सूचनाको शक्ति - The Power Of Information

        

सहकारी ठगी प्रकरण

सहकारी ठगीको सम्पत्ति जोगाउन ‘नक्कली डिभोर्स’को नाटक

बचतकर्ताको रकम अपचलनपछि सम्पत्ति जोगाउने उद्देश्यले श्रीमतीसँग कागजी डिभोर्स गर्ने सहकारी सञ्चालकको संख्या उल्लेख्य छ ।

सहकारी ठगीबाट जोगिन श्रीमतीसँग ‘कागजी डिभोर्स’ गर्ने प्रवृत्ति देखिएको छ । सहकारीमा श्रीमतीलाई हालिमुहाली गर्ने अनि सर्वसाधारणले जम्मा गरेको रकम दुरुपयोग गरेर त्यसबाट उन्मुक्ति पाउनका लागि ‘नक्कली डिभोर्स’को नाटक रच्ने गरेको पाइएको छ । सहकारी सञ्चालकले बचतकर्ताबाट रकम असुलेर अन्धाधुन्ध लगानी गर्छन् ।

श्रीमती र आफन्तका नाममा विनाधितो ऋण प्रवाह गर्छन् । सम्पत्ति पनि उनीहरूकै नाममा पास गरिदिन्छन् । सहकारीमा समस्या आउन सक्ने अनुमान उनीहरूलाई पहिले नै हुन्छ । त्यसो हुँदा उनीहरू श्रीमतीसँग कागजी रूपमा डिभोर्स गर्छन् । बचतकर्ताको रकम अपचलनपछि सम्पत्ति जोगाउने उद्देश्यले श्रीमतीसँग कागजी डिभोर्स गर्ने सहकारी सञ्चालकको संख्या उल्लेख्य छ ।

धनराज गुरुङ, सुधीर बस्नेत, इच्छाराज तामाङ, जिबी राई, भरत महर्जन, केदारनाथ शर्मा, सुरेन्द्र भण्डारी, सीबी लामा, रवीन्द्र चौलागाईं यसका केही उदाहरण मात्रै हुन् । अपचलनबाट आर्जिन सम्पत्ति जोगाउन नक्कली डिभोर्स गरेबाटै उनीहरूको नियत स्पष्ट हुन्छ । महर्जन त नक्कली डिभोर्स गरेकी महिलासँग पुनः विवाह गरेको कागजपत्र बनाएर परिवारसहित बेलायत पलायन भएका छन् ।

कांग्रेस उपसभापति धनराज गुरुङले नक्कली डिभोर्स गरे पनि ‘वैवाहिक सम्बन्ध’ लाई निरन्तरता दिइरहेका छन् । लाखौँ बचतकर्ताको अर्बौँ रकम अपचलनमा मुछिएका समस्याग्रस्त ठूला सहकारीका सञ्चालकहरूले सम्पत्ति जोगाउन श्रीमतीसँग ‘कागजी डिभोर्स’ गरेको तथ्य बाहिरिएसँगै उनीहरूको कर्तुत छताछुल्ल भएको छ । समस्याग्रस्त सहकारीमाथि गरिएका छानबिनबाट उनीहरूको कर्तुत पुष्टि भएको छ ।

आर्थिक अपचलन मुद्दामा जुनसुकै वेला कानुनी फन्दामा पर्नेे भएपछि उनीहरूले योजनाबद्ध रूपमै कागजी डिभोर्स गरेका हुन् । सहकारी ठगी प्रकरणमा आरोप लागेपछि कांग्रेस उपसभापति गुरुङले श्रीमती ज्योति गुरुङसँग २०७६ सालमै सम्बन्धविच्छेद गरेको दाबी गरेका थिए । कारण खोज्दै जाँदा यसअघि पनि सहकारी अपचलनमा जोडिएका व्यक्तिहरूले श्रीमतीसँग नक्कली डिभोर्स गर्ने गरेको पाइएको छ ।

हिनामिनाको आरोप लागेका प्रायःले श्रीमतीसँग नक्कली डिभोर्स गरेका छन् । यसमाथि छानबिन गर्ने हो भने थप तथ्य खुल्ने देखिएको छ । विवाह र डिभोर्स व्यक्तिको स्वतन्त्रताको कुरा हो । विवाह गरेपछि सँगै रहने वा नरहने निर्णय गर्ने अधिकार दम्पत्तिमा रहन्छ । तर, सहकारी सञ्चालकहरूले डिभोर्सको पनि दुरुपयोग गरेका छन् । सहकारीमा बचत भएको रकम अपचलन गरेर विभिन्न संस्थामा लगानी गर्दै आर्थिक लाभ लिने र अपराध खुलासा भइ कारबाही हुने अवस्थामा श्रीमतीसँग डिभोर्स गर्ने गरेका छन् ।

अनियमितताबाट आर्जित सम्पत्ति जोगाउन श्रीमतीका नाममा पास गर्ने र डिभोर्स गर्ने गरेको देखिएको छ । गुरुङले अदालतमा पुगेर डिभोर्स गरेको एक वर्षपछि सहकारीबाट कर्जा लिँदा हकवाला श्रीमती ज्योतिलाई बनाएको विवरण सार्वजनिक भएको छ । उनले २०७६ फागुन २९ मा श्रीमती ज्योतिसँग डिभोर्स सम्बन्धविच्छेद गरेको दाबी गर्दै आएका छन् । तर, २०७७ फागुन ३ गते उनै ज्योतीलाई हकवाला राखेर मितेरी सहकारीबाटै १२ लाख ऋण लिएका छन् ।

उक्त सहकारीमा ज्योति महाप्रबन्धक रहेका बेलामा १४ करोड ८१ लाख रकम दुरुपयोग गरेको र त्यसमा धनराजको पनि संलग्नता रहेको आरोप लागेको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति एवं एमाले नेता ऋषिकेश पोखरेल र उनकी श्रीमती अञ्जला कोइराला मुछिएको घटनाले अर्को तथ्य उजागर गरेको छ । सभापति पोखरेल श्रीमतीलाई अघि सारेर खोलेको सहकारीबाट रकम अपचलन गरेको आरोपमा मुछिएका छन् ।

सहकारीबाट कर्जा लिएका ऋणीका कागजपत्र बैंक तथा वित्तीय संस्थामा राखेर करिब ११ करोड हिनामिना गरेपछि पोखरेल पत्नी अञ्जला कोइरालासहित सञ्चालक कालोसूचीमा परेका छन् । मोरङको उमागौरी कृषि सहकारी संस्थाको सञ्चालक रहेकी कोइराला सहकारीमा संकट आउन थालेपछि बाहिरिएकी थिइन् । आर्थिक अपराधमा श्रीमतीलाई प्रयोग गर्ने सहकारी सञ्चालकको प्रवृत्ति निन्दनीय छ ।

वैवाहिक सम्बन्धको प्रतिबद्धतालाई सहकारी ठगी छोप्ने औजार बनाउँदा महिलाहरू थप पीडित बनेका छन् । अपजस लिने ठाउँमा महिलालाई अघि सार्ने प्रवृत्ति चिन्ताको विषय बनेको छ । ओरियन्टल को–अपरेटिभका अध्यक्ष सुधीर बस्नेतले ०६९ भदौअघिसम्म महँगो ब्याज दिने प्रलोभनमा चार हजार २५९ बचतकर्ताबाट तीन अर्ब १९ करोड ५० लाख २२ हजार ८६२ रुपैयाँ उठाएका थिए ।

सोही रकमबाट हाउजिङ निर्माण गरेका उनले त्यही हाउजिङ देखाएर बैंकबाट ऋण लिए । जब कारोबारमा समस्या आउन थाल्यो, तब सहकारीको सम्पत्ति श्रीमती नितु बस्नेतको नाममा पास गरे । लगत्तै अदालत पुगेर नितुसँग डिभोर्स पनि गरे । कागजी रूपमा सम्बन्ध तोडे पनि व्यवहारमा उनीहरू सँगसँगै रहे । सुधीरले बचतकर्ताको रकम अझै फिर्ता गरेका छैनन् ।

सिभिल सहकारीका अध्यक्ष तथा एमालेका पूर्वसांसद इच्छाराज तामाङले करिब दुई हजार बचतकर्ताबाट पाँच अर्ब ५९ करोड रुपैयाँ उठाएर श्रीमती सिर्जना शाक्य, छोरीहरू प्रतीक्षा र प्रतिष्ठा तामाङको नाममा घरजग्गा पास गरे । विभिन्न कम्पनीमा सेयर खरिद गरे । बाँकी रकम विभिन्न कम्पनीको नाममा निकासा गरे । सहकारीमा समस्या आउने सुइँको पाएपछि इच्छाराज र सिर्जना अदालत पुगेर डिभोर्स गरे ।

सुमेरू सहकारीका अध्यक्ष भरत महर्जनले सहकारीको रकम अपचलन गरेर श्रीमती राजमायाको नाममा धापाखेलमा दुई रोपनी दुई आना दुई पैसा जग्गा खरिद गरिदिए । छोरा सचिन र छोरी सरलाका नाममा टौदहस्थित सुमेरू रिसोर्टको जग्गा नाम सारी गरिदिए । सहकारीमा समस्या आउने संकेत पाएपछि अदालत पुगेर श्रीमतीसँग डिभोर्स गरे । अहिले बेलायत बस्दै आएका भारत र राजमायाले पुनः विवाह गरेर गएका थिए ।

पुनः विवाह गरेर नाता प्रमाणित गरी राहदानी बनाएर उनीहरू बेलायत उडेका थिए । शिव शिखर बहुउद्देश्यीय सहकारीका अध्यक्ष केदारनाथ शर्माले पनि श्रीमती गीता शर्मासँग कागजी डिभोर्स गरे । केदारनाथले ३२ हजार ६१२ बचतकर्ताबाट नौ अर्ब ४९ करोड २२ हजार ८९६ रुपैयाँ उठाएका थिए । उनले श्रीमती गीताको नाममा शिखर अर्गनाइजेसन लगायत कम्पनी खडा गरी सहकारीको रकम सोही कम्पनीको नाममा निकासा गरेका थिए ।

उक्त कम्पनीमार्फत विभिन्न क्षेत्रमा ठूलो लगानी गरेका थिए । सहकारीमा समस्या आउन थालेपछि उनीहरूले डिभोर्स गरे । केदारनाथ र गीता दुवै अहिले पुर्पक्षका लागि थुनामा छन् । देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंले बचतकर्ताबाट उठाएको रकम हिनामिना गर्ने उद्देश्यले श्रीमतीसँग कागजी डिभोर्स गरेका छन् ।

२० हजार बचतकर्ताबाट तीन अर्बभन्दा धेरै उठाएका उनले आफू र श्रीमती पूजा खत्रीको नाममा ६५ स्थानमा १०३ रोपनी जग्गा जोडेको सिआइबीको अनुसन्धानमा खुलेको छ । श्रीमतीदेखि जेठानसम्मको नाममा जग्गा जोडेका उनले सहकारीमा समस्या आउन थालेपछि श्रीमती पूजासँग कागजी डिभोर्स गरेका थिए । दुवैजना अहिले पुर्पक्षका लागि जेलमा छन् । कांग्रेस नेता सिबी लामाले पनि सहकारी ठगीबाट जोडेको सम्पत्ति जोगाउन श्रीमती जुनी श्रेष्ठसँग कागजी डिभोर्स गरेका छन् ।

गत १८ जेठमा चितवनबाट पक्राउ परेका सिबी कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी र पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेभिट दुवैमा समानान्तर रूपमा २१ वर्ष अनवरत अध्यक्ष बने । दुवै सहकारीबाट उनले एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ अपचलन गरे । सहकारीकै अर्का एक साझेदारको मृत्यु भएपछि उनले ती साझेदारकी श्रीमतीसँग पनि विवाह गरे । थुनामा पर्नुअघि उनी दुवै श्रीमतीसँग बस्दै आएका थिए ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलवार १४:५४

लोकप्रिय