सूचनाको शक्ति - The Power Of Information

        

बंगलादेशमा मुहम्मद युनुस अन्तरिम सरकार प्रमुख

बंगलादेशमा मुहम्मद युनुस अन्तरिम सरकार प्रमुख बनेका छन् । मंगलबार राष्ट्रपति मुहम्मद शाहबुद्दिनले युनुसलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरेका हुन् । आन्दोलनरत विद्यार्थीहरूको नेतृत्व गरिरहेका नहिद इस्लाम र सेना प्रमुखसहित मंगलबार राष्ट्रपति शाहबुद्दिनसँग बैठक गरेका थिए ।

आन्दोलनरत विद्यार्थीहरूको मागअनुसार नै राष्ट्रपति शाहबुद्दिनले ८४ वर्षीय युनुसलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरेको अमेरिकी समाचार संस्था द न्युयोर्क टाइम्सले जनाएको छ । युनुसले सन् २००६ को नोबल पुरस्कार पाएका थिए । उनले बंगलादेशमा माइक्रोफाइनान्सको अवधारणा सुरूवात गरेका थिए ।

न्युयोर्क टाइम्सका अनुसार गरिबहरूलाई पनि आर्थिक उन्नति गर्ने अवसर मिलोस् भन्ने हेतूले उनले सन् १९८३ मा ग्रामीण बैंकको स्थापना गरेका थिए । बैंकहरूले ऋण नपत्याउने गरिब नागरिकहरूले उनले स्थापना गरेको ग्रामीण बैंकबाट ऋण पाउँथे । सोही कार्यका लागि उनलाई नोबल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

उनी शेख हसिनाका कट्टर विरोधीसमेत मानिन्छन् । अब बंगलादेशमा उनकै नेतृत्वको अन्तरिम सरकारले विद्यार्थी आन्दोलनका मागहरू सम्बोधनका लागि काम गर्नेछ । अन्तरिम सरकारमा रहने अन्य सदस्यहरूको नाम केही दिनमा घोषणा हुने बताइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार ०९:४८

लोकप्रिय