सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी बढुवामा विवादितहरू कै हालीमुहाली

नेपाल प्रहरीको अधिकांश बढुवामा प्रहरी महानिरीक्षक (आइजीपी)माथि प्रश्न उठ्ने गरेको छ । बढुवाहुनेहरू खुसी हुने, छुट्नेहरू असन्तुष्ट हुने स्वभाविक भए पनि कार्यसम्पादन मूल्यांकन पारदर्शी नभएको र त्यहाँ राजनीति हाबी भएको भन्दै प्रश्न उठ्ने गरेको छ । गृहमन्त्रालय मात्र होइन राजनीतिक दलका शीर्ष नेताहरूले पनि बढुवामा चलखेल गर्दा आइजीपी निरीह भएको भन्दै आलोचना हुने गरेको छ ।

केहीदिन अघि गृह मन्त्रायका सचिव एकनारायण अर्याल अध्यक्ष रहेको बढुवा सिफारिस समितिले १८ जेठमा चार एसपीलाई नेपाल प्रहरीमा रिक्त एसएसपीमा बढुवा सिफारिस गरेपछि पुनः विवाद शुरु भएको हो । पहिलो नम्बरबाट क्रमशः एसपी श्यामकृष्ण अधिकारी, रवीन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तिराज गुरुङलाई बढुवा सिफारिस गरिएको थियो । यो बढुवाका एक प्रतिस्पर्धीले गृह मन्त्रालयका अधिकारीहरूले ‘बार्गेनिङ’ गरेको आरोप लगाएका छन् ।

बढुवाको सूची निस्केपछि छुटेका एसपी गोविन्द अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘गृहबाट बढुवा लिस्ट आउट गर्ने, मिडिया ट्रायल गर्ने, अनि बार्गेनिङ गरी फाइनल गर्ने नयाँ चलन चलेको हो ?’ उनको यो भनाईबाट गृहमन्त्रालयकै अधिकारीहरूले बार्गेनिङ गरेको आशय प्रकट गरेको स्पष्ट हुन्छ । यो विषयमा गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालय दुवै मौन रहेका छन् ।

स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले गरेको बढुवा सिफारिस सूचीमा एसपी अधिकारीको नाम थियो । तर, बढुवा गर्ने बेलामा उनको नाम काट्यो । वरियतामा आफूभन्दा पछाडि रहेकाहरू बढुवा सिफारिस गरेको, तर कारबाही नै नभोगेको व्यक्तिलाई छुटाइएको छ । एसएसपी बढुवाका लागि राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा स्थानान्तरण भएर आएका दुईजना, २०५६ मा इन्सपेक्टरमा भर्ना भएको ब्याचका सात जना मुख्य प्रतिस्पर्धामा थिए ।

२०५८ ब्याचका एसपीहरू पनि बढुवाको लबिङमा थिए । २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टरमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएका एसपी विमल बस्नेत पहिलो नम्बरमा थिए । तर, २०७७ मा कर्णाली प्रदेशको ट्राफिक प्रमुख रहेका बेला मातहतका टोलीबाट रकम असुलेको आरोप लागेर निलम्बनमै परेका कारण उनको बढुवा अझै केही समय रोकिने संभावना कायमै छ ।

२०५५ मा राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टरमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएका एसपी श्यामकृष्ण अधिकारी भने एसएसपी बढुवा सिफारिसमा परेका छन् । उनी पनि विवादित प्रहरी कर्मचारी हुन् । ०७८ भदौमा बाँकेको एसपी रहेका बेला नेपालगन्जको मोजाङ मिनी क्यासिनोका एजेन्टसँग मदिरा र मोबाइल उपहार लिएर उनी विवादमा परेका थिए ।

तत्कालीन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्देशन दिएपछि बल्ल मदिरा र मोबाइल फिर्ता गरेका थिए । अधिकारी बढुवा सिफारिसमा पहिलो नम्बरमा परे । २०५८ को ब्याचका ७ जना नै बढुवा सिफारिसमा परेनन् । गृहसचिव नेतृत्वको समितिले २०५६ को टोलीबाट तीनजना बढुवाका लागि सिफारिस गरेको छ । २०५६ को टोलीबाट क्रमशः हिराबहादुर पाण्डे, नान्तिराज गुरुङ, रवीन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, विनोद सिलवाल र भीमबहादुर दाहाल प्रतिस्पर्धामा थिए ।

कृष्ण प्रसाईं, विनोद सिलवाललाई छाडेर २०५६ ब्याचको अन्तिममा रहेका दाहाललाई एसएसपी बढुवाका लागि सिफारिस गरिएको छ । जबकी, उनीविरुद्ध सवारी ज्यानको मुद्दा झापा जिल्ला अदालतमा विचाराधीन नै छ । प्रदेश प्रहरी कार्यालय धरान रहेका बेला २०८० मंसिरमा दाहालले चलाएको मे १ च ७८३९ नम्बरको गाडीको ठक्करबाट मे १० प १६६९ नम्बरको मोटरसाइकलका चालक अनिल मडीको मृत्यु भएको थियो । त्यसबेला जिप्रका झापाले एसपी दाहाललाई हिरासतमा राखेको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलवार ०९:१०

लोकप्रिय