सूचनाको शक्ति - The Power Of Information

        

सरकारले नदेखेको पीडा

२३ वर्षदेखि बगरको मालपोत तिर्दै डुडुवाबासी

नदीले दिएको पीडामाथि स्थानीय सरकारले थप पीडा थपेको छ । नदीको बहाव जमिनमा नभए पनि बालुवामात्र भएकोले कुनै बालीनाली लगाउन मिल्दैन ।

नदीले कटान गरेर डुडुवा गाउँपालिका–१, होलियाका बलिराम लोनियाको जमिन बगर बनायो । ०४६ सालसम्म नदीले लगातार जमिन कटान गरेर सखाप बनाएपछि उनी सुकुम्वासी बने । ‘जमिन छैन भन्ने हो भने लालपुर्जा छ । तर, जमिनले दिनेभन्दा लिने मात्र गरिरहेको छ,’ उनले भने । नदीका कारण दुख पाइरहेका उनलाई स्थानीय सरकारले पीडा थपिदिएको छ ।

उनले प्रतिकठ्ठा रु.पाँचका दरले जमिनको मालपोत तिर्दै आएकाा छन् । ‘जनप्रतिनिधि आउनुभन्दा पहिले प्रतिकट्ठा रु.एक थियो । आम्दान नै नहुने जमिनको मालपोत बढेर प्रतिकट्ठा रु.पाँच पुगेको छ,’ लोनियाले भने, ‘नदीले दिएको पीडामाथि स्थानीय सरकारले थप पीडा थपेको छ ।’ ०४६ सालदेखि उनले जमिनबाट कुनै लाभ लिन सकेका छैनन् ।

नदीको बहाव जमिनमा नभए पनि बालुवामात्र भएकोले कुनै बालीनाली लगाउन मिल्दैन । अहिले उनको जमिन भएको ठाउँमा खरले भरिएको छ । तैपनि उनलाई कर (मालपोत) तिर्नुैपर्ने बाध्यता छ । नदीले जमिन कटान गरेदेखि उनलाई जीविका चलाउनै मुस्किल छ । डुडुवा गाउँपालिका–१, होलियाका राजकुमार शुक्लाको तीन बिघा जमिन नदीले बगर बनाएको छ । उनको १० कट्ठा जमिन मात्र बाँकी छ ।

उनले २३ वर्षदेखि तीन बिघा जमिनमा कुनै बाली लगाउन पाएका छैनन् । प्रतिबिघा रु.१०० का दरले वार्षिक रु.२०० जमिनको कर बुझाउँदै आएको उनले बताए । ‘आम्दानी शुन्य छ, जमिनको रु.३०० कर तिर्नुपरेको छ,’ शुक्लाले भने । डुडुवा गाउँपालिकाको राप्ती तटिय क्षेत्रका बासिन्दाहरु बर्षौदेखि राप्ती नदीले कटान गरेर बगर बनेको जमिनको मालपोत तिर्न बाध्य छन् ।

डुडुवा, राप्तीसेनारी र नरैनापुर गाउँपालिकाका स्थानीयहरु २३ वर्षदेखि बगरको पनि मालपोत तिर्न बाध्य भएका हुन् । राप्ती नदी आसपासका स्थानीय दोहोरो मारमा परेका छन् । खेतीयोग्य जमिन बगरमा परिणत भएपछि डुडुवा गाउँपालिका–१, पिप्रहवाका रामखेलावन खटिकको तीन बिघा जमिनमा कत्ति पनि अन्न फल्दैन । तैपनि, उनी वार्षिक प्रतिकठ्ठा रु.पाँचका दरले मालपोत तिर्न बाध्य छन् । जनप्रतिनिधि आएपछि राहत मिल्ने आशामा बसेका उनी निराश बने ।

जनप्रतिनिधि आउनुअघि पाँच वर्षसम्म सरकारले मिनाहा गरेको मालपोत स्थानीय सरकारले लिन थालेको छ । त्यो पनि तीन गुणा बढी भएको राप्तीपीडितको गुनासो छ । ‘धेरै दबाब दिएर मालपोत मिनाहा भएको थियो । जनप्रतिनिधि आउनेबित्तिकै लिन सुरु भयो । त्यो पनि तीन गुणा धेरै छ,’ खटिकले भने । उनीहरूले कुनै आम्दानी गर्न नसके पनि खेतीयोग्य भूमिसरह बगरको मातपोत तिर्न बाध्य भएको स्थानीयहरुको गुनासो छ ।

