भारतबाट पेट्रोल र डिजेलजस्तै एलपीजी अर्थात् खाने पकाउने ग्यास आयात गर्ने नेपालले तयारी थालेको छ । पाँच वर्षअघि पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा ल्याएका नेपाल र भारतले ग्यास ढुवानीका निम्ति पनि त्यस्तै खालको अर्को पाइपलाइन बनाउने छलफल अघि बढाएको छ ।
भारतबाट नेपालमा ग्यास आयातका लागि बनाइने पाइपलाइनबारे प्रारम्भिक अध्ययन समेत दुई देशले गरेको छ । वाणिज्यमन्त्री दामोदर भण्डारी गत साता बिम्स्टेकको व्यापार सम्मेलनमा सहभागी हुन भारत पुगेका थिए । त्यस क्रममा भण्डारीले भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीपसिंह पुरीसँग दिल्लीमा भेटवार्ता गरेका थिए ।
भेटमा आपूर्तिमन्त्री भण्डारी र भारतका ग्यासमन्त्रीबीचको भेटवार्तामा पनि त्यस विषयमा थप छलफल भएको छ । ग्यास पाइपलाइन बनाउने नेपालको प्रस्तावलाई भारतीय मन्त्रीले सकारात्मक रूपमा लिएका छन् । नेपाल आयल निगमका अधिकारीहरूले पाइपलाइनमार्फत् ग्यास ढुवानी गर्दा नेपालको अर्बौ खर्च जोगिने बताएका छन् ।
यद्यपि निगमका अधिकारीहरू अब द्विपक्षीय संयुक्त संयन्त्रहरूका बैठकमा उक्त विषयले प्रवेश पाउनेमा ढुक्क देखिएका छन् । ग्यास ढुवानीका लागि अहिले वार्षिक ६ अर्ब रुपैयाँ लगानी गरेको छ । उनीहरूका भनाइमा केही वर्ष पहिलेदेखि अघि बढाइएको योजना भएकाले भारतीय पक्ष पनि यसमा निकै सकारात्मक देखिएको छ ।
भेटमा भारतीय मन्त्री पुरीले भारतीय अनुदानमा सिलगुडी–झापा र अमलेखगञ्ज–चितवन पाइपलाइन बनाइदिनेबारे सकारात्मक जवाफ दिएको निगमका अधिकारीहरू बताउँछन् । अध्ययन प्रतिवेदन अनुसार भारतको बिहारस्थित मोतिहारीको भारतीय आयल निगम (आइओसी)को रिफाइनरी तथा भण्डारण केन्द्रबाट नेपालको सर्लाहीसम्म पाइपलाइन विस्तार गरिनेछ ।
आइओसीले उक्त स्थानमा हाल भण्डारण केन्द्र तथा रिफाइनरी बनाइरहेको छ । तर सर्लाहीमा नेपाल आयल निगमको कुनै भण्डारण केन्द्र तथा ‘बोटलिङ प्लान्ट’ छैन । यद्यपि निगमले त्यहाँ करिब १६ बिगाहा जग्गा किनेर राखेको छ र भण्डारण केन्द्र बनाउने योजना अघि सारेको छ । अन्तरदेशीय पाइपलाइनको कुल लम्बाइ १३०.९५३ किलोमिटर हुनेछ भने निर्माण सम्पन्न भएपछि त्यसको आयु २५ वर्षको हुनेछ ।
भारतको बिहार राज्यभित्र ३२.६५ किलोमिटर र नेपालको मधेश प्रदेशभित्र ९८.२९९ किलोमिटर पाइपलाइन बनाउनुपर्ने अध्ययनले देखाएको छ । दैनिक आठ घण्टा सञ्चालन गर्न मिल्ने प्रस्तावित पाइपलाइन ४५ किलोमिटर वन क्षेत्रमा पर्ने प्रक्षेपण गरिएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पाइपलाइन बनाउन कुल १५ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ ।
वाणिज्य मन्त्रालयका अधिकारीहरूले बताए अनुसार नेपालले भारतीय अनुदानमा नै त्यो पाइपलाइन निर्माण होस् भन्ने चाहेको छ तर भारतीय पक्षले हालसम्म त्यसबारे स्पष्ट जवाफ दिएको छैन । भारतबाट अहिले पनि नेपालमा ग्यास आयात गर्दा भारतीय ग्यास बुलेटहरूको प्रयोग हुने गरेको छ । नेपाली बुलेटहरूले सुरक्षा सम्बन्धी मापदण्डहरू पूरा गर्न नसकेको भन्दै भारतले ग्यास भण्डारण केन्द्रसम्म ती बुलेटहरूलाई लैजान नदिएपछि स्वदेशी बुलेटबाट आयात गर्नका लागि गरिएका केही प्रयासहरू असफल भएको छ ।
नेपालमा मासिक रूपमा ४५ देखि ५० हजार मेट्रिक टन ग्यास आयात हुने गर्छ । अहिले नेपालले काठमाडौबाट सबैभन्दा नजिकको केन्द्र बरौनीस्थित रिफाइनरीबाट ग्यास भरेर ल्याउँदै आएको छ । बरौनी काठमाडौबाट ६०० किलोमिटरको दूरीमा पर्छ । त्यसबाहेक कोलकाता नजिकैको हल्दिया र दिल्ली नजिकैको मथुरा तथा उडिसाको पाराद्वीपबाट पनि नेपालले ग्यास आयात गर्दै आएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं