सूचनाको शक्ति - The Power Of Information

        

यातायात व्यवस्था विभाग

‘स्मार्ट’ नबनेको ‘स्मार्ट लाइसेन्स’ सक्कली कि नक्कली जाँच्नै समस्या

‘स्मार्ट लाइसेन्स’मा लेखिएको विवरण त प्रहरीले पढ्छ तर सक्कली हो कि नक्कली पहिचान गर्ने विशेष यन्त्र सडकमा खटिने ट्राफिक प्रहरीसँग छैन ।

सरकारले जारी गरेका ‘स्मार्ट लाइसेन्स’को चेकजाँच ट्राफिक प्रहरीबाट हुन्छ तर ती सक्कली वा नक्कली हुन् भन्ने थाहा पाउने प्रविधि नै प्रहरीसँग छैन । ट्राफिक प्रहरीले आँखाले हेरेर लाइसेन्स जाँच गरिरहेको छ । लेखिएको विवरण त प्रहरीले पढ्छ तर सक्कली हो कि नक्कली पहिचान गर्ने विशेष यन्त्र सडकमा खटिने ट्राफिक प्रहरीसँग छैन ।

यातायात व्यवस्था विभागले हालसम्म झन्डै ४० लाख स्मार्ट लाइसेन्स वितरण गरेको छ । प्रविधिका हिसाबले नक्कली बनाउन नमिल्ने गरी सुरक्षित दाबी गरिए पनि कर्मचारीको मिलेमतोमा नै नक्कली लाइसेन्स वितरण भएका छन् । सामान्य चेकजाँचले ती पत्ता लागेका होइनन्, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को विशेष अनुसन्धानबाट मात्र पत्ता लागेको हो । स्मार्ट लाइसेन्समा चिप्स राखिएको हुन्छ ।

उक्त चिप्समा लाइसेन्सवाहकको विवरण हुन्छ तर हालसम्म उक्त चिप्स पढ्ने (रिड गर्ने) मेसिन उपलब्ध नहुँदा २०७२ सालदेखि वितरण भएका स्मार्ट लाइसेन्सको सक्कली नक्कलीको विशेष चेकजाँच छैन । विभागका महानिर्देशक उद्धव रिजालले भने, ‘सुरुमा कसरी यसको योजना गरियो थाहै भएन, अब अहिले विश्वासको भरमा चलेको छ चिप्स रिड गर्ने मेसिन नै छैन । वैज्ञानिक तरिकाले चेकजाँच हुन सकेको छैन । चिप्स पढ्न छुट्टै डिभाइस चाहिन्छ ।’

चेकजाँचमा खटिएका प्रहरीले नक्कली वा सक्कली शङ्का लागेमा थप अनुसन्धान त गर्न सक्छ तर सडकमै पहिचान गर्न भने सक्दैन । लाइसेन्समा लेखिएको विवरण मात्र चेकजाँच गर्ने गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता विश्वराज खड्काले बताए । उनले भने, ‘स्मार्ट लाइसेन्सको चिप्स पढ्न सक्ने मेसिन हामीसँग छैन । म्यानुअल्ली चेकजाँच हुँदै आएको छ । नक्कली पनि ठ्याक्कै उस्तै भयो भने खुला आँखाले छुट्याउन सकिन्न । शङ्का लाग्यो भने क्रस चेकजाँच गर्ने छुट्टै कुरा हो ।’

उक्त समस्या सम्बोधनका लागि अब क्युआर कोड राखेर स्मार्ट लाइसेन्स छाप्ने निर्णय भएको छ । गत साउन ३२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको प्रदेशका मन्त्रीहरूसँगको बैठकमा केन्द्रीय तथ्याङ्क (सेन्ट्रल डाटाबेस) यातायात व्यवस्था विभागमा रहने गरी देशभर एउटै मापदण्ड र स्पेसिफिकेसन अनुसार प्रदेशले क्युआर कोडसहित लाइसेन्स छपाइका लागि तत्काल खरिद प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो तर सबै प्रदेश त्यसका लागि तयार नै छैनन् ।

लाइसेन्स छपाइ ठप्प

सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने मेसिन बिग्रिएपछि २३ दिनदेखि छपाइ कार्य बन्द छ । मेसिनले कार्ड चिन्ने ‘पर्सनलाइजेसन’ प्रणाली र सफ्टवेयरमा समस्या भएपछि नियमिततर्फको छपाइ बन्द भएको हो । जेठमा नयाँ कार्ड ल्याएपछि ‘पर्सनलाइजेसन’ मा समस्या देखिएको थियो । नयाँ कार्ड आएपछि छपाइ बन्द भएको यो दोस्रो पटक हो ।

यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले भने, ‘सुरुमा तीन लाखप्रति छपाइ भएपछि अहिले पर्सनलाइजेसनमा प्राविधिक समस्याका कारण छपाइ बन्द छ ।’ विभागले जर्मनबाट कार्ड र भारतको मद्रास सेक्युरिटी प्रेसबाट छपाइ मेसिन ल्याएको थियो । मेसिनले कार्ड रिड (चिन्न) नसक्ने समस्या पटक पटक दोहोरिएको छ ।

समस्या समाधानका बारेमा विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भने, ‘मेसिन आफैँमा थोत्रो छ । अहिले सफ्टवेयरमा समस्या आएको हो, यो प्राविधिक समस्या हो तर लाइसेन्स छाप्नेदेखिका सबै काम प्रदेश सरकारको हो । प्रदेश सरकारबाटै काम अघि बढाउने निर्णय भई तयारी पनि भएका छन् ।’ विभागले नियमित छपाइ बन्द भए पनि अत्यावश्यक लाइसेन्स छपिरहेको छ । नयाँ कार्ड मेसिनले चिन्न नसकेपछि पुराना मौजुदा कार्डबाट अत्यावश्यक छपाइ भएको हो ।

स्रोत : गोरखापत्र
प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलवार ११:१७

लोकप्रिय