सिरहाका ४७ वर्षीय रामपृत सदा र ४३ वर्षीया बौकी कुमारी सदा पतिपत्नी हुन् । उनीहरु पूर्वकानूनमन्त्री तथा वहालवाला सांसद लीलानाथ श्रेष्ठको बिंडी कारखानामा काम गर्छन् । उनीहरुले त्यहाँ काम गर्न थालेको १२ वर्ष पूरा भएको छ । पूर्वमन्त्री श्रेष्ठको बिडी कारखानामा १२ वर्ष लगातार काम गर्ने यी दुई दलित मुसहर मजदुर दम्पत्तीको दैनिक ज्याला सुन्दा उदेक लाग्छ ।
रामपृतले दैनिक २५० ज्याला पाउँछन् र बौकी कुमारीले दैनिक २०० मात्र । बौकीको नामको नेपाली अर्थ ‘लाटी’ हुन्छ । बोली नफुटेकोले नाम नै बौकी (लाटी) राखिदिए । नागरिकता प्रमाणपत्रमा पनि सोही नाम उल्लेख छ । उनी बोल्छिन् तर उनको बोली बुझिँदैन । रामपृत सदा पनि कान कम सुन्छन् । बोली अडकिन्छ र लर्बरिन्छ । धेरै पटक सोध्दा एक दुई शब्द मात्र बोल्छन् । बौकीले बिंडी कारखानामा दैनिक सुर्ती कुट्ने र धूल्याउने काम गर्छिन् ।
घरको भाँडा माँझ्ने, सरसफाई गर्ने बगैंचा गोडमेल गर्ने काम पनि गर्छिन् । रामपृतले बिंडी कारखानाका मजदुरहरुलाई चाहिने दाउरा चिर्न बञ्चरो चलाउँछन् । सुर्ती कुटछन् । उनीहरु बिहान ८ बजेदेखि साँझ ६–७ बजेसम्म काम गर्छन् । कठोर श्रम गराइन्छ तर दुई ज्यामीले दिनभरी काम गरेको ज्याला जम्मा ४५० मात्र । रामपृत र बौकी त प्रतिनिधि पात्र मात्र हुन् । पूर्वमन्त्रीको ‘लीला बिंडी कारखाना’मा अझै पनि यस्ता दर्जनौ मजदुर छन् जसलाई अत्यन्त न्यून ज्यालामा कठोर श्रम गराउनले गरेको मजदुरहरुको गुनासो छ ।
सरकारले एक जनाको दैनिक ज्याला नै ६२० रुपैंयाँ तोकेको छ । सरकारी नियम अनुसार कारखानामा काम लगाएवापत रामपृत दम्पत्तिले दैनिक एक हजार २४० ज्याला पाउनुपर्ने हो । तर मात्र ४५० दिइन्छ । दलित मुसहर दम्पत्तिले पूर्वमन्त्रीको कारखानामा दैनिक ७९० रुपैयाँ शोषण खप्नुपरेको छ । यसरी शोषणमा परेका मजदुरहरु पूर्वमन्त्री श्रेष्ठको कारखानामा धेरै छन् ।
रजिया खातून (उनले नाम खुलाउन नचाहेकोले नाम परिवर्तन) लीला छाप बिंडी कारखानामा दिनभरी बिंडी बनाउँछिन् । दिनभरीमा ५०० थान बिंडी मठारेपछि ज्याला पाउँछिन् मात्र १०० रुपैयाँ । उनी भन्छिन्, ‘बोल्न मिल्दैन । बोलेको थाहा पाए भने रोजगारीबाट निकालिदिन्छन् । दिनको १०० रुपैयाँमा मजदुरी गरेको वर्षौ भयो । म जस्ता यहाँ सयौं मजदुर छन् जो दैनिक १०० रुपैंयाँमा काम गर्छन् ।
