सुदूरपश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो गौरा । गौरा पर्व विशेष गरेर डोटी राज्य र कुमाउँ गढवाल राज्यमा परापूर्वकालदेखि नै मनाउँदै आइएको पर्व हो । गौरा पर्व भाद्र कृष्ण पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरा पर्वको पहिलो दिन गौरा पर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ’बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् ।
गौरा पर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ । बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपमार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ ।
गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा झोडो, फाग, देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरा पर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।
सुदूरपश्चिमेलीहरूले धुमधामका साथ मनाउने गौरा पर्व भाद्र कृष्ण पञ्चमीदेखि सुरु हुने गर्दछ । गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ । यो पर्व सुदूरपश्चिममा एक ठूलो पर्वको रूपमा मनाइन्छ । साथै यस पर्वमा सरकारले देशभर गौरा पर्व मनाउने समुदायलाई सार्वजनिक विदा दिने गर्दछ ।
प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नु परेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको किम्वदन्ति रहिआएको छ ।
यो पर्वमा झोडो, फाग (गौरी देवीको गाथा) देउडा र धमारी गाउने र खेल्ने गरिन्छ । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख, सुख बाँड्नुका साथै माया, प्रेम बाँड्ने गरिन्छ । पञ्चमीदेखि सुरु भएको गौरा पर्व अष्टमीको दिन झनै विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिन नै मुख्य हो । यसै दिनलाई नेपालमा गौरा पर्वको रुपमा लिने गरिन्छ । गौरा पर्वलाई पञ्चमीदेखि अष्टमीसम्म चार दिन मनाउने गरिएको छ ।
गौरा पर्व विशेष गरेर महिलाले मनाउने पर्व हो । तर, आजभोलि पुरुषहरुको पनि उत्तिकै सहभागीता पाइन्छ । यो पर्वमा गौरा (पार्वती) र महादेव (शिव) को पूजा गर्ने गरिन्छ । गौरा पर्वमा गौरा–महादेवको पूजा गर्नाले मनोकामना पूरा हुनुका साथै जीवनमा आनन्द प्राप्त हुने गरेको आस्था रहिआएको छ ।
गौरा पर्वमा गहुँ, केराउ, गहत, मास र गुराँस मिसाएर तामाका भाँडामा भिजाइने पञ्च अन्नको समिश्रणलाई बिरुडा भन्ने गरिन्छ । महिलाहरूले गौरा पर्व सुरु भएको दोस्रो दिन पानीको मुहान र पँधेरामा शुभ मुहुर्तमा सामूहिक रूपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ । पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक कथन अनुसार यस पर्वमा विशेषगरी गौरी अर्थात् पार्वतीको पूजाअर्चना गरिन्छ ।
सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजा–अर्चना गरी महिलाहरूले दुबधागो चढाउने गर्छन् । अष्टमीका दिन त्यही दुबधागो अभिषेक गरेर घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको छ । सुदूरपश्चिममा महिलाले लगाउने दुबधागोको र पुरुषले लगाउने जनैको जस्तै महत्त्व रहेको छ । पञ्चमीदेखि सुरु हुने गौरा पर्वको पहिलो दिन बिरुडा (गहुँ, गहत, गुराँस, सानो केराउ, मास) भिजाउने चलन छ । बिरुडालाई पञ्चाखिरी शिवमन्त्रको प्रतीक मानिने गरिन्छ ।
बिरुडा भिजाएर सुरु हुने पर्वको दोस्रो अर्थात् षष्ठीका दिन गेडागुडीलाई नजिकैको नदी, पोखरी वा धारामा धुने गरिन्छ । सप्तमीका दिन महिलाहरु खेतमा गएर धान, बलु, कुस, दुबो, साउँ, पाती, कुर्जो, तिल र अपमार्ग गरी नौ प्रकारका बिरुवाहरुलाई गौराको रुपमा भित्र्याउने चलन छ । आयुर्वेदको दृष्टिकोणले महत्वपूर्ण यी बिरुवालाई नवदूर्गाको प्रतीकको रुपमा लिने गरिएको छ । यसैलाई गौरा भन्ने गरिन्छ । व्रतालु महिलाले डालोमा राखेर झोडो, फाग गीत गाउँदै गौरालाई नचाउने चलन छ ।
उनीहरुले सप्तमीका दिन गौरालाई गौरा घरमा भित्र्याई पूजापाठ गर्ने गर्दछन् । विधि विधानअनुसार अष्टमीका दिन गौरा सेलाएर देउडा खेल्ने चलन छ । गौरा चार दिनसम्म मनाइए पनि रमाउनका लागि केहि दिन लम्ब्याएर पनि देउडा खेल्ने गरिन्छ । गौरालाई महिलाहरुले गौरी–महादेवको विवाहोत्सवको रुपमा पनि मान्ने गरेको जानकारहरुको धारणा छ । गौरा सेलाएको अष्टमीको दिनदेखि समुदायमा देउडा खेल्ने चलन रहेकाले यो पर्वको सामाजिक महत्व पनि उत्तिकै रहेको छ ।
यो पर्वले आपसी सम्बन्धलाई बलियो बनाउने गरेको छ । कुनै भेदभाव बिना नै यस क्षेत्रका बासिन्दाहरु देउडा खेल्दै रमाउने गरेका छन् । महिला र पुरुषको छुट्टाछुट्टै गोलो घेरा बनाएर देउडा खेलिन्छ । देउडामा फाग, चैत, धमारी गाउने चलन रहे पनि अचेल समसामायिक विषयवस्तुमा आधारित व्यंग्यात्मक गीत गाएर रमाइलो गर्ने चलन पनि छ । युवा पुस्ताले माया प्रेममा आधारित गीत गाएर पनि देउडा खेल्ने गर्दछन् । (यो आलेख इतिहासकार, विभिन्न डोटेली आलेख र पुस्तकहरुबाट तयार पारिएको हो ।)
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सिद्ध सिंह सामन्त । सुदूरपश्चिम