सूचनाको शक्ति - The Power Of Information

        

समय-सन्दर्भ

सन्ततिका लागि असल आमाबुवा

स्वार्थको परिपाटीबाट माथि उठेर असल आमाबुवा बनौं । अधिकारलाई मध्यनजर गरेर बालबालिकालाई बाँच्न दिनुस् ।

आज म एउटा गहन भनौं वा निक्कै चर्चामा आएको विषयवस्तुमा केही लेख्ने जमर्को गर्दैछु । मेरो कुरा धेरैलाई मन नपर्ला, चित्त नबुझ्ला । तर, विश्वास गर्नुस् सत्य तितो हुन्छ र इतिहास साक्षी छ । कुनै पनि महान ब्यक्तिका कथन, कुरा, सोच सुरुआतमा अपाच्य र असहज लाग्छन् । ती कुराहरुलाई बुझ्न अति गाह्रो पचाउन झनै गाह्रो र आत्मसात गर्न अत्यन्तै कठीन हुन्छ । तसर्थ मैले बुझाउन खोजेको कुरा शान्त दिमागले सम्झिने प्रयास गर्नुहोला ।

अस्तित्व जोगाउनका निम्ति विकासको निम्ति बच्चा जन्माउनुपर्छ । कसैले रहरले जन्माउँछ त कसैले कारकापले । छोराछोरीको आफ्नो सोच, जीवन र बाँच्ने अधिकार हुन्छ । प्रत्येक बा आमाले यो कुरा बुझ्नुपर्छ । छोराछोरी सम्पत्ति होइनन्, जसले बुढेसकालमा साथ दिन, सेवा गर्न, आफ्ना इच्छा खुशी मारेर आमाबुबाका निम्ति समर्पित हुनैपर्छ । बुढेसकालका लागि जगेर्ना गरेका धन सम्पत्ति होइनन् छोराछोरी ।

मानिस हुन मानव हुन र इनका आफ्नै अधिकार हुन्छ, चाहना रहर हुन्छ बलजफ्ती गर्ने उनीहरुको इच्छाइएको जीवन बाँच्नमा रोकटोक लगाउने स्वार्थीपन मात्र हो । बाल अधिकार सम्बन्धी महासन्धि १९८९ लाई नेपालले सन् १९९० सेप्टेम्बर २ (२०४७ भदौ २० गते) अनुमोदन गर्यो । बाल अधिकारको कार्यन्वयन गर्न आफ्नो देश प्रतिबद्ध रहेको सन्देश विश्वलाई दिएको छ । समस्त मानवजातीका लागि मानव अधिकार बनाइएको छ ।

मानवको जीउधन, समानता र स्वतन्त्रताको संरक्षणका खातिर सर्वव्यापी रुपमा प्राप्त हुने अधिकारलाई मानव अधिकार भनिन्छ । यसरी आज नेपालका बाउ आमाले मेरा बच्चा बिदेशीए भनी आलापबिलाप गर्नु कुनै अधिकारको कुरा होइन । स्वेच्छाले जन्माउन त पाइयो, तर भ्रुणावस्थादेखि नै बालबालिकाको आफ्नो अधिकार हुन्छ । बाच्ने, स्याहारसुसार पाउने, शिक्षादीक्षा पाउने, बालबालिकाका लागि गरिने कार्य, नीति नियम आदीमा ती बालबालिकाको सरसल्लाह लिने अधिकार बालअधिकार अन्तरगत आउँछ ।

यसैगरि बालबालिका यौन हुँदा मानवअधिकार अन्तरगत आफ्नो जीवनको निर्णय आफैं गर्न सक्छन् । यसै पनि धर्मकर्म, संस्कारका कुराले के भन्छ भने आमाबुवा सर्वोपरि देवता हुन् । देवताले सन्तानको जीवन आफू खुशी आफ्नो स्वार्थ र आफ्नो लोभले गर्दा युवा छोराछोरीको समय, संसार, हाँसोखुशी, अमुल्य मानव जीवनलाई दासता जसरी राख्न मिल्छ, पुण्य काम हुन्छ र ? कुरो सोचनिय छ, बिचारनिय छ । हाम्रो नेपाली संस्कृति संस्कार हामीले बाल्यावस्था, किशोरावस्थासम्म सिकाउने, सम्झाउने गरिसकेका हुन्छौं ।

हामीले गर्ने कर्तव्य यतिमात्र हो । त्यसपछि ती युवायुवती कहाँ बस्ने, कोसँग बिहे गर्ने, कस्तो खाने, के कस्तो पहिरन लगाउने, कुन भगवान धर्म मान्ने यो सबै उनीहरुका इच्छा हुन् र यी कुराहरु मानवअधिकार अन्तर्गत पर्छन् । अब मेरो भनाइ के छ भने प्रेम निःस्वार्थ निस्छल हुनुपर्छ । कर्म गर्नुस्, तर आफ्ना बालबालिका वा सन्ततिलाई आफ्नो सम्पत्ति कदापी न ठान्नुस् । स्वार्थको परिपाटीबाट माथि उठेर असल आमाबुवा बनौं । अधिकारलाई मध्यनजर गरेर बालबालिकालाई बाँच्न दिनुस् ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलवार १६:४९

लोकप्रिय