सूचनाको शक्ति - The Power Of Information

        

नेपाली कटहर भनेपछि भारतीय हुरुक्कै

नेपालको सीमावर्ती जिल्ला धनुषामा उत्पादित कटहर भारतीय बजारमा लोकप्रिय हुँदै गएको छ । विगतमा यातायातको सुविधा नभएका कारण नेपाली बजारमा मात्र बिक्री हुने कटहर अहिले भारतीय बजारमा बिक्री वितरण भइरहेको छ । यसरी भारतमा कटहर बिक्री हुन थालेपछि ग्रामीण क्षेत्रका युवाले आर्थिक लाभ प्राप्त गरिरहेका छन् ।

नेपाली कटहर स्वादिलो तथा पुष्टकर रहेकाले भारतीय बजारमा यसको माग बढ्दै गएको स्थानीय बताउँछन् । सीमावर्ती बजार हरिनेका कटहर व्यवसायी श्याम शङ्कर कामतले नेपाली कटहरको भारतीय बजारमा माग बढिरहेको बताए । वैशाखदेखि भदौ महिनासम्म कटहरको राम्रो व्यवसाय हुने गरेकोले यस व्यवसायमा आफूजस्तै विभिन्न ठाउँका करिब पाँच सय युवा संलग्न रहेको उनले बताए ।

धनुषा जिल्लामा ४२८ हेक्टर जमिनमा कटहर खेती हुने गरेको तथा यस पटक चार हजार ४६७ मेट्रिक टन कटहर फलेको कृषि ज्ञान केन्द्र धनुषाका बागवानी विकास अधिकृत प्रदीप यादवले जानकारी दिए । यसको तरकारी, आचार तथा पाकेपछि फलका रुपमा (कोया) समेत खाने गरिएको उनले बताए । धनुषामा प्रति हेक्टर २० देखि २५ मेट्रिकटनसम्म कटहर उत्पादन हुने गरेको धनुषा जिल्लामा यस वर्ष राम्रो उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ ।

खासगरी धनुषाको उत्तरी ढल्केबजार, महेन्द्रनगर, पोर्ताहा, धारापानी, लालगढ र वयलवास लगायतका ग्रामीण क्षेत्रमा कटहरको उत्पादन अर्थात् खेती हुने गरेकोले त्यहीबाट कटहर किनेर भारतीय बजारमा बिक्री गरेको व्यापारी राहुल साहले बताए । बेरोजगार भई बसेका युवाले कटहर बेचेर राम्रो आम्दानी गर्न थालेपछि यस व्यवसाय तर्फ अन्य युवा पनि आकर्षित भई आर्थिक लाभ लिँदै आइरहेका छन् ।

अहिले यहाँका युवा साइकलमा कटहर राखेर सीमावर्ती भारतीय बजार जयनगर, उमगावँ, बासोपटी, हरिने, हरलाखी, मधुवनी, मधवापुर र भिठ्ठामोड जस्ता बजारसम्म लगेर बिक्री वितरण गरी अत्यधिक मुनाफा गरिरहेका छन् । धनुषाका गाउँ गाउँबाट कटहर किनेर बिक्री गर्न जाँदा भारती सुरक्षाकर्मीले भने अवरोध गरिरहेको कटहर कारोबारीहरूको गुनासो छ । कटहरको व्यावसायिक रुपमा बिक्री वितरण बढ्दै गएकाले कटहर खेतीका लागि प्रदेश तथा स्थानीय सरकारले पकेट क्षेत्र घोषणा गरी विशेष कार्यक्रम ल्याउनुपर्ने किसानको माग छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलवार १६:३६

लोकप्रिय