सामान्यता मानव मस्तिष्कले गर्ने कार्यहरू बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदिमा गडबडी हुनु मानसिक समस्या देखिनु हो ।
मानसिक रोग विभिन्न विभिन्न प्रकारका हुन्छन् । डिप्रेसन, एन्जाइटी डिसअर्डर, निन्द्रा सम्बन्धी रोग, मानसिक असन्तुलन, छारेरोग लगायत मानसिक समस्या नेपालमा धेरैजसो देखिने गरेका छन् ।
रक्सी सेवनको लत, बालबालिकामा हुने बौद्धिक अपांगता, अटिजम, डिमेन्सिया आदि समस्या पनि मानसिक रोग हुन् । नेपालमा २० देखि २५ प्रतिशत जनसंख्यामा कुनै न कुनै किसिमको मानसिक रोग भएको अनुमान छ ।
कारणहरू
बहुआयामिक कारणहरूबाट व्यक्तिमा मानसिक रोग हुने गर्छ । वंशाणुगत गुणबाट कतिपयमा मानसिक रोग देखापर्छन् । अर्थात्, बाबु–बाजेहरूमा मानसिक रोग देखा परेमा सन्तानहरूमा पनि यसको असर देखापर्छ ।
पारिवारिक वातावरण पनि मानसिक रोगको कारण हो । परिवारमा झैझगडा हुने, सदस्यहरू कलहका कारण छुट्टिने, तनाव भइरहने भएमा बच्चाहरूमा यसको नकारात्मक असर पर्छ । विस्तारै उनीहरूमा विभिन्न किसिमका मानसिक रोग हुने सम्भावना उच्च रहन्छ ।
दुर्घटनाबाट पर्न गएको मानसिक असर, दीर्घ रोगीहरूमा मानसिक रोग बन्न सक्छ । धेरै सोच्ने, अनावश्यक तनाव लिने मानिसमा यसको असर देखिन्छ । रक्सीको अत्यधिक सेवन, सामाजिक, राजनीतिक परिवेशले समेत युवामा मानसिक असर गरिरहेको हुन्छ ।
लक्षणहरु
डिप्रेसन – डिप्रेसनका बिरामीमा असामान्य व्यवहार गर्ने, झर्किने, दिक्क लाग्ने, नकारात्मक सोच बढी आउने, दिमागले राम्रोसँग काम गर्न नसकेको जस्तो लाग्ने, रुन मन लाग्ने, काममा मन नलाग्ने आदि लक्षणहरू देखिन्छन् । डिप्रेसन बढ्दै गएमा आत्महत्या गर्ने सोचाइ आउने, आफ्नो ख्याल राख्न छोड्ने अर्थात कुनै कुरामा ध्यान नदिने, एक्लै बस्ने समस्या देखिन्छ ।
एन्जाइटी – एन्जाइटीका बिरामीहरूमा डर लाग्ने, तर्सिने, बिना कारण झसंग हुने, जिउमा कम्पन हुने, श्वास फेर्न गाह्रो हुने, पसिना आउने हुन्छ । यस्तै, निन्द्रा नपर्ने, छटपटी हुने, कामको बेलामा विभिन्न खालको डर महशुस हुने हुन्छ ।
मानसिक असन्तुलन – मानसिक असन्तुलन कडा खालको मानसिक रोग हो । मानसिक असन्तुलन भएका व्यक्ति अत्यधिक रिसाउने, तोडफोड गर्ने, अनावश्यक शंका गर्ने, घमण्ड गर्ने, ठूलो स्वरमा बोल्ने समस्या हुन्छ । रोगको वास्तविकता थाहा नहुने, कानमा कुनै किसिमको आवाज सुन्ने आदि कडा मानसिक रोगका लक्षणहरू हुन् ।
रोकथाम र उपचार
मानसिक रोगको अधिकांश कारण तनाव व्यवस्थापन गर्न नसक्नु हो । तनावबाट टाढा रहने, सकारात्मक विचार, स्वस्थ जीवनशैली अपनाउने, व्यायाम गर्ने, कुलतमा नलाग्ने आदिबाट दिमागमा पर्ने सम्भावित असरबाट बच्न सकिन्छ ।
मानसिक रोगका लक्षणहरू देखा परेमा चिकित्सकसँग सल्लाह लिनु जरुरी हुन्छ । रोग प्रारम्भिक चरणमै भएमा सामान्य सल्लाह, परामर्शबाटै उपचार गर्न सकिन्छ । यसबाहेक औषधिबाट, अस्पताल भर्ना गरेर, आईटीएनएस, ईसीटी अर्थात इलेक्ट्रोकन्सुलिभ थेरापीबाट उपचार गर्न सकिन्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं