नेपाल विद्युत् प्राधिकरणले भारतीय बजारमा थप २५१ मेगावाट बिजुली बिक्रीको अनुमति पाएको छ । यसअघि ६९० मेगावाट बिजुली बिक्री गरिरहेको प्राधिकरणले थप २५१ मेगावाट बिक्री गर्ने बाटो खुलेको होे । योसँगै प्राधिकरणले भारतीय बजारमा ९४१ मेगावाट बिजुली बिक्री गर्न गर्न पाउनेछ ।
भारतले दिएको अनुमतिमा थप १० प्रतिशत बिजुली निर्यात गर्न मिल्छ । जसअनुसार प्राधिकरणले भारतीय बजारमा १०३५ मेगावाटसम्म बिजुली भारतीय बजारमा बिक्री गर्न सक्नेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बिहारमा मध्यकालीन सम्झौतामार्फत १२५.०४४ मेगावाट १० आयोजना र हरियाणामा १२५.१९ मेगावाटका दुई आयोजनाको बिजुली बिक्रीको अनुमति पाएको छ ।
१२ आयोजनाको गरी २५१ मेगावाट बिजुली बिक्रीको अनुमति पाएको हो । स्वीकृत प्राप्त आयोजनाको बिजुली चाँडोभन्दा चाँडो बिक्री गर्ने व्यवस्था मिलाउने घिसिङले जानकारी दिए । बिहारतर्फ कटैया, रक्सौल र रामनगरमा रहेको १३२ केभीको प्रसारण लाइनबाट बिजुली पठाउने प्राधिकरणको तयारी गरेको छ । यस्तै, हरियाणामा ढल्केबर–मुजफ्पुर ४०० केभी प्रसारण लाइनमार्फत पठाउने घिसिङले जानकारी दिए ।
‘भारतको बिहारमा १२५.०४४ मेगावाट र हरियाणमा १२५.१९ मेगावाट बिजुली निर्यातको अनुमति पाएको छौँ,’ घिसिङले भने, ‘मध्यकालीन सम्झौतामार्फत बिहारसँग र हरियाणासँग खुद पाँच रुपैयाँ ४५ पैसा भारतीय रुपैयाँ पाउने गरी सम्झौता भएको हो । बिहारसँग तीन वर्ष र हरियाणासँग पाँच वर्ष बिजुली बिक्रीको अनुमति पाएको हो ।’ प्राधिकरणले हरियाणामा यसअघि १०९ मेगावाट विद्युत् बिक्री गरिरहेको छ ।
नेपालमा खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् हरेक वर्ष जुनदेखि अक्टोबरसम्म बिहार र हरियाणालाई बिक्री गरिने छ । योसँगै मध्यकालीन सम्झौता बमोजिम भारतका राज्यस्तरका वितरण कम्पनीहरूलाई बिक्री गरिने विद्युतको परिमाण ३६० मेगावाट पुगेको छ । आगामी अक्टोबरसम्म बिक्री गरिने विद्युत्को बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा (५.४५ भारु) रहेको छ । गत वर्ष हरियाणलाई बिक्रीका लागि स्वीकृति दिएको १०९ मेगावाटको प्रतियुनिट दर आठ रुपैयाँ ४० पैसा (५.२५ भारु) छ ।
यसमा भारतर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिन लगायतका सम्पूर्ण कर तथा शुल्कहरू प्राधिकरणले व्यहोर्नुपर्ने छैन । अल्पकालीन सम्झौताका लागि प्रत्येक वर्ष भारतको अनुमति चाहिने हुन्छ भने मध्यकालीन सम्झौता दिएको समयसम्म निर्वाध रूपमा निर्यात गर्न पाइन्छ । प्राधिकरणले वर्षाका बेला स्वदेशी आयोजनाहरूसँग चार रुपैयाँ ८० पैसामा बिजुली किन्ने गरेको छ । भारतीय मध्यकालीन सम्झौतामा आठ रुपैयाँ ७२ पैसा (५.४५ भारतीय रुपैयाँ) पाउनेगरी सम्झौता भएको हो ।
पछिल्लो पटक प्राधिकरणले ११.६४ मेगावाटको दोर्दी– १, १४.४५३ मेगावाटको मायाखोला, ९.९९१ मेगावाटको डाउन पिलुवा, १०.६७ मेगावाटका तल्लो खारे, ११.६४ मेगावाटको माथिल्लो खिम्ती, ६.८ मेगावाटको माथिल्लो खिम्ती–२, १४.४ मेगावाटको मोदी, १४.६ मेगावाटको गण्डक, १९.२१ मेगावाटको माथिल्लो सोलु र ११.६४ मेगावाटको दूधकुण्ड जलविद्युत् आयोजनाबाट उत्पादित १२५ मेगावाट विद्युत् बिहारमा निर्यातको अनुमति पाएको छ ।
