सूचनाको शक्ति - The Power Of Information

        

डेंगुका बिरामी बढ्दै

जति धेरै वर्षा, उति धेरै डेंगुको जोखिम !

डेंगु नियन्त्रणका लागि मुख्य काम भनेको लामखुट्टेको बासस्थान खोजेर नष्ट गर्नु हो ।

देशभर साउने झरी कायम रहँदा डेंगुका बिरामी पनि बढ्दो क्रममा छन् । पानी परेर खाल्डाखुल्डीमा पानी जम्न थालेपछि डेंगु सार्ने लामखुट्टे पनि बढेका छन् । र, डेंगु संक्रमण पनि जोखिमको तहमा छ । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको २९ जुलाईको तथ्यांक अनुसार यस वर्ष नेपालका ७७ मध्ये ७३ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको छ ।

जनवरीदेखि २९ जुलाईसम्मको तथ्यांक केलाउँदा नेपालभर २ हजार ६१ जना डेंगुबाट संक्रमित छन् । यस वर्ष जनवरीमा २४५, फेब्रुअरीमा १८३, मार्चमा २०९, अप्रिलमा २२५, मेमा २६५, जुनमा ३५९ र २९ जुलाईसम्ममा ५७४ जना संक्रमण देखिएको छ । डेंगु फैलिएका ७३ मध्ये १० जिल्लामा यसको संक्रमण दर उच्च छ । यस वर्ष संख्यात्मक रूपमा सबैभन्दा बढी डेंगु संक्रमित काठमाडौंमा भेटिएका छन्, जहाँ जनवरीदेखि २९ जुलाईसम्म २४९ जनामा संक्रमण पुष्टि भएको छ ।

दोस्रो, झापामा १३० जना डेंगुबाट संक्रमित भइसकेका छन् । यस्तै, तेस्रोमा चितवन १०५, चौथोमा तनहुँ ८७, पाँचौं मकवानपुर ७८, छैटौंमा कास्की ७४, सातौंमा भोजपुर ६२, आठौंमा काभ्रेपलाञ्चोकमा ६०, नवौं ओखलढुंगा ८९ र र दशौंमा धनकुटामा ५८ जनामा डेंगु पुष्टि भएको छ । प्रादेशिक हिसाबमा वागमतीमा ६६६, कोशीमा ५००, गण्डकीमा ३७३, सुदूरपश्चिममा २०९, लुम्बिनीमा २२०, मधेशमा ४३ र कर्णालीमा ३० जनामा संक्रमण पुष्टि भएको छ ।

सोही महाशाखाले १९ जुलाईमा सार्वजनिक गरेको तथ्यांकमा ७३ जिल्लामा डेंगुबाट संक्रमण हुनेदर १ हजार ६५७ थियो । १० दिनको फरकमा यो संख्या ४०४ ले बढेको हो । यस तथ्यांकले नेपालमा क्रमशः डेंगुका बिरामी बढ्दै गएको देखाउँछ । तथापि, सन् २०२२ र २०२३ को तुलनामा सन् २०२४ मा डेंगु संक्रमणको अवस्था भयावह छैन । गत वर्ष सन् २०२३ का जनवरीदेखि डिसेम्बरसम्ममा ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको थियो । र, ५१ हजार २४३ जना संक्रमित भएका थिए ।

डेंगुकै कारण त्यस वर्ष २० जनाले ज्यान गुमाएका थिए । सन् २०२२ मा त झन् अहिलेसम्मकै सबैभन्दा बढी व्यक्ति डेंगुबाट संक्रमित भए । त्यस वर्ष ५४ हजार ७८४ जना डेंगु संक्रमित हुँदा ८८ जनाले ज्यान गुमाउनुपर्यो । गत वर्ष जनवरीदेखि जुलाईसम्ममा ६ हजार ४५९ जना डेंगुबाट संक्रमित भएका थिए । गत वर्षको तुलनामा यस वर्ष ४ हजार ३९८ कम संक्रमित पाइएका छन् । सोही कारण यस वर्ष डेंगु संक्रमणले भयावह रूप नपाउने आकलन विज्ञहरूको छ ।

तथापि, सन् २०२२ मा अगस्ट पछाडि डेंगु संक्रमित ह्वात्तै बढेकाले यस वर्ष के हुन्छ भनेर अनुमान लगाउन कठिन छ । जस्तो, उक्त वर्ष जनवरीदेखि जुलाईसम्ममा डेंगु संक्रमित संख्या ७२० जना मात्रै थियो । तर, अगस्टमा उक्त संख्या ह्वात्तै बढेर ३ हजार ७०८ पुग्यो । त्यसपछि सेप्टेम्बरमा २७ हजार ५२९ र अक्टोबरमा १७ हजार ८८९ का दरले नयाँ संक्रमित बढेका थिए । त्यसकारण यस वर्ष पनि सन् २०२२ जस्तै जुलाईपछि डेंगुको संक्रमण बढ्न सक्ने जोखिम रहेको विज्ञहरू बताउँछन् ।

सरदरभन्दा बढी वर्षा हुँदा डेंगुको जोखिम

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिका लामखुट्टेले अण्डा पार्छन् । ती अण्डाबाट लार्भा निस्कन्छ । र, त्यही लार्भा बयस्क भएर टोकेपछि डेंगु रोग लाग्छ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ । बढी वर्षा हुनु लामखुट्टेका लागि अनुकुल मानिन्छ । पानी पर्ने दर लामो समय लम्बिने हो भने बस्ती वरपरमा खाल्डाखुल्डीहरूमा पानी पनि लामो समय जमिरहन्छ ।

