बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ की भावना चौधरीले एक महिनाको ढकिया तथा गुन्द्री लगायत सामाग्री बनाउने तालिम प्राप्त गरिन् । तालिम प्राप्त गरेसँगै उनी अहिले एकदम खुसी भएकी छन् ।
‘बजारमा बेच्न राखेका ढकिया लगायतका सामाग्री हेर्दा आफै पनि बनाऊँ लागेर आउँथ्यो, तर के गर्ने आफूसँग बुन्ने ढङ्ग र सिप नै थिएन,’ चौधरीले भनिन्, ‘अहिले घरेलु कार्यालयले हामीलाई एक महिनाको ढकिया लगायतका सामाग्री बुन्ने तालिम दियो र सिक्ने मौका पाएँ, अहिले आफै सबै बुन्छु, एकदम खुसी लागेको छ ।’
एक महिनाको तालिममा आफूले स्थानीयस्तरमा पाइने काँस, मुज, थाकल लगायतबाट ढकिया, चकटी, टोपी, डस्टविन, डाइनिङ म्याट, टिम्याट, भुर्की, फूलदानी, हटकेस, पेन होल्डर लगायतका करिब १२–१३ प्रकारका सामाग्रीहरू बनाउन सिकेको चौधरीले बताइन् । उनले तालिमबाट आफूमा एकदमै आत्मविश्वास बढेको र भविष्यमा यिनै सामाग्रीहरू बनाएर बिक्री गर्ने लक्ष्य लिएको बताइन् ।
बैजनाथ ३ कै सविता थारुले पनि तालिमबाट धेरै नै सिप सिकेको बताइन् । उनले एक महिनाको तालिमबाट विभिन्न प्रकारका सामान बनाउन राम्रो सिप सिकेको भन्दै आफू एकदम उत्साही बनेको बताइन् । ‘एक महिनाको आधारभूत तालिमबाट मात्र पनि यति धेरै सिप सिक्न सक्यौँ, मनमा आत्मविश्वास र उत्साह झन् धेरै जागेको छ,’ उनले भनिन्, ‘एड्भान्ससहितको थप तालिम सिक्न पाए त अझै निखारिने थियौँ । होला, घरेलु कार्यालयसँग थप तालिमको पनि व्यवस्था गरिदिनुहुन अनुरोध गरेका छौँ ।’
उनले यस्ता सामग्री बनाउनका लागि पुरै समय पनि दिनु नपर्ने, घरमै बसेर जतिबेला फुर्सद मिल्छ उतिबेला बनाउन मिल्ने । साँझ, बिहान, दिउँसो, राति आफूलाई जतिबेला थोरै पनि फुर्सद मिल्छ उतिबेला नै बुन्न मिल्ने हुँदा अत्यन्तै सहज भएको बताइन् । ‘जतिबेला खाली समय मिल्छ उतिबेला नै बुन्न सकियो, घाँसपात जाँदा, घरमै बस्दा तथा गाइगोठाला जाँदासमेत बुन्न मिल्ने हुँदा हामीलाई अत्यन्तै सहज भएको छ,’ उनले भनिन् ।
स्थानीयस्तरमै पाइने काँस, मुज तथा थाकलजस्ता वस्तुको कच्चा पदार्थबाट बनाउन मिल्ने यस्ता सामाग्री बनाउने तालिम पश्चात् स्थानीय महिलाहरूमा आत्मविश्वास बढ्नुका साथै घरमै बसेर सिकेको सिपमार्फत् आयआर्जनसमेत गरी आत्मनिर्भर बन्न मद्दत पुग्ने देखिएको छ । घरेलु तथा साना उद्योग कार्यालय बाँकेले बैजनाथ गाउँपालिका वडा नं. २ का २० जना महिलाका लागि स्थानीयस्तरमै पाइने काँस, मुज तथा थाकलबाट निर्मित ढकिया लगायतका सामाग्री बुन्ने तालिम प्रदान गरेको हो ।
कार्यालयका अधिकृत सुशील ढकालले बैजनाथ गाउँपालिका वडा नं. २ का २० जना महिला दिदीबहिनीहरूका लागि एक महिने ढकिया लगायतका सामाग्री बुन्ने तालिम प्रदान गरिएको बताए । उनले महिलाहरूलाई सिप प्रदान गरेर स्थानीयस्तरमै सहजरुपमा पाइने कच्चा पदार्थको प्रयोग गरी विभिन्न सामाग्रीहरू उत्पादन गरी बिक्री वितरणमार्फत् उनीहरुको आयआर्जनको बाटो खोल्ने र घरमै बसेर पनि फुर्सदको समयमा सामाग्रीहरू बनाउन मिल्ने खालको तालिम प्रदान गरिएको बताए ।
बेरोजगारीलाई अन्त्य गर्ने उद्देश्यका साथ हातमा सिप प्रदान गरेर स्वरोजगारमार्फत महिलालाई आय आर्जनमा आत्मनिर्भर बनाउनका लागि तालिम सञ्चालन गरिएको ढकालले जानकारी दिए । तालिम सिकेर सिपयुक्त उद्यमी मात्र नभएर दक्ष प्रशिक्षकसमेत उत्पादन गर्ने तालिमको उद्देश्य रहेको र पछिसम्म पनि दक्ष उद्यमी तथा व्यवसायीलाई कार्यालयले आवश्यकता अनुसार सहयोग गर्ने कार्यालयले जनाएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके