सूचनाको शक्ति - The Power Of Information

        

पर्यटकीय गन्तव्य

मनोरम दृश्यसँगै ‘सन्तानेश्वर’ महादेवको दर्शन, पर्यटकहरु उत्साहित

सन्तानेश्वर महादेवको मन्दिरमा धार्मिक पर्यटकको सङ्ख्या बर्सेनि बढ्दैछ । मन्दिरमा पुगेर चोखो मनले मागेपछि सन्तान मिल्छ भन्ने विश्वास छ ।

बाँकेको नरैनापुर गाउँपालिका–५ वेदिहिवा चुरेपहाडमा अवस्थित सन्तानेश्वर मन्दिर पछिल्लो समयमा निकै चर्चामा छ । चारैतिर हरियाली, अग्लो डाँडा मनोरम दृश्य रहेको सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि बार्षिक करिब १५ हजार मानिसहरु त्यहाँ पुग्ने गरेका छन् । यो मन्दिर नेपालगन्जबाट २५ किलोमिटर पूर्व दक्षिणमा रहेको नरैनापुरको कोहलादेखि ८ किलोमिटर उत्तरपूर्व पहाडमा अवस्थित छ ।

लगभग डेढ घण्टाको हिँडाईपछि हामी सन्तानेश्वर महादेव मन्दिर रहेको फेदमा पुग्न सकिन्छ । त्यहाँबाट डाँडाको बाटो हुँदै करिब एक घण्टा पैदल हिँड्नुपर्छ । सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि नरैनापुरको प्रवेशद्वार वडा नं.६ कोहलाबाट उत्तरपूर्व करिब दुई घण्टाको पैदल यात्रापछि रमणीयस्थल सन्तानेश्वर महादेव मन्दिर पुग्न सकिन्छ । पहाडको टाकुरामा रहेको सन्तानेश्वर मन्दिरको रमणीय वातावरण अवलोकन गर्दा पर्यटकहरु निकै उत्साहित हुन्छन् ।

सन्तान नभएकाहरुले यहाँ पुगेर दर्शन गर्दा सन्तान लाभ हुने धार्मिक विश्वास छ । सन्तानेश्वर मन्दिरमा बाँके, बर्दिया, सुर्खेत, दाङ लगायत नेपालका विभिन्न स्थानबाट पर्यटकहरु दर्शनका लागि आउने गरेका छन् । साथै भारतका विभिन्न स्थानबाट पनि आउने व्यक्तिको लहर उत्तीकै हुन्छ । पर्यटकहरु पहाडको उकालो चढिरहँदा जति थकित देखिन्छन्, सन्तानेश्वर मन्दिर दर्शन गरेर फर्किंदा उनीहरु त्योभन्दा बढी हर्ष र खुसी देखिन्छन् ।

चुरे पहाडको चुचुरोमा मन्दिर रहेकाले भगवानको दर्शनसँगै पहाडको मनोरम दृश्य सन्तानेश्वर महादेव मन्दिरको विशेषता हो । मन्दिर परिसरबाट राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाको अवलोकनसमेत गर्न सकिन्छ । जंगलैजंगलको गोरेटो बाटो भएर जानुपर्ने भएकोले जंगली जनावरले आक्रमण गर्न सक्ने सम्भावना रहन्छ । मन्दिरको दर्शन गर्न भारतको विभिन्न ठाउँका भक्तजन यहाँ आउने गरेका छन् ।

नरैनापुर गाउँपालिका–६ भेलुनियाकी विमला शाहीले एकान्त र शान्त ठाउँ भएकोले दर्शनसँगै घुम्न आनन्द आउने गरेको बताइन् । पहिलो पटक सन्तानेश्वर मन्दिर पुगेकी उनी मनोरम दृश्य देखेर दंग पर्दै भनिन्, ‘पहाड चढ्न गाह्रो भए पनि मनोरम दृश्य र चुचुरोमा अवस्थित मन्दिरको दर्शन गर्दा सबै दुःख भुलिन्छ । यहाँको स्वच्छ हावा र शीतलताले आनन्द दिन्छ ।’ मन्दिरका महन्त ९१ वर्षीय योगानन्द गिरी (पहाडी बाबा)ले विक्रम संवत् १९३५ मा झन्डा गाडिएको बताए ।

मटेहियाका यादव थरका व्यक्तिले यहाँ झन्डा गाडेको उनले सुनाए । अहिले पनि उनका सन्तानले वर्षमा एकपटक गुरुपूर्णिमाका दिन यहाँ भण्डारा अर्थात् निःशुल्क खाना खुवाउने गरेको उनले सुनाए । मन्दिर बनेको लामो समय भए पनि ०७० सालमा यहाँ व्यवस्थित ढंगले मन्दिर बनाइएको थियो । सन्तानेश्वरमा शिवरात्रि, तिजजस्ता पर्वमा विशेष भिड लाग्ने गर्छ । साउन र शिवरात्रिमा रुद्रीपाठ हुने गर्छ । सन्तानविहीनले यस मन्दिरको दर्शन गरी सच्चा मनले पूजापाठ र व्रत गरे सन्तान प्राप्ति हुने धार्मिक विश्वास छ ।

‘यहाँ ड्रोन क्यामेरा प्रयोग गरेर हेर्दा पहाड नै पहाडले बनेको ॐ र त्रिशूल देख्न सकिन्छ,’ पुजारी पहाडी बाबाले भने । यहाँ तीनवटा पहाडका चुचुरोमुनिबाट तीन वटा मूल फुटेका छन् । ‘सात वर्षको उमेरदेखि म यहीँ बस्दै आएको छु । त्यतिवेला मन्दिर खासै चर्चामा थिएन,’ जंगलको बीचमा कुटी बनाएर बसेका बाँके दासले भने, ‘विगत तीन–चार वर्षदेखि मन्दिर दर्शन गर्न आउनेको भिडभाड बढेको छ ।’ उनले जंगलको बीचमा रहेको मन्दिरमा पनि मान्छेहरू देख्न पाउँदा खुसी लागेको बताए ।

नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले मन्दिरसम्म पुग्न सडक विस्तार भएसँगै पर्यटकको आकर्षण बढेको बताए । ‘यसलाई पर्यटकीय हब बनाउन विकासका केही योजना बनाएका छौँ । जतिसक्दो आन्तरिक पर्यटक आकर्षण गराउने उद्देश्य छ,’ उनले भने । सडक नहुँदा यहाँसम्म पुग्न मानिसलाई अप्ठ्यारो थियो । अहिले सडक बनेपछि मानिस घुम्न आउन थालेको उनले बताए । बघौडा–नेपालगन्ज हुलाकी सडक बनेपछि मन्दिरले दर्शनार्थी पाएको उनको भनाइ छ ।

मन्दिरसम्मै सवारीसाधन पुग्ने बाटो निर्माण भए सन्तानेश्वरमा आन्तरिक पर्यटकको भिड अझै बढ्ने नरैनापुर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष प्रेमचन्द्र मौर्यले बताए । उनले अप्ठेरो बाटो भए पनि भक्तजन मन्दिरमा पुग्ने गरेको बताए । पर्यटकीय सम्भावना बोकेको सन्तानेश्वर मन्दिरमा सहज रुपमा पुग्न सडक निर्माणमा सहयोग र बासस्थानका लागि कोहलामा होमस्टे निर्माण गर्न सके थप लाभ लिन सकिने उनको भनाई छ । सहरभन्दा टाढा जङ्गलको बीचमा पहाडको टाकुरामा मन्दिर रहेकोेले त्यहाँको प्राकृतिक मनोरम सौन्दर्यता अवलोकन र पैदलयात्राका लागि भक्तजनहरु सन्तानेश्वर पुग्ने गरेका छन् ।

सन्तान नभएकाले यहाँ पुगेर दर्शन गर्दा सन्तान लाभ हुने र सन्तान भइसकेका व्यक्ति त्यस ठाउँमा गएर आफ्नो सन्तानको लागि मनोकामना गर्दा सबै पूरा हुने धार्मिक विश्वास रहेको पुजारी योगानन्द गिरीले बताए । उनले मन्दिरमा धार्मिक पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको जानकारी दिए । उनका अनुसार मन्दिरमा शिवरात्री र तिजमा विशेष भीडभाड हुन्छ । मन्दिरमा पुगेर चोखो मनले मागेपछि सन्तान मिल्छ भन्ने विश्वास छ । गाउँपालिकाले मन्दिरमा सोलार बत्ती, पानीको व्यवस्था र मन्दिरसम्म पुग्नका लागि बाटो बनाउने योजना बनाएको छ ।

