सूचनाको शक्ति - The Power Of Information

        

कक्षा १ मा पढ्दै २१ नातिनातिनाकी हजुरआमा

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका गाउँकी ७८ वर्षीया धनकुमारी राईले स्थानीय सरस्वती माध्यमिक विद्यालयको कक्षा–१ मा अध्ययन गर्न थालेकी छन् । वाल्यकालमा विवाह भएपछि शिक्षाबाट वञ्चित उनी अहिले नातिनातिनीको उमेरका बालबालिकासँगै बसेर पढ्न थालेकी हुन् ।

पाँच छोराछोरीका गरी २१ जना नातिनातिनीका हजुरआमा धनकुमारी सोही माध्यमिक विद्यालयको बाल विकास केन्द्रमा अध्ययनरत नातिनी परिशा राईसँगै झोलामा किताब, कापीसहित शैक्षिक सामग्री बोकेर विद्यालय जाने गर्छिन् । मोबाइल फोन चलाएर सामाजिक सञ्जाल हेर्ने धोको पूरा गर्न विद्यालय भर्ना भई नियमित अध्ययन गर्न थालेको उनले बताइन् ।

‘सानै उमेरमा विवाह भएपछि विद्यालय जान पाइएन । अहिले पढ्ने धोको पूरा गर्न विद्यालय भर्ना भएकी छु,’ उनले भनिन्, ‘ढिलै भए पनि पढाइलाई दैनिकी बनाउँदा खुसी लागेको छ ।’ धनकुमारीसँगै पाथेका गाउँकी ५२ वर्षीया पुजन दर्जी पनि सोही विद्यालयमा कक्षा–१ मा भर्ना भएकी छन् । तीन सन्तानकी आमा उनले बाल विकास केन्द्रमा अध्ययनरत नातिनी स्नेहासँग विद्यालयमा जाने गर्छिन् ।

वाल्यकालमा पढ्ने चाहना भए पनि पूरा नभएपछि अहिले विद्यालय भर्ना भएको पुजनले बताइन् । ‘सानो हुँदा पढ्ने चाहना भए पनि बुबाआमाले दिनुभएन,’ उनले भनिन्, ‘नपढेपछि जिन्दगी अन्धकार हुँदो रहेछ । अहिले पढ्ने सपना पूरा गर्ने अवसर मिलेको छ । छोराछोरीले पनि साथ दिएका छन् ।’ वाल्यकालमा पढ्न नपाएपछि मोबाइल चलाउनदेखि सामाजिक सञ्जाल हेर्न पनि नसकेको पुजनले दुखेसो गरिन् ।

‘लेख्न, पढ्न जानियो भने मोबाइल चलाउन सकिन्छ भन्ने लागेको छ,’ उनले भनिन्, ‘छोरा विदेशमा छन् । उनीहरुसँग कुरा गर्न मन लाग्छ । पढेपछि यस्ता स–साना कामका लागि कसैलाई गुहार्नुपर्दैन ।’ हजुरआमा समानका धनकुमारी र पुजनले बुढेसकालमा उच्च मनोबलका साथ नियमिक विद्यालय आएर पढ्ने गरेका विद्यालयका प्रधानाध्यापक उत्रप्रसाद राईले बताए ।

‘उहाँहरु बुढेसकालमा पनि नियमित विद्यालय आएर अध्ययन गरिरहनुभएको छ,’ उनले भने, ‘यसले महिलाको साक्षरता वृद्धि हुने विश्वास लिएका छौँ ।’ धनकुमारी र पुजन नेपाली अक्षरदेखि अङ्ग्रेजीमा केही शब्द भन्न र लेख्न सक्ने भएको प्रअ राईले उल्लेख गरे । उनीहरुको पढाइप्रतिको इच्छाशक्तिले अरुलाई पनि हौसला दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हात्तीराम राईले बताए ।

विसं २०१७ मा स्थापना भएको उक्त विद्यालयमा अहिले ३३२ जना विद्यार्थी अध्ययनरत छन् । भौगोलिक रुपमा विकट र विद्यार्थीको सङ्ख्या पर्याप्त नभएकाले चन्दा सङ्कलन गरेर ११ को कक्षा सञ्चालन गरिएको सञ्चालक समितिका संयोजक धनप्रसाद गिरीले जानकारी दिए । कक्षा १२ सम्मको अनुमति पाएको विद्यालयमा शिक्षा, व्यवस्थापन र मानविकी सङ्कायको अध्यापन हुँदै आएको छ ।

स्रोत : रासस
प्रकाशित मिति : ६ आश्विन २०८१, आइतवार ०९:५६

लोकप्रिय