उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रैथाने–स्थानीय–परम्परागत मदिरा तथा पेय पदार्थको अन्तर्राष्ट्रियस्तरमा बिक्री प्रवर्द्धन गर्ने सम्बन्धमा प्रस्ताव गरिएको मार्गचित्र (रोडम्याप) सम्बन्धी प्रतिवेदन पेश भएको छ ।
समृद्धि परियोजना, कृषि उद्यम केन्द्र र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रूपमा तयार पारेको सो अध्ययन प्रतिवेदनले स्थानीय मदिरा उत्पादन र बेचबिखनलाई कानूनी दायरामा ल्याउने, उत्पादनमा गुणस्तर कायम गर्ने र ब्राण्डिङ गर्ने लगायत विषयमा विस्तृत अध्ययन गरेर सरकारलाई सिफारिस गरेको हो ।
इञ्जिनियर ऋषिराज कोइरालाको संयोजकत्वमा तयार गरिएको सो प्रतिवेदनमा नेपालमा जनजाति समुदायको ठूलो हिस्साले उत्पादन गर्दै आएको स्थानीय मदिरा अहिलेपनि अधिक मात्रामा अनौपचारिक रूपमै बिक्री–वितरण हुँदै आएको र त्यसलाई कानूनी दायरामा ल्याएर औपचारिक बजारमा प्रवेश गराउन गर्नुपर्ने कामहरू औंल्याएको छ ।
‘हाल नेपालमा सम्पूर्ण मदिरा खपतको दुई तिहाई (करिब ६५–६६ प्रतिशत) मदिरा अनौपचारिक क्षेत्रबाट (गैरकानूनी घरेलु उत्पादन र पैठारी) आपूर्ति भइरहेको छ भने आर्थिक मन्दीको यस घडीमा सो को मात्रा बढ्दो समेत रहेको छ’, प्रतिवेदनमा उल्लेख छ । अध्ययनअनुसार हाल नेपालमा मूलतः तीन प्रकारका परम्परागत मदिरा (जाँड, रक्सी र तोङ्बा) जनजातिहरूले घरमै उत्पादन गरेर पिउने गर्छन् ।
जसमध्ये रक्सी र जाँड विभिन्न अन्नहरूको प्रयोगबाट बनाइन्छ भने तोङ्बा कोदोबाट बनाइन्छ । अध्ययन गर्दा जाँड, तोङ्बा र मौवाको मदिराको आयुबारे थप अध्ययन गर्न आवश्यक देखिएको औंल्याइएको छ । कोदोको रक्सीको उत्पादन, ब्राण्डिङ र बजारीकरणको विषयमा पनि सरकारलाई अध्ययन सहितको सुझाव दिइएको छ ।
अहिले परम्परागत रूपमा उत्पादन गरिने रक्सीमा तीन पाने २५–३० युपीको, पाँच पाने ५० युपीको र ७–९ पानेमा ७० युपी मात्रा रहने गरेको अध्ययनले देखाएको छ । संगठित संस्थाले उत्पादन गर्ने ७० युपी बाहेकका मदिरा गतवर्ष नै ३० प्रतिशतले घटेको र चालु आवमा १०–२० प्रतिशतले घट्ने देखिएको छ । पूर्वी जिल्लाहरूमा उत्पादन हुने कोदोको मदिरा नेपाल गुणस्तर ७०–२०४१ ले तोकेको मापदण्ड बमोजिम नै रहेको नमूना परीक्षणले देखाएको प्रतिवेदनमा उल्लेख छ ।
साथै हाल कोदोबाट मदिरा उत्पादन गर्दा १०० किलोबाट न्यूनतम २९ लिटर रेक्टिफाइड स्प्रिट उत्पादन हुनुपर्नेमा २० लिटर मात्रै रहेको देखिएकोले उत्पादन पक्षमा सुधार गर्नुपर्ने प्रतिवेदनले औंल्याएको छ । जसको लागि कोदोको मदिरा उत्पादनमा प्रयोग गर्ने मर्चाको गुणस्तर वृद्धि गर्नुपर्ने, उपयुक्त घटकको छनौट, उत्पादन विधिमा सुधार र उपयुक्त भाँडाहरू प्रयोग गर्नुपर्ने अध्ययनले देखाएको छ ।