सन्तानेश्वर महादेवको इतिहास

श्री सन्तानेश्वर महादेव बेदिहिवा बाबा झन्डाहवाको ऐतिहासिक पृष्टभुमि स्थानीय पुर्खाहरुका अनुसार केलाउँदा करिब एक शताब्दी पूर्व यहाँको इतिहास भेटिन्छ । तर यसको लिखित दस्तावेज कहिँकतै भेटिएको छैन । हालसम्म करिब आजको ९० वर्ष पहिला पुरानो परम्परा अनुसार यस डाडाँमा स्थानीयहरु ग्वाला जाने गर्थे । ग्वाला जाँदा यो डाँडाको सेरोफेरो वर्षे महिनाको हरिया घाँसपुस गौचरणका रुपमा प्रसिद्ध थियो । स्थानीय बुढापाखाका अनुसार पहिला पहिला ग्वाला जाँदा त्यस टाकुरामाथि वर्गाकार एउटा माटो र ढुँगाको बेदी भेटिएको थियो ।

केहीदिनमै यस्तै ग्वालाका क्रममा एक जना ग्वाला त्यही बेदीमाथि अडेस लागि निदाएछन् निदाउँदा उनले सपना देखेको, सपनामा एकजना महापुरुष आएर ए बालक तिमी यहाँ किन सुतेको हामी यहाँ शिव ताण्डव गर्ने हो तिमी हाम्रो पुजामा सहयोग गर, अनि अचानक ब्यूँझदा ग्वाला साथीहरु त्यहाँ पहाडबाट तल ओर्लिसकेका थिए । सपना देखेपछि मन उथलपुथल भयो अनेकौ कुराहरु मनमा खेल्न शुरु भए । श्रावण मास थियो, धान रोपेर खेतवारीका काम सकिसकेका थिए । पानी भने महिनौंसम्म नपरेर वातावरणमा गाउँदेखि टाकुरैसम्म धुलो उडने ठुलै खडेरी परेको थियो ।

मनमा थरिथरीका तमामन कुराहरु खेलाउदा खडेरीको प्रभावले खेतमा लगाएका धानबाली ठाउँकोठावैं सुक्लान झै भइसकेका थिए । ग्वालाबाट साँझ घर फर्किसकेपछि रात्री निद्रा लागेन त्यही सपनाले बेस्सरी माघ मासको कठ्यांग्रिने जाडो झैं च्यापिदै गयौँ । विहान सबेरै उठी गाईवस्तुको काम सकेर केही ग्वाला साथीहरुसँग गाई ग्वाला जानको लागि तयार भए । ग्वालाहरुसँग हिजो देखेको सपनालाई सविस्तार पारेर सबैको सल्लाह बमोजिम एउटा अलिखत योजना तयार भयो । त्यो योजनामा त्यस ठाउँको बेदीमा केही दैविक शक्ति भएकोले बेदिहिवा बाबा नामाकरण गर्ने र सो अवसरमा त्यहाँ सत्यनारायण कथा लगाउने रणनीति तय भयो ।

सोही रणनीति अनुसार साविकको मटेहिया गाउँ पञ्चायतका, सन्तुले वडा नं. ४ देखि मोतिपुर, सिंग्हाफँटा हुदै टिकुईथुनिया, बडका धौं, सिउरिया, सुकललवा, बनसत्ती पथरहवा बेलवाभितरी, बैरिया धितरी नाला हुँदै मण्डा चक्ला पथ्थरमा वनभोज र बेदिहिवा बाबा पर्वतमाथि टाकुरामा सत्यनारायण कथा गरियो । हिन्दु धर्मानुसार कथा लगाउदा हनुमान ज्यूको अंकित ध्वजा भण्डा पटाका स्थापना गरियो । यसरी ग्वालाको सपना र खडेडीको तात्विक संयुक्त मनभावका भावनात्मक संयोजनबाट मण्डामा वनभोजको बखत स्थानीय परिकार नुन खुर्सानी हाली बनाएको चटनी र पीठोको गोला आकारको भौरी तथा खीर पकाई भगवान शिवलाई भोग लगाई सत्यनाराण पूजा सम्पन्नगरि पूजा तथा वनभोज गरिएको थियो ।

