नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामै ७३ प्रतिशत मात्र राजश्व असुली गर्न सफल भएको छ । विगत तीन आर्थिक वर्षदेखि लगातार वार्षिक लक्ष्य हासिल गर्न नसकेको सो कार्यालयले चालु आर्थिक वर्षको २०८१–०८२ को पहिलो महिना साउनमा पनि निर्धारित लक्ष्य प्राप्त गर्न सकेन ।
साउन महिनामा लक्ष्यभन्दा २३ प्रतिशत कम राजश्व सङ्कलन भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताए । उनले चालु आर्थिक वर्ष २०८१–०८२ को साउन महिनाका लागि कुल दुई अर्ब चार करोड १४ लाख ६६ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा एक अर्ब ५० करोड ३८ लाख ३४ हजार रुपैयाँ असुली भएको बताए ।
सो असुली लक्ष्यको ७३.६७ प्रतिशत मात्रै हो । राजश्व सङ्कलनको लक्ष्य नै बढी निर्धारण गरिँदा गत केही वर्षदेखि लक्ष्य अनुसार असुली हुन नसकेको प्रमुख भन्सार अधिकृत विश्वकर्माको भनाइ छ । गत आर्थिक वर्षमा लक्ष्य हासिल नभएपछि नेपालगन्ज भन्सार कार्यालयको लक्ष्य चालु आर्थिक वर्ष २०८१–८२ का लागि एक अर्ब घटाइएको छ । तर अहिलेको लक्ष्य पनि धेरै बढी राखिएको भन्सारका कर्मचारीहरू बताउँछन् ।
गत आर्थिक वर्ष २०८०–८१ मा १८ अर्ब १५ करोड ७२ लाख ३९ हजार भन्सार राजश्व असुली भएको अवस्थामा चालु आर्थिक वर्षका लागि २७ अर्ब बढी लक्ष्य तोकिनु नै तर्कसङ्गत नभएको उनीहरूको भनाइ छ । विगतको असुली मूल्याङ्कन नगरी आगामी वर्षका लागि लक्ष्य निर्धारण गर्दा गत केही वर्षदेखि राजश्व असुलीले लक्ष्य भेटाउन नसकेको देखिएको छ ।
आर्थिक वर्ष २०७९–८० मा २९ अर्ब ३२ करोड बढी लक्ष्य निर्धारण गरिएको सो भन्सार कार्यालयले लक्ष्यको ६२.०५ प्रतिशत अर्थात् १८ अर्ब १९ करोड बढी मात्रै राजश्व सङ्कलन गर्न सफल भएको थियो । यस्तै आर्थिक वर्ष २०७८–०७९ मा २५ अर्ब २१ करोड बढी लक्ष्य निर्धारण भएकोमा ८८.५३ प्रतिशत अर्थात् २२ अर्ब ३१ करोड बढी राजश्व असुली भएको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके