२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

छाउगोठमा बसेकी किशोरीमाथि सामूहिक बलात्कार

सत्यपाटीसत्यपाटी । अछाम । २०८१ असार ६ गते बुधबार

छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरी सोमबार राति सामूहिक बलात्कृत भएकी हुन् । किशोरी बलात्कारको आरोपमा प्रहरीले स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

पञ्चदेवल विनायक नगरपालिकामा मामाघरमा बस्दै आएकी १६ वर्षीया किशोरी मामाघरको नजिक रहेको छाउगोठमा मंगलबार बिहान अचेत अवस्थामा भेटिएकी हुन् । उनी ११ वर्षदेखि मामाघरमै बस्दै आएकी थिइन ।

उनलाई अचेत अवस्थामा देखेपछि मंगलबार बिहान स्थानीय एकजना किशोरीले प्रहरीलाई खबर गरेकी थिइन् । स्थानीय किशोरीले जानकारी दिएलगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेलगायतले उनको उद्धार गरेर जिल्ला अस्पताल अछाम पठाएको थियो ।

अछाम जिल्ला अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा उनी बलात्कृत भएको पुष्टि भएको हो । अस्पतालमा उपचार पश्चात् होसमा आएकी ती किशोरीले आफू माथि बलात्कार भएको प्रहरीलाई बताएकी छन् । उनले स्थानीय १७ वर्षीय किशोरलगायत तीन–चार जनाले बलात्कार गरेको बताएकी छन् ।

प्रकाशित मिति : २०८१ असार ६ गते बुधबार