पूजा सकेर घर फर्किदा खडेडीका बेला बेस्सरी अटूट घण्टौं अबिरल पानी परेर सबैतिर जलमग्न बनायो । जंगलमा भएका साना, ठूला नाला, खोल्सीखोल्साहरुको चर्बराउँदो जवानी छरप्रष्ट देखियो । ती सपना देखेका ग्वाला मटेहिया गाउँ पञ्चायत (फर्का) निवारी सन्तराम यादवको नेतृत्वमा हरेक वर्ष शिवमहादेवको माह श्रावणको मसान्तमा बेदिहिवा बाबा पर्वतमाथि टाकुरामा सत्यनारायण कथाको शुरुवात गरिएको थियो । त्यसैखालको वनभोज पनि गरिने गरियो र जब सत्यनारायण पूजा लगाइन्थ्यो तब पहाडबाट गाउँ फर्किदा पानी पर्ने गरेको पाइयो । साथै अन्त्यमा त्यही पूजामा ईन्द्र भगवानको थप पूजा गर्ने गर्ने चलन भयो ।

यसै परम्परा अनुसार हालसम्म हरेक वर्ष ती सन्तराम यादवको घरघरानको अगुवाईमा त्यहाँ बेदिहिवा बाबा पर्वतमाथि टकुरामा श्रावण मसान्तमा सत्यनारायण, ईन्द्र पूजा लगाउने र भौरी वनभोज गर्ने प्रथा हालसम्म चल्दै आएको हो । उक्त पूर्वचलन अनुसार अझै पनि पूजा लगाएर पहाडबाट घर फर्किदा हरेक वर्ष अनिवार्य पानी पर्ने गरेको बुढापाकाहरु बताउँछन् । यसरी बेदिहिवा बाबा पर्वतमाथि डाँडामा हनुमान ध्वजा इंकित झण्डा चुचुरोमाथि रहिआएको इतिहास कायम भएको हो । पछिल्लो पुस्ताका युवायुवतीहरु महाशिवरात्रीको अवसरमा बेदिहिवा बाबा पर्वत जाने क्रम बढयो र त्यहाँ त्यही हनुमान ध्वजा इंकित झण्डाको स्थापित स्वरुपलाई नयाँ पुस्ताका युवायुवतीले आपसमा कुराकानी गर्दा स्थानीय स्तरमा भण्डाहवा नाम पर्न गएको हो ।

करिब २०६३ देखि २०६९ सम्म झण्डहवाको नाममा यो मन्दिर परिचित भयो । यस अवधीमा शिवरत्री, तीज वर्तलाई अवसर पारेर अक्सर युवायुवतीहरु यस स्थानमा गई पूजा अर्चना गर्ने प्रचलन शुरुवात भएको हो । हरेक वर्ष महाशिरात्रीको अवसरमा पुजा अर्चना गर्ने भजन किर्तन गर्दै आएको चलनले स्थानीय श्रद्धालु भक्तजन, दर्शनार्थीहरुको क्रमशः चाप बढ्दै गयो । यसैक्रममा बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ६ लालपुर निवासी ब्राहमण पुरोहित बिप्र श्री भवानीप्रसाद शर्माले बेदिहिवा बाबा झण्डहवा पर्वतमाथि टाकुरामा त्रिनेत्र भगवान शिवको शिवलिंगसहितको संरचना खडा गरेका हुन् ।

२०७० माघ २४ गते धार्मिक परम्परा अनुसार रुद्राभिशेष अनुष्ठान गरि मन्दिरको श्री सन्तानेश्वर महादेव नामाकरण गरी स्थायी रुपमा स्थापना भएको हो । श्रद्धालु भक्तजन दर्शनार्थीहरुको चाप बढेलगत्तै भक्तजनहरु विभिन्न भाकल गर्ने शुरुवात भयो र अन्ततः सन्तान नभएकाहरुले स्वच्छ मनले पूजा अर्चना गरे सन्तान प्राप्त हुने मान्यता छ । यस मन्दिरको नाम दुई तात्विक शब्दले सन्तानेश्वर रहन गएको हो । यस मन्दिरको सुरुमा सन्तराम यादवले स्थापना गरेका हुन् भने पछिल्लो चरणमा सन्तान प्राप्ती हुने मान्यता रहेको छ । तसर्थ सन्तराम र सन्तान प्राप्ती दुई शब्दको संयोजनबाट यसको नाम सन्तानेश्वरको रुपमा प्रख्यात भएको इतिहास छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार ०७:०९

लोकप्रिय