विश्वका धेरै मुलुकहरूमा स्थानीय मदिराको राम्रो ब्राण्डिङ गरेर बिक्री वितरण भइरहेको छ । जसले ती देशको अर्थतन्त्रलाई पनि राम्रो टेवा पुर्याइरहेको दाबी हुँदै आएको छ । रैथाने खानपान र मदिरा संस्कृतिका कारण विश्वका विभिन्न मुलुकका स्थानीय बस्तीहरू पर्यटकका लागि आकर्षणको केन्द्र बनिरहेको छ ।
मन्त्रालयमा पेस भएको प्रतिवेदनमा कोरियाको सोजु, जापानको साके, बेलायतको स्कच ह्विस्की, अमेरिकाको डेनियल, मेक्सिकोको टकिला, गोवाको फेनी, फ्रान्सको स्याम्पेनको लगायतका मदिराहरूको ब्राण्डिङलाई हेरेर शिक्षा लिन सकिने उल्लेख छ । प्रतिवेदनले परम्परागत–स्थानीय–रैथाने मदिराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ब्राण्डिङ गर्नको लागि ‘इकोसिस्टम अवधारणा’ अनुसार ६ वटा रणनीतिक पक्षलाई समेटेर अघि बढ्नुपर्ने निष्कर्ष देखाएको छ ।
अध्ययनले ३० युपी को कोदोको रक्सी ८६० रुपैयाँसम्म बिक्री गर्न सकिने देखाएको छ । धनकुटा र तेह्रथुम क्षेत्रमा गरिएको अध्ययनले ३० युपी रहेको कोदोको ७५० मिलिलिटर रक्सी ५११ रुपैयाँमा उत्पादन हुनसक्ने देखाएको हो । जसमा २५० रुपैयाँ अन्तःशुल्क र त्यसपछि १३ प्रतिशत भ्याट जोडेर ८६० रुपैयाँमा बिक्री गर्न सकिने सुझाव प्रतिवेदनले दिएको छ ।
त्यस्तै, ७५० मिलिलिटर कोदोको रक्सी ५० युपीमा ४१६ र ७० युपीमा २११ रुपैयाँमा उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ । त्यस्तै अध्ययनअनुसार कनिकाको ५० युपी रहेको सोही परिमाणको रक्सी ३४९ रुपैयाँमा उत्पादन गर्न सकिन्छ । अहिले नै झण्डै दुई तिहाई मदिरा अनौपचारिक रुपले बिक्री वितरण भइरहेको अवस्थामा न्यून अन्तःशुल्क र भ्याट लगाएर घरेलु मदिरालाई बजारीकरण गर्दा राजस्व बढ्ने सुझाव प्रतिवेदमा औंल्याइएको छ ।
प्रतिवेदनमा रोड म्यापको सफल कार्यान्वयन गर्न व्यव्यावसायिक स्वरूप निर्धारण, प्राविधिक, कानूनी, आर्थिक तथा वित्तीय, बजारीकरण रणनीति र विविध प्रवर्द्धनात्मक कार्यहरू गर्नुपर्ने सिफारिस छ । जसमा स्थानीय मदिरा उत्पादन र बजारीकरणलाई व्यवसायिक स्वरूप दिन विद्यमान कानून संशोधन गर्ने, कर्तव्य र अधिकारको स्पष्ट खाका तयार पारी कार्यान्वयन गर्नुपर्ने औंल्याइएको छ ।