गोलबजार नगरपालिका–९ डण्डा टोलका श्यामसुन्दर महतो भन्छन्, ‘लीलानाथ श्रेष्ठको घरमा मेरी आमाले पनि आठ वर्ष काम गरिन् । १५० देखि २०० रुपैयाँ सय ज्याला दिइन्थ्यो । लीलानाथ श्रेष्ठ आफूलाई कम्युनिष्ट नेता भन्नुहुन्छ तर व्यवहारमा मजदुरलाई चर्को शोषण गर्नुहुन्छ । अहिलेको जमानामा खाना खुवाएर दैनिक ५००–६०० रुपैयाँ ज्याला दिनुपर्ने हो तर २०० रुपैयाँ ज्यालामा मजदुर खटाइरहेका छन् ।’
महतो भन्छन्, ‘लीलानाथ श्रेष्ठको पैत्रिक सम्पत्ति रामपृत र बौकी जस्ता हजारौं मुसहरको श्रम शोषण गरेर थुपारिएको हो । गणतन्त्रसहितको लोकतन्त्र आउँदासमेत दैनिक दुई सयमा बिंडी कारखानामा मजदुरी गराइन्छ । पञ्चायतकालमा के अवस्था थियो होला कल्पना गर्नुस् त ? उनले थपे, ‘सुर्तीको रागले हजारौं मजदुर फोक्सोका रोगी बनेका छन् ।’
पूर्वकानून मन्त्री श्रेष्ठको जग्गाको कित्ताको आडैमा मुसहर दम्पत्तिसँग सम्पत्तिको नाममा एउटा सानो कच्ची झुप्रो छ । दलित मुसहर दम्पत्तीको दुई छोरी छन् । उनीहरुले छोरी पढाउन सकेनन् । रामपृत भन्छन्, ‘दुई ज्यामी घोटिएर दैनिक ४५० कमाएको पैसाले खानै पुग्दैन । कसरी पढाउने ?’ रामपृतकी जेठी छोरी सीता सदालाई पनि श्रेष्ठले काठमाडौं पुर्याएर ६ महिनासम्म घरेलु कामदारको रुपमा प्रयोग गरेका थिए ।
सीता भन्छिन्, ‘त्यतिबेला उहाँको घरमा नानीनि जन्मिएकी थिइन । अनि मलाई घरको काम गर्न लगेका थिए,’ स्थानीय नेकपा माओवादीका नेता रामचन्द्र सिंह भन्छन्, ‘के गर्नु अन्यत्र काम पाइँदैन । लीलानाथ श्रेष्ठले यिनी निर्धा दलित मुसहर दम्पत्तिको मजवुरीको फाइदा उठाएका छन् । कम्युनिष्ट पार्टीमा लागेर मन्त्री भएको मान्छे तर लाजसरम नै छैन । दुनियाँले के भन्लान् भन्ने पनि छैन । २०० दैनिक ज्यालामा अझै मजदुरी गराउने ? योभन्दा चर्को शोषण के हुन्छ ? उनका पार्टीका केन्द्रीय नेताहरु आएर अनुगमन गरे हुन्थ्यो नी ।’
श्याम सुन्दर महतो भन्छन्, ‘सुर्तीजन्य पदार्थ स्वास्थ्यको लागि हानिकारक हुन्छ । माननीय श्रेष्ठको बिंडी कारखानामा सुर्ती कुट्ने काम गर्ने मजदुरहरुलाई सुरक्षाका लागि मास्क पनि दिइँदैन । त्यहाँ काम गर्ने मुसहर मजदुर ६० वर्ष नपुगी फोक्सो खराव भएर मर्छन् । हजारौं मुसहर मजदुरको रगत पसिना र चिहानमाथि लीलानाथ श्रेष्ठको सम्पत्तिको डंगुर लागेको छ ।’ सिराहा–३ बाट निर्वाचित श्रेष्ठ एमालेबाट कानुन न्याय तथा संसदीय मामिला व्यवस्था साथै संघीय मामिला मन्त्री भइसकेका छन् । श्रेष्ठले २०७४ सालको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमका अशेश्वरप्रसाद यादवलाई पराजित गरेका थिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सिरहा