र, त्यही जमेको पानीमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिका लामखुट्टेले अण्डा पार्छन् । र, तिनै लामखुट्टेले टोकेर डेंगु सार्ने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । अघिल्ला दुई वर्षजस्तै यस वर्ष पनि डेंगुले महामारीको रूप लिन्छ भनेर अहिले नै भन्न नसकिने विज्ञहरूको भनाइ छ । यस वर्ष पनि सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान रहेकाले डेंगुको जोखिम सिर्जना हुन सक्ने आँकलन गर्न सकिने डा. पुन बताउँछन् ।

सन् २०२२ र ०२३ मा लगातार दुई वर्ष डेंगुले महामारीको रूप लिएको थियो । त्यसकारण पहिलेको विश्लेषण मान्ने हो भने २–३ वर्षमा डेंगुले अलि कडै खालको माहोल सिर्जना गर्दो रहेछ भन्ने देखिइसकेको छ । किनकि, सन् २०२२ भन्दा उता पनि डेंगु संक्रमण नभएको होइन । तर, २०२० र २०२१ को तुलनामा २०१९ मा त्यसले महामारीकै रूप धारण गरेको थियो । डा. पुनका अनुसार अहिले टेकु अस्पतालमा डेंगु संक्रमित धेरै बिरामी आउने गरेका छैनन् ।

लक्षण देखिएपछि दैनिक ५–१० जना बिरामी मात्र उपचारका लागि आउँछन् । तर, अहिले अस्पताल आउने क्रम ह्वात्तै नबढे पनि एकैचोटी बढ्ने चिन्ता रहेको उनी बताउँछन् । भन्छन्, ‘यस वर्ष पानी भर्खरै परेर खाल्डाखुल्डीमा जम्न थालेको छ । लामखुट्टेको जीवनचक्र झण्डै एक साताको हुन्छ । पहिले संक्रमित हुनुप¥यो, अनि संक्रमितले अन्यलाई सार्दै जान समय लाग्ने भएकाले पनि जुलाईसम्ममा खासै डेंगु संक्रमित बढेका छैनन् ।’

यस वर्ष साउनसम्ममा डेंगु संक्रमण दर करिब २ हजार नाघिसकेको छ । साउन समाप्त हुन अझै १५ दिन बाँकी छ । सोही कारण अहिल्यै संक्रमण दर नबढ्ने अनुमान लगाएर ढुक्क हुने अवस्था नदेखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहाल बताउँछन् । डेंगुको जोखिम कात्तिकसम्मै रहन्छ । यस वर्ष बल्ल झरी पर्न थालेको छ ।

बढी जोखिम महिनाहरू भदौ, असोज र कात्तिक आउन बाँकी छँदा अहिले तत्कालको संक्रमण दरलाई हेरेर भोलिको अनुमान लगाउन नसकिने डा.दाहाल बताउँछन् । उनका अनुसार साउन डेंगु संक्रमित बढ्ने शुरुवाती महिना हो । बर्खाको समय र बर्खाभन्दा केही महिना पछाडिलाई पनि डेंगु जोखिम महिनाकै रूपमा लिइन्छ । त्यसपछि कति डेंगुका बिरामी देखिन्छन्, त्यसलाई धेरै कुराले प्रभाव पार्छ । पानी पर्ने ट्रेन्ड कस्तो हुन्छ, नागरिक कति सचेत छन्, लामखुट्टेको टोकाइबाट बच्न कतिको सावधानी अपनाउँछन् भन्ने विषय यसमा मुख्य रहने उनी बताउँछन् ।

भन्छन्, ‘तथ्यांकीय रूपमा डेंगु संक्रमणको दर अहिले र गत वर्षको यही समयलाई तुलना गर्दा यस वर्ष निकै कम छ । तर, आगामी महिनाहरूमा पनि संक्रमणदर कम नै हुन्छ भन्ने छैन ।’ दुई–चार दिन पानी पर्ने र फेरि नपर्ने क्रम चलिरह्यो भने त्यस्तो किसिमको पानीको प्याटर्नले डेंगु संक्रमणको दर पनि बढ्न सक्छ । विगतजस्तै यस वर्ष कुनै जिल्लामा धेरै संक्रमण देखिएको छैन । परार साल काठमाडौं र पोहोर धरानमा डेंगुले महामारीको रूप लिएको थियो । त्यो अवस्था अहिलेसम्म संक्रमित ७३ जिल्लामै देखिएको छैन ।

तर पनि, जोखिम कात्तिकसम्म रहने भएकाले सावधानी अपनाउनुको विकल्प नरहेको डा. दाहाल बताउँछन् । उनका अनुसार डेंगु नियन्त्रणका लागि मुख्य काम भनेको लामखुट्टेको बासस्थान खोजेर नष्ट गर्नु हो । लामखुट्टेको जीवन चक्रका निम्ति एक साताभन्दा बढी पानी जम्मा हुन दिनुहुँदैन । आफ्नो घर, टोलवरपर निगरानी गर्ने लगायत काम नै प्रमुख हुन् । त्यसका लागि सबैको भूमिका आवश्यक रहने उनी बताउँछन् । भन्छन्, ‘महाशाखाद्वारा डेंगु सार्ने लामखुट्टे सम्बन्धमा विभिन्न ठाउँमा सर्वेसमेत भएको छ । सोही सर्वेबमोजिम हामी रणनीति बनाएर अगाडि बढेका छौं ।’

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार ०६:४२

लोकप्रिय