सूचनाको शक्ति - The Power Of Information

        

जेठ १९ को कहालीलाग्दो रात

दरबार हत्याकाण्ड भएको २३ वर्ष पुरा, घटना अझै रहस्यमै

उच्च सुरक्षा घेराभित्र भएको दरबार हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।

राजदरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहसहित राजपरिवारको हत्या भएको थियो । दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो । शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो ।

घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो । यस्तै राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्गविक्रम पनि मारिएका थिए । उच्च सुरक्षा घेराभित्र भएको दरबार हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।

उदार राजाको छवि बनाएका वीरेन्द्रको हत्या भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । उनको निधनपछि राजगद्दीमा बसेका भाइ ज्ञानेन्द्र शाहले राजतन्त्र जोगाउन सकेनन् । जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको हत्या भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन ।

पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र, राजकुमार नीराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो । हत्याकाण्डको सात वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो ।

राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए । उनी नै नेपालको इतिहासमा अन्तिम राजा बनेका छन् । हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाएर प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, आम नेपालीले विश्वास गरिरहेका छैनन् ।

समितिले दीपेन्द्रले परिवारका सदस्यलाई गोली प्रहार गरी अन्त्यमा आफैँलाई गोली हानी आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । २०६२–०६३ को जनआन्दोलनमार्फत पुनःस्थापित संसद्ले राजाका सम्पूर्ण अधिकार खोस्यो । २०६५ सालमा गणतन्त्र स्थापना भएसँगै मुलुकमा राजतन्त्रको अन्त्य भयो ।

२०६५ जेठ २९ गते पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी छाडेर नागार्जुन पुगेपछि राजपरिवारको कार्यालय र निजी निवासको रूपमा रहेको नारायणहिटी सरकारले जिम्मा लिएको थियो । २०६५ फागुन १५ देखि सरकारले नारायणहिटी संग्रहालय सर्वसाधारणको लागि खुला गर्यो । हत्याकाण्ड भएको त्रिभुवन सदनको बिलियार्ड बैठक हल लगायत अधिकांश संरचना निर्माण भएर सर्वसाधारणको लागि खुला गरिएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार ०८:१८

लोकप्रिय