सूचनाको शक्ति - The Power Of Information

        

एकल महिलालाई बालबच्चा हुर्काउनै समस्या

टीकापुर नगरपालिकाकी पार्वती सञ्यालका दुई बच्चा छन् । श्रीमान् निधनभएपछि उनले निकै कठिनाइ गरेर बालबच्चा स्याहारिरहेकी छन् । ज्यालादारी गरेर बालबच्चा हुकाइ, पढाइ रहेकी पार्वतीलाई छोराछोरीको भविष्यको निकै चिन्ता छ ।

‘छोरी अहिले १० कक्षामा पढ्छिन्, छोरीको धेरै पढ्ने इच्छा छ,’ उनले भनिन्, ‘मेरो कमाइ छैन । छोरीलाई शिक्षा दिन सक्दिन कि भन्ने पीरले सताउँछ । यस्तो बेला सरकारले हेरिदेओस् भन्ने चाहना छ ।’ टीकापुर–३ कटानपुरकी रामपति चौधरीले तीन नातिनातिना पालेर बसेकी छन् । रामपतिका छोरा कुलतमा फसेपछि बुहारीले अर्को विवाह गरेर गइन् ।

छोराबुहारीले नस्याहारेपछि एकल रहेकी रामपतिले सामाजिक सुरक्षा भत्ताले बच्चाको भोक मेटाइरहेकी छन् । ‘म आफू पनि एकल महिला, श्रीमान् बितेको धेरै भयो,’ उनी भनिन्, ‘छोरो कुलतमा फसेर मानसिक रूपमा पनि कमजोर छ । तीन बच्चा मेरै जिम्मेवारीमा छन् । मलाई यिनको पेट भर्नै समस्या छ । कसरी अरू आवश्यकता पूरा गरौँ ?’

टीकापुर–६ का जोगी परियारका पनि छोराबुहारी बेपत्ता छन् । ज्येष्ठ नागरिक जोगीका दम्पतीले नातिनातिना स्याहारी रहेका छन् । ‘भारत कमाउन गएको छोरो उतै हरायो, बुहारी पनि कता गइन् थाहा भएन,’ उनले भने, ‘हामी ८० वर्ष आसपासका बूढाबूढी सामाजिक सुरक्षा भत्ताले यी बच्चालाई लालनपालन गरिरहेका छौँ । साह्रै गाह्रो छ हामीलाई ।’

टीकापुर–६ नारायणपुरकी चिन्कीदेवी चौधरीका श्रीमान् बितेको ११ वर्ष भयो । उनका दुई छोरा छन् । दुवै छोरा बिरामी छन् । पहिलो बच्चालाई सिकलसेल एनेमियाको समस्या छ । दोस्रो बच्चालाई पनि नियमित रगत चढाउनुपर्छ । ‘सानो बच्चा एक वर्षको हुँदा श्रीमान् बित्नुभयो, त्यसपछि दुःखका दिन सुरु भए,’ उनले भनिन्, ।

चिन्कीदेवीका १४ वर्षिय छोरालाई सिकलसेल एनेमिया छ । उनी भन्छिन्, ‘उपचारमा आउजाउ गर्न, अस्पताल बस्न, बच्चालाई पोसिलो खुवाउन सकेको छैन ।’ चिन्कीदेवी स्थानीय सरकारले बस्ने घर बनाइदिनुपर्ने, अत्यावश्यक पर्ने सरसामान, बच्चाको उपचार र शिक्षामा सघाउनुपर्ने माग गर्छन् ।

‘कहिलेकाहीँ यस्तो सङ्घर्ष गर्न सक्दिनकी जस्तो लाग्छ, श्रीमान् बितेपछि एक वर्षको बच्चा छोडेर इँटाभट्टामा काम गरेर बच्चाको भोक मेटाए,’ उनले भने, ‘हरेक महिना बच्चा बिरामी हुन्छन् । नियमित काम गर्न पनि मिलेको छैन ।’ टीकापुर–५ की जानकी रेग्मी पनि एकल महिला हुन् । जग्गा जमिनसमेत नभएकी जानकीले दुई छोराछोरीलाई मजदुरी गरेरै पालिरहेकी छन् ।

‘सधैँ काम पाइँदैन, काम नपाएपछि घरमा अन्न हुँदैन,’ उनी भन्छिन्, ‘कहिलेकाहीँ बिरामी हुँदा काममा जान सकिँदैन, त्यो बेला घर चल्दैन । समस्या हुन्छ ।’ आइतबार यस्ता अभिभावक नभएका, एकल महिलाले पालिरहेका, विपन्न भएकै कारण विद्यालयमा समस्या रहेका बालबालिकालाई टीकापुर नगरपालिकाले शैक्षिक सामग्री सहयोग गरेको छ । विद्यार्थीलाई झोला, शैक्षिक सामग्री, दुई थान पोसाक वितरण गरिएको हो ।

वडास्तरीय बाल अधिकार समितिको सिफारिसमा २५ जना विपन्न बालबालिकालाई अध्ययनमा सघाउन सहयोग गरिएको बताइएको छ । बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले शैक्षिक सामग्रीले शैक्षिक क्रियाकलापमा सहयोग पुग्ने बताए । ‘विपन्नलाई धेरै राहत हुन्छ, कतिपय बालबालिका कापी, कलम र लत्ताकपडा नभएर पनि नियमित हुन सकेका हुँदैनन्,’ उनले भने, ‘त्यस्ता बालबालिका नियमित विद्यालय आउने अपेक्षा गरिएको छ ।’

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार १२:३३

लोकप्रिय