटनालाई न्यूनीकरण गर्न २७४ पटक सचेतना कक्षा सञ्चालन गरिएको बताए । उनका अनुसार दुई महिनाको अवधिमा ११ हजार ७६ जनालाई ट्राफिक नियम सम्बन्धी सचेतना कक्षामा सहभागी भएका छन् ।

‘चालकहरूमा अझै सचेतना कमी भएको देखिएकाले सचेतना कक्षासमेत सञ्चालन गरिरहेका छौं,’ प्रहरी निरीक्षक पन्तले भने । उनले चाडपर्वका समयमा क्षमताभन्दा बढी यात्रु राख्दा सवारी साधन अनियन्त्रित भई दुर्घटना हुने जोखिम रहने हुँदा क्षमताभन्दा बढी यात्रु नराख्न र सवारी साधनमा कोचिएर तथा झुण्डीएर यात्रा नगर्न आग्रह गरेका छन् ।

प्रहरी निरीक्षक पन्तका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतीमा हुइँकाउने, लेन मिच्ने, क्षमताभन्दा बढी यात्रु चढाउने, यात्रुसँग तोकिएभन्दा बढी भाडा असुल्ने, जथाभावी पार्किङ गर्ने, आवश्यक कागजात तथा सवारी चालक अनुमतिपत्र नभएका सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको छ ।

प्रहरी निरीक्षक पन्तका अनुसार ट्राफिक प्रहरीको सक्रियता, जनचेतनामूलक कार्यक्रम र नियमको कडाइका साथ पालना गराउँदा अघिल्लो वर्षकोभन्दा राम्रो प्रतिफल मिलेको हो । उनले यो सुधारलाई अझ प्रभावकारी बनाउन ट्राफिक प्रहरी कटिबद्ध रहेको र सर्वसाधारणको नियमको पालनागरी सहयोग गर्नुपर्ने बताए ।

प्रहरी निरीक्षक पन्तले विशेषगरी चालक परिचालकलाई कक्षा सञ्चालन र सडक प्रयोगकर्ता सर्वसाधारणलाई ट्राफिक सचेतना तथा सडक सुरक्षा कार्यक्रम व्यापक रुपमा गर्दै आएको बताए । यसले सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतना अभिवृद्धि लगायत कार्यक्रम दुर्घटना न्यूनीकरणमा प्रभावकारी बन्दै गएका छन् ।

दुई लाख ८१ हजार रुपैयाँको आर्थिक क्षति

बाँकेमा चालु आर्थिक बर्षमा सवारी दुर्घटनामा दुई लाख ८१ हजार रुपैयाँको आर्थिक क्षति भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको साउन महिनामा ८४ हजार भदौ महिनामा एक लाख ५२ हजार र असोज महिनाको हालसम्म ४५ हजार रुपैयाँ गरी दुई लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको हो ।

कार्यालयको तथ्यांक अनुसार यस अवधिमा बाँकेमा २६ वटा दुर्घटना भएका छन् । कार्यालयका अनुसार सबैभन्दा धेरै साउन महिनामा १७ वटा दुर्घटना भएका छन् भने भदौमा ८ वटा र असोजमा एउटा मात्रै दुर्घटना भएका छन् । यस अवधिमा सबैभन्दा धेरै १९ वटा मोटरसाइकलसहित ४१ वटा सवारी साधन दुर्घटनामा परेका छन् ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आवको हालसम्म सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । जसमा १३ जना पुरुष, एक जना महिला र एक जना बालिका छन् । यस अवधिमा १४ पुरुष, ६ महिला र २ जना बालक गरी २२ जना गम्भीर घाइते तथा १७ पुरुष, १५ महिला र ४ बालिका गरी ३६ जना सामान्य घाइते भएका छन् । सवारी दुर्घटनामा परी १५ चौपायाको मृत्यु भएको छ भने ६ चौपाया घाइते भएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार १०:४४

लोकप्रिय