सूचनाको शक्ति - The Power Of Information

        

वृद्ध बुवालाई छोराबुहारीले जंगलमा छाडिदिएपछि…

मोरङको बेलबारीमा आफ्नै छोराबुहारीले मध्यजंगलमा लगेर एक वृद्धलाई छाडिदिएको आरोप लागेको छ । ती वृद्धलाई वनकर्मीले उद्धार गरेको जनाएका छन् । बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट मंगलबार ७० वर्षीय जामुनलाल झांगडलाई चार दिनपछि उद्धार गरिएको हो ।

हेरालु टोलीले वनबाट उद्धार गरी अस्पताल भर्ना गराएका छन् । वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको बताए । उनले भने, ‘चार दिनअघि नै बीच जंगलमा लगेर छाडिदिएका रहेछन् । वन क्षेत्र निगरानीमा गएका साथीहरूले फेला पारी लिएर आउनु भएछ । मोटरसाइकलमा बसाएर बीच जंगलमा लगेर छाडिदिएका रहेछन् ।”

वृद्धको शरीरको भागमा चोट देखिएको र उनी धेरै बोल्न नसक्ने अवस्थामा रहेको बताए । बेलबारी नगरपालिका–७, डांगी टोलमा बस्दै आएका वृद्धका छोराबुहारीको खोजी भइरहेको वडाध्यक्ष सुनिता चौधरीले बताइन् । ‘के कसरी घटना भएको रहेछ भनी सोधीखोजी सुरु गरेका छौँ,’ उनले भनिन्, ‘अस्पतालमा उहाँ इन्तु न चिन्तु अवस्थामा हुनुहुन्छ । शरीर निकै कमजोर देखिन्छ ।’ वनका अध्यक्ष गिरीले घटनाबारे प्रहरीलाई जानकारी गराइएको बताए ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार ०८:०५

लोकप्रिय