यस्तै, हरियाणमा लिखु–१ र लिखु–२ आयोजनाको बिजुली बिक्री गर्नेछ । लिखु–१ आयोजनाको ७७ मेगावाट क्षमताको रहेको छ भने लिखु–२ ५५ मेगावाट क्षमताको रहेको छ । प्राधिकरणले पहिलोपटक २०७८ कात्तिकमा ३९ मेगावाट बिजुली बिक्रीको अनुमति पाएको थियो । उक्त अनुमतिपछि वर्षायाममा निरन्तर बिजुली बिक्री गर्दै आएको छ । गत आर्थिक वर्षमा बिजुली नै बेचेर खुद निर्यातकर्ता बनिसकेको छ ।
गत आर्थिक वर्षमा एक अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी प्राधिकरणले १७ अर्ब सात करोड रुपैयाँ आम्दानी गरेको कार्यकारी निर्देशक घिसिङ बताउँछन् । ‘हामीले गत आर्थिक वर्षमा १७ अर्ब सात करोड रुपैयाँको बिजुली बेच्यौँ,’ उनी भन्छन्, ‘यस वर्ष निर्यातको परिमाण बढेको छ । जसअनुसार करिब २५ अर्बको हाराहारीमा बिजुली बिक्री होला ।’ बिजुली बिक्रीको तीन वर्षअघि ३९ मेगावाट सुरु भएको भारत बिजुली निर्यात २४ गुणाले बढाएर ९४१ मेगावाट पुगेको छ ।
२०८० जेठमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने निर्णय गरेको थियो । सम्झौताको पहिलो वर्ष करिब एक हजार मेगावाट निर्यात अनुमति प्रदान गरेको छ । प्राधिकरणले भारतीय बजारमा बिजुली बिक्रीको अनुमति पाएपछि नाफा समेत बढाउँदै लगेको छ । प्राधिकरणकै तथ्यांक हेर्दा पनि भारतीय बजारमा बिजुली बिक्रीपछि नाफा निरन्तर बढ्दै गएको देखिन्छ ।
हाल प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड, रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम पनि विद्युत् निर्यात भइरहेको छ । विद्युत् निर्यात परिमाण हरेक वर्ष बढिरहेको छ । निर्यातको मात्रा बढ्दै गएको छ । गत आर्थिक वर्षमा एक अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरेको थियो । यस्तै, गत आर्थिक वर्षमा सुक्खायाममा नदी सतहमा पानीको बहाव घट्दा गत वर्ष एक अर्ब ९१ करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात भएको थियो ।
प्राधिकरणको आयात–निर्यात ‘ग्राफ’ हेर्दा गत आर्थिक वर्षमा आयातभन्दा करिब १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात भएको छ । प्राधिकरणले गत वर्ष विद्युत् बिक्री बाटै १३ अर्ब ३१ करोड रुपैयाँ नाफा गरेको थियो । नाफा बढ्नुमा विद्युत् निर्यातबाहेक खर्च कटौती र चुहावाट नियन्त्रण प्रमुख रहेको छ । प्राधिकरणले गत आर्थिक वर्षमा प्रणालीको चुहावट करिब १२.७३ प्रतिशतमा झरेको छ । चुहावट नियन्त्रणबाट मात्र प्राधिकरणले यस अवधिमा प्रतिवर्ष करिब १२ अर्ब रुपैयाँ थप आम्दानी गरेको थियो ।
प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका विद्युत् आयोजनाहरू गरी कुल जडित क्षमता तीन हजार १५७ मेगावाट पुगेको छ भने विगत आठ वर्षमा मात्र दुई हजार ३०० मेगावाट र विगत तीन वर्षमा एक हजार ७०६ मेगावाट थप भएको छ । जडित क्षमतामा सबैभन्दा बढी करिब ९५ प्रतिशत अर्थात् दुई हजार ९९१ मेगावाट योगदान जलविद्युत्कै छ । थर्मल ऊर्जा ५३ मेगावाट, सौर्य ऊर्जा १०७ मेगावाट र वायोमास ऊर्जाको ६ मेगावाटको योगदान छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं