सूचनाको शक्ति - The Power Of Information

        

सहकारी प्रकरणमा रवि लामिछाने दोषी ठहर

सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले प्रतिवेदन तयार पारेको छ । तीन महिनाअघि संसद्बाट गठन भएको समितिले झन्डै ७०० पृष्ठको प्रतिवेदन लेखन कार्य सकेर उक्त प्रतिवेदन आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको हो ।

समितिले प्रतिवेदन तयार पार्न कार्यक्षेत्र (टीओआर)मा उल्लेख गरिएका २९ सहकारीका पदाधिकारीसहित सम्बन्धित निकायसँग छलफल र स्थलगत अध्ययन समेत गरेको थियो । समितिले पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पनि बयान लिएको थियो ।

सहकारीमार्फत आएको पैसा गोरखा मिडिया नेटवर्कमार्फत अपचलन गरेको भन्दै समितिले लामिछानेलाई दोषी ठहर गरेको छ । समितिको बैठकले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई कारबाहीका लागि सिफारिस गरेको समितिका एक सदस्यले जानकारी दिए । सहकारीको रकम गीतेन्द्रबाबु राई (जीबी)ले गोर्खा मिडियामा ल्याउँदा लामिछाने प्रबन्ध निर्देशक थिए ।

त्यहाँ आएको पुँजी परिचालनमा उनको भूमिका देखिएकाले कारबाहीका लागि सिफरिस गरिएको हो । छानबिन समितिले पाएको कार्यादेशमा गोर्खा मिडिया प्रालीलाई जोड दिएर अध्ययन गर्न भनिएको थियो । प्रहरी महानिरीक्षक वसन्त कुँवरले पनि गोर्खा मिडिया नेटवर्कबाटै रविलाई दोषी प्रमाणित गर्न सकिने सुझाव दिएका थिए ।

गत जेठ १५ गते एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा गठित सात सदस्यीय संसदीय छानबिन विशेष समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र सुरुमा बद्री पाण्डे र पछि उनको स्थानमा दिलेन्द्रप्रसामद बडु, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान सदस्य छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार ०८:५४

लोकप्रिय