कोदोको मदिराको गुणस्तर सरकारी निकायले तोक्नुपर्ने, मार्केटिङ रणनीतिअनुरूप उद्योगहरूले पेटेन्ट, डिजाइन र ट्रेडमार्क संरक्षण गर्नसक्ने लगायतका विषय पनि प्रतिवेदनमा समेटिएको छ । प्रतिवेदनमा स्थानीय मदिरालाई विद्यमान अन्तःशुल्क दरबन्दी लगाउँदा प्रतिस्पर्धा गर्न नसक्ने स्थिति सिर्जना हुने भन्दै छुट्टै अन्तःशुल्कको दरबन्दी कायम गर्नुपर्ने सिफारिस गरेको छ । साथै; कोदोको मदिरा उत्पादन गर्न कोदोको अधिक खपत हुने हुँदा कोदोको खेती गर्नको लागि तीनै तहका सरकारले समन्वय गरेर आर्थिक प्रोत्साहन गर्नुपर्ने प्रतिवेदनले औंल्याएको छ ।
पछिल्लो समयमा स्थानीय मदिरालाई ब्राण्डिङ गर्ने विषयमा तीनै तहका सरकारको चासो तथा पहलकदमी देखिएको छ । संघीय तहको चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको दुवै बजेटमा स्थानीय मदिरालाई वैद्यानिक बनाउने विषयमा सम्बोधन गरिएको छ । आर्थिक विधेयक, २०८१ मार्फत् मदिरा ऐन समेत संशोधन भइसकेको छ । त्यस्तै केही प्रदेश सरकार र स्थानीय तहहरूले पनि स्थानीय मदिरालाई वैद्यानिक बनाउने विषयमा संघीय सरकारसँग समन्वय गरेर काम गर्ने विषयलाई बजेटमा समावेश गरेका छन् ।
विस्तृत अध्ययनका साथ तयार गरिएको प्रतिवेदनमा कुन जनजाति समुदायमा मदिरा कसरी जोडिएको छ भन्ने विषय समेत उल्लेख छ । ‘नेपालमा बसोबास गर्ने करिब ३८ प्रतिशत जनजातिले परम्परागत संस्कृति तथा रीतिरिवाजको रूपमा रैथाने मदिरा उत्पादन तथा खपत गर्ने गरेका छन्,’ अध्ययन प्रतिवेदनमा लेखिएको छ ।
‘लिम्बूहरूको मुन्धुममा पृथ्वीको उत्पत्तिदेखि हावा, पानी, आगो, जीवन, विवाह र मृत्युजस्ता जीवन–जगतका सबै कुराका साथै मर्चा लगायत मदिराको उत्पादन कसरी गर्ने भन्ने वर्णन भेटिन्छ । लिम्बूहरूले तागेरा निड्वाफु माडलाई सबभन्दा ठूलो श्रृष्टिकर्ता मान्छन् भने सोधुड्गेन लेप्मुहाङलाइ पनि श्रृष्टिकर्ता मान्दछन, जसले अन्न श्रृष्टि गरेर लिम्बूहरूलाई खेती गर्न र पकाएर खान सिकाएको मानिन्छ ।
उनै सोधुड्गेन लेप्मुहाङलाइ सपनामा तागेरा निड्वाफु माडले उनलाइ चढाएको तर बिग्रिन लागेका भात, कोदो लगायत अन्नहरूलाइ कसरि लामो समयसम्म खान मिल्छ भनेर सपनामा सिकाएको ब्योहोरा वर्णित छ,’ प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, राईहरूमा विभिन्न जातजाति अनुसार जाँडको भिन्नाभिन्नै नाम छ ।
चाम्लिङ राईहरू ‘वासिङ भन्छन् भने वाम्बुले राईहरू ‘चि’ भन्छन् । त्यस्तै, रक्सीलाई ‘अरक’ भनिन्छ । बोलीचालीको भाषामा ‘आराख’ वा ‘आराखा’ भनिन्छ । मुन्दुममा भने ‘आरावा खारावा’ भनिएको छ । कतिपय राईहरूले रक्सीलाई ‘हेड्मावा’पनि भन्छन् । उनीहरूले प्रारम्भिक घरणमा बनाएको कागुनो र सायुड्माको जाँड–रक्सी हो । कागुनोलाई किराँतीहरू पवित्र अन्न मान्छन् ।
