२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday
बंगलादेशमा राजनीतिक शून्यता

‘प्रेसर कुकर’झैं पड्किएको प्रदर्शनले पल्टियो शक्तिशाली हसिनाको सत्ता

देशभरका विद्यार्थीको प्रदर्शनबाट सुरु भएको यो संकट प्रधानमन्त्री शेख हसिनाको राजनीतिक जीवनको सबैभन्दा मुस्किल चुनौती सावित भयो ।
सत्यपाटीसत्यपाटी । ढाका । २०८१ साउन २२ गते मंगलबार

हिंस्रक प्रदर्शनका बीच शेख हसिनाले बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नी बहिनीलाई लिएर देश छाडेकी छन् । उनी सन् २००९ देखि लगातार बंगलादेशको प्रधानमन्त्री थिइन् । हसिनाले पछिल्ला १६ वर्षमा बंगलादेशलाई गरिबीबाट बाहिर निकालेको केही मानिसहरूको जिकिर छ ।

केहीका लागि भने बंगलादेशले आज गरेको प्रगतिको मुख्य श्रेय हसिनालाई दिन्छन् । जानकारहरूका अनुसार बंगलादेशको यो प्रगति हसिनामा लगातार बढिरहेको तानाशाही शासनका बाबजुद भएको हो । यद्यपि उनको स्थिति अहिले जति कमजोर छ, त्यस्तो यसअघि कहिल्यै थिएन ।

विद्यार्थीहरुले गरेको प्रदर्शन, देशभरमा बढेको व्यापक असन्तोष र हिंसाका कारण हसिनाले देश छाड्नुपर्ने अवस्था निम्त्याउन पुगेको छ । बंगलादेशको सरकारले प्रदर्शनलाई रोक्ने प्रयास गर्यो । तर प्रदर्शनकारी पछि हट्न तयार थिएनन् । यही दबाबका कारण अन्ततः हसिनाले राजीनामा दिएर देश छाड्नुपर्यो ।

के विद्यार्थी आन्दोलनले ढालिदियो सरकार ?

शेख हसिनाले सोमबार प्रधानमन्त्री पदबाट राजीनामासमेत दिएर देश छाडिन् । ठूलो संख्यामा प्रदर्शनकारी उनको निवासमा छिरे । शान्त तर मजबूद मानिएको हसिना देशका संस्थापक राष्ट्रपतिको छोरी हुन् । उनले यसअघि धेरै पटक ज्यान मार्ने गरी भएका हमला र संकटलाई चिर्दै अघि बढेकी थिइन् । आफ्नो कार्यकालमा हसिना सरकार सीमा सुरक्षा बलको हिंस्रक विद्रोहबाट समेत बचेको थियो ।

त्यो बेला ५७ सैन्य अधिकारी मारिएका थिए । उनले तीन वटा विवादित आमचुनाव पनि जितेकी थिइन् । ती चुनावलाई अन्तर्राष्ट्रिय समुदायले पनि आलोचना गरेका थिए । मानव अधिकार उल्लंघनको आरोप र विपक्षी दलले पटकपटक गरेको व्यापक प्रदर्शनको पनि उनले सामना गरिसकेकी छन् । देशभरका विद्यार्थीको प्रदर्शनबाट सुरु भएको यो संकट उनको राजनीतिक जीवनको सबैभन्दा मुस्किल चुनौती सावित भयो ।

विद्यार्थीको प्रदर्शनमा विपक्षीको समेत समर्थन रह्यो । बंगलादेशको सर्वोच्च अदालतले विवादित कोटा व्यवस्थाको समाप्त गरेर विद्यार्थीको मुख्य माग सम्बोधन गरिदिएको थियो । तैपनि असन्तोष समाप्त भएन । यो आन्दोलनमा तीन सय भन्दा धेरै विद्यार्थीको मृत्यु भएको छ । जबकी गत साता सरकारविरुद्ध सुरु भएको आन्दोलनमा हिंसा भड्कियो र धेरै संख्यामा मानिसको मृत्यु भयो ।

‘प्रेसर कुकर’जस्तो हालत

ओस्लो युनिभर्सिटीसँग जोडिएका डा मुबसर हुसेनका अनुसार यो हालत एक दिनमा बनेको होइन । यो स्थिति प्रेसर कुकर विस्फोट भएजसरी विष्फोट भएको हो । हुसेनले एसियामा तानशाहमाथि गहन अध्ययन गरेका छन् । हुसेनले बीबीसी बंगलासँग भनेका छन्, ‘याद राख्नुस्, हामी यस्तो देशको कुरा गरिरहेका छौं । जुन देशको प्रेस स्वतन्त्रता सूचकांक रुस भन्दा पनि तल छ ।’

हुसेनले शेख हसिना र उनको पार्टी मुक्ति संग्रामले भावनाको अतिराजनीतिकरण गरेको बताए । ‘हरेक वर्ष नागरिकलाई मताधिकारको मुख्य मानव अधिकारबाट वञ्चित गर्यो । र उनको सरकारको तानाशाही प्रवृत्तिले समाजको एउटा ठूलो वर्गलाई आक्रोशित गर्यो । दुर्भाग्यवश उनी पूरै देशको प्रधानमन्त्री बन्न सकिनन् । उनी एउटा समूहको मात्रै प्रधानमन्त्री बन्न पुगिन् ।’ हुसेन पछिल्लो साता सुरु भएको आन्दोलनलगायतका घटनाक्रम अनौठो मान्दैनन् ।

विद्यार्थीको आन्दोलन

बंगलादेशमा विद्यार्थीले सरकारी जागिरमा मुक्ति संग्रामका सेनानीको परिवारका लागि छुट्टाइएको ३० प्रतिशत आरक्षण समाप्त गर्नुपर्ने माग राख्दै विरोध सुरु गरेका थिए । यो आरक्षण सन् १९७१ को स्वतन्त्र संग्रामका सेनानीका परिवारका लागि लागू गरिएको थियो । उच्च अदालतले यो विवादित कोटा व्यवस्थालाई कायम राख्ने फैसला गरेपछि विद्यार्थीको आन्दोलन तीव्र बनेको थियो ।

सत्ताधारी दलका कार्यकार्ताले प्रदर्शनकारी माथि हमला गरे । त्यसपछि आन्दोलन थप उग्र बनेको थियो । यद्यपि बंगलादेशको सर्वोच्च अदालतले यो कोटा व्यवस्थालाई करिब समाप्त गरिदिएको थियो । सरकारका महाधिवक्ताले सरकारले यो मुद्दा समाप्त गर्न चाहेको समाधन गर्न चाहेको संकेत गरेका थिए ।

स्रोत : बीबीसी
प्रकाशित मिति : २०८१ साउन २२ गते मंगलबार