दाङ तुल्सीपुर उपमहानगरपालिका–११ का ४३ वर्षका रुपलाल चौधरी शनिबार दिउँसो नेपाल फर्किने तयारीमा थिए । साढे चार वर्षपछि घर फर्कन लागेका उनी परिवारसँग भेट्न पाउने कुराले उत्साहित थिए ।
दिउँसो करिब २ बजे क्वालालाम्पुरको एयरपोर्ट पुगेपछि घरमा पत्नीलाई भिडियो कल गरे । आफू फर्कन लागेको भन्दै एयरपोर्टका दृश्यहरु देखाए । उनले दिदी, भिनाजु र आफन्तलाई पनि फोन गरे । मलेसियामै रहेका भाइ लोकमणिसँग पनि भिडियो कुराकानी गरे ।
मलेसियाबाट नेपाल फर्किने जहाजको त्यस दिन नेपाली समय अनुसार ३ बजेको फ्लाइट थियो । उनी बोर्डिङ पास लिएर र लगेजहरु पठाएर फ्लाइटको प्रतीक्षामा थिए । ‘फ्ल्याइटको केहीबेर अघिसम्म छोरा र भाइसँग कुरा भइरहेको रहेछ,’ रुपलालका भतिज घनश्याम थारुले भने, ‘कुराकानी हुँदा हुँदै काका (रुपालाल)को म्यासेज आउन छोड्यो ।’
सुरुमा परिवारले फ्लाइटको समय भएकाले रिप्लाई नआएको होला भन्ने अनुमान गरे । तर त्यसपछि केही खबर आएन । नेपाल फर्किने बेलासम्म पनि खबर नआएपछि परिवारका सदस्य आत्तिए । उनको मोबाइलमा फोन गरिरहे, तर उठेन । लामो समयसम्म फोन गरिरहेपछि मलेसियाली नागरिकले फोन उठाएर केही भने, तर कसैले बुझेन ।
रुपलालका छोरा विपिनले मलेसियामा नै रहेका काका लोकमणिलाई बुझ्न लगाए । लोकमणिले बुझ्दा रुपलालको एयरपोर्टमै मृत्यु भएको खुल्यो । भाइ लोकमणिले घरमा पठाएको खबर अनुसार जहाज पर्खिरहेका बेला रुपलाल अचानक ढलेका थिए । उनको एयरपोर्टमै मृत्यु भइसकेको थियो । उनको पोर्टमार्टम हुन भने बाँकी छ ।
भजित घनश्याम थारुका अनुसार साढे चार वर्षपछि घर फर्कन लागेका रुपलाल अब मलेसिया नफर्किने तयारीमा थिए । घर फर्केर उनले परिवारसँग समय बिताउन चाहेका थिए । पहिलो पटक मलेसिया गएका उनी परिवारसँग छुट्टिएर बस्दाको नियास्रो मेटाउन चाहन्थे । चाडबाडको मुखमा घर फर्कन लागेका रुपलालको मृत्युको खबरले परिवार शोकमा छ ।
आइतबारमात्र मृत्युको खबर पाएकी उनकी पत्नी मनबुझौनी चौधरी विक्षिप्त छिन् । ‘चाडबाडकै मुखमा, त्यो पनि घर फर्कने बेला यस्तो खबर आयो’, भतिज घनश्याम भन्छन्, ‘मृत्युको खबरले परिवार आँशुमा डुबेको छ । गाउँ नै शोकमा छ ।’ सरकारी तथ्याङ्क अनुसार प्रत्येक वर्ष वैदेशिक रोजगारीमा पुगेका झण्डै एक हजार नेपालीले ज्यान गुमाउने गर्छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । दाङ