नदीले खेतीयोग्य जमिन बगरमा परिणत भएपछि राप्ती नदी आसपासका बासिन्दालाई खान, लगाउन समस्या भएको छ । कुनैबेला जमिनको मालिक भएर बसेका किसान अहिले भारतीय चामलमा निर्भर हुनुपरेको छ । डुडुवा गाउँपालिका–२, उत्तरवाणीका राधेश्याम चमारले जमिन बगर भएपछि मजदुरी गरेर खानुपर्ने अवस्था सिर्जना भएको बताउँदै मालपोत तिर्नुपर्दा झनै समस्या भएको बताए ।

‘साँझ–बिहानको छाकका लागि मजदुरी नगरी सुख छैन,’ चमारले भने, ‘मालपोत तिर्नु नपर्ने भएको भए केही राहत मिल्ने थियो ।’ डुडुवा गाउँपालिका–२, कैरातीपूर्वाका रामफेरन भुजुवालाई पनि मालपोत तिर्न मुस्किल परेको छ । प्रतिकठ्ठा रु.पाँच मालपोत लिने स्थानीय सरकारले व्यवस्था गरेपछि समस्या परेको उनले बताए ।

‘स्थानीय सरकारले पीडामा मल्हम लगाउला भनेको मालपोत बढाएर झनै पीडा थप्यो,’ भुजुवाले भने, ‘नदीमा भएको जमिनको मालपोत मिनाहा राहत मिल्ने थियो ।’ सर्वसाधारणले माग गरेअनुसार नदीले कटान गरेको जमिनको मालपोत मिनाहा गर्न सक्ने अवस्था नरहेको डुडुवा गाउँपालिकाका प्रमुख नरेन्द्रकुमार चौधरीले बताए । कसको जमिन कति बगरमा परिणत भएको छ भन्ने यकिन भइनसकेकोले मिनाहा गर्न सक्ने अवस्था नरहेको उनको भनाई छ ।
सरकारले साविक होलिया गाविसका नदीपीडितलाई मालपोत मिनाहा गरेको भए पनि अहिले स्थानीय सरकारले लिन थालेको अध्यक्ष चौधरीले बताए । ‘कति जमिन खेती गर्न नमिल्ने छ भन्ने यकिन विवरण आएको भए केही सोच्न सकिन्थ्यो । अहिलेलाई मिनाहा गर्ने कुनै योजना छैन,’ गाउँपालिकाका अध्यक्ष चौधरीले भने । राप्ती नदीले राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकामा असर पुर्याउँदै आएको छ ।

अहिलेसम्म नदीले खेतीयोग्य जमिन कटान र पटान गर्न छोडेको छैन । अहिलेसम्म हजारौँ बिघा जमिन बगरमा परिणत भएको भनिए पनि कुनै निकायसँग आधिकारिक तथ्यांक पनि छैन । त्यहाँका स्थानीयले बगरमा परिणत भएको जमिन नाप, नक्सा बनाउन माग गरेका छन् । भारतले निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले नदी तटीय क्षेत्रको जमिनमा क्षति पुगेको लक्ष्मणपुर बाँधपीडित संघर्ष समितिका सचिव राजकुमार शुक्लाले बताए ।

उनले सयौँ बिघा जमिन बगर भए पनि यकिन तथ्यांक नभएको बताए । ‘दश हजार बिघा जमिन नदीले बगाएको हुन सक्ने हाम्रो अनुमान छ,’ उनले भने । नाप, नक्सा भएको भए आ–आफ्नो जमिनको सम्भार गर्न र मिल्ने ठाउँमा खेती गर्न सकिने सचिव शुक्लाले बताए । ‘कसको जमिन कहाँ पर्छ भन्ने नै थाहा छैन । नाप, नक्सा भएको भए खेती गर्न सजिलो हुन्थ्यो,’ उनले भने । उनले नाप, नक्साका लागि स्थानीय तहले पहल गरिदिनुपर्ने पनि बताए ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार १६:३४

लोकप्रिय