त्यसैले पितृ पूजा गर्दा सुरुमा कागुनोको जाँड अनिवार्य चढाउनुपर्छ । कागुनी र सायुड्मापछि किराँती राईहरू कोदोको जॉडलाई पवित्र मान्छन् । हिजोआज पवित्र र शुभकार्यका लागि कोदोको जाँड नै बढी चढाउने चलन छ । तर पूजाआजा र पितृकार्यमा चल्ने जाँड–रक्सी भने कोदो र कागुनीकै हो । प्रायः गुरुङहरू रक्सीलाई ‘पा’वा ‘प्हा’भन्छन् । जॉडलाई गुरुडहरू ‘क्इ पा’भन्छन् ।
गुरुङहरू रक्सीलाई अमृत वा शुद्ध पेय पदार्थका रूपमा लिन्छन् । जतिसुकै महँगो र ब्रान्डको रक्सी बजारमा भए पनि त्यसलाई स्थानीय कोदोको रक्सीजस्तो शुद्ध मानिन्न । जन्मिँदादेखि मर्दासम्म चाहिने भनेको हाम्रो स्थानीय रक्सी नै हो । नेवाः समुदायले रक्सीलाई सम्बोधन गर्ने नाम एउटै छ, अय्ला । जाँडलाई सामान्यतया थ्वं भनिन्छ । तर यसका विभिन्न प्रकार छन्, ह्याउँ थ्वं, अजि थ्वं, मूति थ्व, कर थ्वं, भ्यावर थ्वं, ताकु थ्वं, प्याः थ्वं आदि ।
नेवाः समुदायमा आफू राम्रो परिवारको हो भनेर देखाउन माछा, अन्डा, बारा, मासु, गेडागुडी लगायत परिकारसँगै भोजमा थ्वं र अय्ला अनिवार्य चाहिन्छ । यस बिना नेवाः समुदायको भोज सफल हुन्न । नेवाः समुदायलाई पनि जन्मदेखि मृत्युसम्म रक्सी नभई हुन्न । नेपालका आदिवासी जनजातिमध्ये तामाडहरू तेस्रो ठूलो जनजातिमा पर्छन् ।
तामाङहरू रक्सीलाई ‘आइराक’वा ‘ऐरक’भन्छन् । जाँडलाई सम्बोधन गर्ने नाम भने अनेक छन् । जाँड कसलाई खान दिइयो भन्ने आधारमा त्यसको नाम रहन्छ । जाँडको बनोट र खाने समयका आधारमा पनि नाम फरक पर्छ । तामाङ समुदायमा पूजाआजा र पितृ कार्य गर्दा रक्सीभन्दा जाँड चढाउने चलन छ । अन्य जनजाति जस्तै तामाङहरूलाई जन्मदेखि मृत्युसम्मका विभिन्न गतिविधिमा जाँड–रक्सी नभई हुन्न । थारू समुदायमा एउटा भनाइ प्रख्यात छ, जहाँ थारू, त्यहाँ दारू !
यो भनाइले पनि थारु समाजमा रक्सी कति महत्वपूर्ण छ भन्ने संकेत गर्छ । थारूहरू रक्सीलाई मद वा दारू भन्छन् । देवतालाई चढाइने रक्सीलाई ‘छाँकी भनिन्छ । उनीहरूको जन्मदेखि मृत्युसम्म रक्सी आवश्यक पर्छ । यस्तै अन्य मगर, शेर्पा र शिल्पी समुदायहरूमा पनि रक्सी जीवन पद्दतीसँग जोडिएको पाइन्छ । जन्मदेखि मृत्युसम्म गरिने विभिन्न परम्परागत तथा सांस्कृतिक क्रियाकलापहरूमा रक्सीको विशेष महत्व रहेको मन्त्रालयमा हालै पेश गरिएको प्रतिवेदनमा समेत उल्लेख गरिएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं